+
+
Shares

म्याङ्लुङमा लाखेजात्राको रौनकता, गुन्जिदै परम्परागत बाजागाजाको धुन

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०८३ भदौ ४ गते ९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेवार समुदायको मौलिक पर्व लाखेजात्रा महोत्सव–२०८३ म्याङ्लुङमा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ मूल नारासहित सुरु भएको छ।
  • नेवा देय दबु म्याङ्लुङका अनुसार जात्रा नागपञ्चमीदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म चल्ने परम्परा छ।
  • स्थानीय सरकारले लोपोन्मुख कला र संस्कृति संरक्षण तथा प्रवर्द्धनमा सहयोग गर्दै आएको नगरप्रमुख सञ्जय तुम्बाहाङ्फेले बताए।

४ भदौ, तेह्रथुम । तेह्रथमु जिल्लाको सदरमुकाम म्याङ्लुङ बजारमा यतिबेला अरू दिनभन्दा फरक देखिएका छन् । सडक र चोकमा मानिसको चहलपहल बढेको छ । परम्परागत बाजागाजाको धुनसँगै लाखेको आकृति देखिन थालेपछि बजारमा छुट्टै सांस्कृतिक रौनक छाएको छ । नेवार समुदायको मौलिक सांस्कृतिक पर्व लाखेजात्रा महोत्सव–२०८३ सुरु भएसँगै म्याङ्लुङ जात्राको रौनकता छाएको छ ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल नारासहित नेवा देय दबु म्याङ्लुङको आयोजनामा सुरु भएको लाखेजात्रा मनोरञ्जनको पर्व मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृति, परम्परा र सामुदायिक पहिचानको जीवन्त अभिव्यक्ति हो । बाजाको तालमा नाच्ने लाखेले सडकमा केवल रौनक थप्दैन, पुरानो संस्कृतिलाई वर्तमान पुस्तासँग जोड्ने काम पनि गर्छ ।

म्याङ्लुङमा लाखेजात्राको इतिहास नेवार समुदायको बसोबाससँगै जोडिएको छ । नेवा देय दबु तेह्रथुमका जिल्ला अध्यक्ष राजेशराज जोशीका अनुसार नेवार समुदायको बसोबास सुरु भएसँगै जिल्लामा लाखेजात्राको परम्परा सुरु भएको हो । उनका अनुसार जात्रा नागपञ्चमीदेखि सुरु भएर कृष्णाष्टमीको भोलिपल्ट समापन हुने परम्परा छ ।

जात्राका क्रममा बालबालिका उत्सुकताका साथ लाखेको नाच हेर्छन, युवा पुस्ता मोबाइलमा दृश्य कैद गर्छ र ज्येष्ठ पुस्ता आफ्ना पुराना सम्झनासँग वर्तमानलाई जोडेर हेर्छ । यसरी लाखेजात्राले एउटै ठाउँमा तीन पुस्तालाई भेट गराउँछ । आधुनिक जीवनशैलीका कारण नयाँ पुस्ता मौलिक संस्कृतिबाट टाढिँदै गएको अवस्थामा यस्तो जात्रा संस्कृति बुझ्ने र सिक्ने खुला विद्यालयजस्तै बनेको छ ।

लाखेको संरक्षणसँगै यसको पुस्तान्तरणमा पनि जोड दिनुपर्ने झिगु परोपकार समाज तेह्रथुमका अध्यक्ष शुभभगत प्रधानाङ्ग बताउँछन् । उनका अनुसार लाखे संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ । लाखे नेवार समुदायको मात्र नभई सबै जातजातिको साझा सांस्कृतिक सम्पदा हो भन्ने भावना विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । लाखेबाट संकलित रकम सामाजिक काममा समेत प्रयोग हुँदै आएको समाजले जनाएको छ ।

लाखेजात्रा अहिले नेवार समुदायको घरआँगनमा मात्र सीमित छैन । स्थानीयवासी, व्यवसायी, विभिन्न समुदाय र बाहिरबाट आउने दर्शकसमेत यसको रौनकमा जोडिन्छन । यसले म्याङ्लुङको सामाजिक एकतासँगै स्थानीय व्यापार र सांस्कृतिक पर्यटनलाई समेत टेवा पु‍र्याउँदै आएको छ ।

म्याङ्लुङ नगरपालिका नगरप्रमुख सञ्जय तुम्बाहाङ्फेका अनुसार लोपोन्मुख कला तथा संस्कृति संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले सहयोग गर्दै आएको छ । समुदायको सक्रियता र स्थानीय सरकारको सहयोगलाई निरन्तरता दिन सके लाखेजात्रालगायत मौलिक संस्कृति भावी पुस्तासम्म सुरक्षित रूपमा पु‍र्याउन सकिने देखिन्छ ।

म्याङ्लुङको सडकमा नाचिरहेको लाखे त्यसैले एउटा पात्र मात्र होइन, एउटा सांस्कृतिक स्मृति हो । बाजाको ताल इतिहासको आवाज हो। जात्रामा जम्मा भएको भीड आफ्नो पहिचानप्रतिको सामूहिक प्रतिबद्धताको दृश्य हो । कृष्णाष्टमीसम्म म्याङ्लुङको वातावरण लाखेको रौनकले भरिरहनेछ । बाजा गुञ्जिरहनेछ, लाखे नाचिरहनेछ र नयाँ पुस्ताले आफ्नै संस्कृतिलाई आँखै अगाडि अनुभव गरिरहनेछ ।

लेखक
प्रकाश पाक्साँवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?