+
+
Shares
कविता :

पारिजात तिमीलाई सम्झिरहेछु

म हारेकी छैन किञ्चित पारिजात, अहँ न मेरी प्रिय सखी र छोरी थाकेका छन्,

धनकुमारी सुनार धनकुमारी सुनार
२०८३ भदौ ७ गते ११:०७

आजभोलि क्षणक्षणमै तिमीलाई सम्झिरहेछु
पारिजात,
कहिले म भित्र तिमी
कहिले तिमिभित्र म,
रक्त मिश्रणको घोलझैं अनुभूति गरिरहेछु ।

तिम्रो हाडछालासितको सग्लो शरीरसँग
कहिल्यै साक्षात्कार हुन नपाएर कल्पिएकी म,
तिमीलाई नजिकबाट अघाउन्जेल
आँखामा कैद गर्ने मृगतृष्णा मनमा अझै ‍‍जागृत छ ।

तिम्रो भौतिक शरीरको एक अञ्जुली बास्ना
मेरो शरीरमा छर्न मन थियो
जस्ले मभित्र स्पातिलो अठोट हुर्काउन सकोस् ।
असमयमै यो धर्तीलाई माया मारेकी तिमी
मेरो छेउकुना अझै मुस्काइरहन्छौ ।

दीर्घ र जीर्ण रोगी शरीरसित कहिल्यै पराजित नभएकी तिमी
आफ्नो दुखाइ र पीडा कसरी लुकाउथ्यौ सिक्न मन छ
दु:खमै आफ्ना भनौदाहरूले मुटुमा करौंती लगाउँदा
क्षतविक्षत भएर मनले चित्कार गर्दा
कसरी ब्यथा लुकायौ जान्न मन छ ।

तन्नम अभावमा पनि कसरी
आफ्नो स्वाभिमान अटल राख्न सकिन्छ ?
सिक्न मन छ ।

योनि भएकैले तिमीमाथि आइलागेका
चरित्रहीन फत्तुर आरोप,
म र मेरो पुस्ताले आजपर्यन्त भोगी नै रहेको छ
आइमाई भएकैले आधा धर्ती
अझै मान्छे हुन संर्घष गरी नै राखेको छ
तिम्रो पालामा जस्तै आफ्नै वरिपरिका कथित विद्वत पुरुषसामु,
तिमीले आफूलाई सावित गर्न दिएको अग्नीपरीक्षा
क्लेष घटे पनि अझै जारी छ ।

तिमी बिनाको समय घर्के पनि
अझै गरिखानेको दिन फिरेको छैन
मुक्तिको सपनामा खेलबाड उसैगरी चलिनै रहेको छ ।

म हारेकी छैन किञ्चित पारिजात
अहँ न मेरी प्रिय सखी र छोरी थाकेका छन्,
तिम्रो साहसको एक अञ्जुली विरासत
तिम्रो क्रान्तिको एक खुला आकाश जित्ने प्रतिज्ञा
तिम्रो भर्भराउँदो मुक्तिको रहर
म सँगै बेहिसाब बगिरहेको छ
एक अटल दृढता बनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?