News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलले प्रमाणपत्र शंकास्पद देखिएपछि १४ जना विदेशी चिकित्सकको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
- काउन्सिलले करिब ५०० विदेशी चिकित्सकका फाइल अध्ययन गर्न डा. छवि पन्तको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
- कागजातको आधिकारिकता नजाँची विदेशी चिकित्सक दर्ताका लागि सिफारिस गर्ने मेडिकल तथा डेन्टल कलेज, प्रतिष्ठान र अस्पतालसँग काउन्सिलले लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको छ।
४ भदौं, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नेपालमा काम गर्न तथा मेडिकल कलेजमा फ्याकल्टीका रूपमा नियुक्त हुन आएका १४ जना विदेशी चिकित्सकको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ ।
ती चिकित्सकले पेस गरेका ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’मध्ये केही प्रमाणपत्र सम्बन्धित देशको मेडिकल काउन्सिलबाट जारी नै नभएको पुष्टि भएपछि काउन्सिलले दर्ता प्रक्रिया रोकेको हो ।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार नेपालमा विदेशी चिकित्सकले काम गर्न कानुनले अनुमति दिएको छ । तर त्यसका लागि काउन्सिलबाट स्वीकृति तथा आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ ।
विशेषगरी नेपालमा चिकित्सकीय अभ्यास गर्न आउने विदेशी चिकित्सकले आफू सम्बन्धित देशको नियामक निकायमा दर्ता भएको र व्यावसायिक रूपमा काम गर्न योग्य रहेको प्रमाणित गर्ने ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ पेस गर्नुपर्ने व्यवस्था छ ।
तर, पछिल्लो पटक नयाँ फ्याकल्टीका रूपमा नेपालका विभिन्न मेडिकल कलेजमा आएका विदेशी चिकित्सकले दर्ताका क्रममा पेस गरेका कागजातमाथि काउन्सिलले शंका लागेपछि आन्तरिक छानबिन अघि बढाएको थियो ।
‘नयाँ फ्याकल्टीका रूपमा आएका चिकित्सक दर्ताका लागि आएपछि प्रमाणपत्र र अन्य कागजात हेर्यौँ । त्यसपछि केही विषय शंकास्पद देखिएपछि थप आन्तरिक छानबिन गर्यौँ,’ रजिस्ट्रार डा. पाण्डेले अनलाइनखबरसँग भने ।
छानबिनका क्रममा केही चिकित्सकले भारतको नियामक निकायबाट जारी भएको भनिएको ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ पेस गरेको भेटिएको थियो । काउन्सिलले ती प्रमाणपत्रको आधिकारिकताबारे भारतीय पक्षसँग गोप्य रूपमा जानकारी मागेको थियो । त्यस क्रममा सम्बन्धित प्रमाणपत्र आफूहरूले जारी नगरेको भन्दै भारतीय नियामक निकायबाट काउन्सिललाई जवाफ आएको थियो ।

यसको अर्थ, ती चिकित्सक भारतमा चिकित्सकका रूपमा दर्ता नभएका होइनन् । उनीहरू भारतमा चिकित्सकका रूपमा दर्ता भएको हुन सक्ने भए पनि नेपालमा चिकित्सकीय अभ्यास गर्न आवश्यक पर्ने छुट्टै प्रमाणपत्र नै फर्जी बनाइएको काउन्सिलको निष्कर्ष छ ।
‘प्रमाणपत्र नै सम्बन्धित काउन्सिलले जारी नगरेको भनेर जवाफ आएपछि दर्ता प्रक्रिया रोकेका छौं,’ डा. पाण्डेले भने ।
प्रमाणपत्र फर्जी भएको पुष्टि भएपछि काउन्सिलले अन्य चिकित्सकले पेस गरेका कागजातसमेत थप शंकाको घेरामा राखेर अध्ययन अघि बढाएको थियो । त्यस क्रममा उस्तै प्रकृतिका अन्य प्रमाणपत्रसमेत भेटिएपछि हालसम्म १४ जना विदेशी चिकित्सकको दर्ता प्रक्रिया स्थगित गरिएको काउन्सिलले जनाएको छ ।
त्यस्तै, कागजातको आधिकारिकता यकिन नगरी विदेशी चिकित्सकलाई दर्ताका लागि सिफारिस गर्ने सम्बन्धित मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालसँग लिखित स्पष्टीकरण माग्ने निर्णयसमेत गरेको छ ।
काउन्सिलले विदेशी चिकित्सक तथा उनीहरूले पेस गरेका कागजात सनाखतका लागि मेडिकल कलेजलाई समेत आवश्यक बयानका लागि उपस्थित गराउने भएको छ ।
घटनालाई गम्भीर रूपमा लिँदै काउन्सिलले नेपालका विभिन्न मेडिकल तथा डेन्टल कलेजमा कार्यरत विदेशी नागरिक चिकित्सकको दर्ता अवस्था, कार्यस्थिति र व्यावसायिक गतिविधिबारे अनुसन्धान गर्न विशेष समिति गठन गरेको छ । काउन्सिलले डा. छवि पन्तको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
काउन्सिलका अनुसार हाल नेपालमा करिब ५०० जना विदेशी चिकित्सक विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत छन् । तीमध्ये ठूलो संख्यामा मेडिकल कलेजमा रूपमा काम गरिरहेका छन् । उनीहरू नेपालका मेडिकल कलेजमा अध्यापन तथा अन्य शैक्षिक गतिविधिमा संलग्न हुँदै आएका छन् ।
काउन्सिलले नेपालमा रहेका करिब ५०० जना विदेशी चिकित्सकका फाइल अध्ययन गर्नेछ । विशेषगरी उनीहरूले दर्ताका क्रममा पेस गरेका शैक्षिक प्रमाणपत्र, व्यावसायिक दर्ता तथा ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लगायतका कागजातको आधिकारिकता जाँच गरिने छ ।
‘करिब ५०० वटै फाइल अध्ययन गर्दैछौं । अहिले १४ जनाको दर्ता प्रक्रिया स्थगित गरेका छौं । थप कति जना भेटिन्छन् भन्ने कुरा अनुसन्धानपछि खुल्दै जानेछ,’ पाण्डेले भने ।

उक्त विषय चिकित्सा शिक्षा आयोगलाई समेत जानकारी गराइसकिएको छ । विशेषगरी मेडिकल कलेजमा विदेशी चिकित्सकलाई फ्याकल्टी देखाएर सिट प्राप्त गर्ने र त्यसपछि ती चिकित्सक लामो समय कलेजमा नरहने गरेको विषयसमेत अनुसन्धानको दायरामा आएको छ ।
‘सिट बढाउनका खडेबाबाको प्रयोग’
उक्त घटनाले निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षातर्फको सिट निर्धारणमा आफ्नो प्रभाव बढाउन विदेशी चिकित्सकलाई ‘फ्याकल्टी’का रूपमा देखाउने गरेको खुलेको छ । सिट निर्धारणका बेला विषयगत फ्याकल्टी पूरा भएको देखाउन विदेशबाट चिकित्सक झिकाउने र कागजमा मात्रै प्राध्यापक देखाएर सिट हात पार्ने गरेको काउन्सिलका एक सदस्यले बताए ।
एमबीबीएसदेखि एमडी, एमएसलगायत स्नातकोत्तर तहका कार्यक्रमको सिट निर्धारण गर्दा चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको विषयगत फ्याकल्टी, प्राध्यापक तथा जनशक्तिको अवस्था हेर्ने गर्छ ।
यही व्यवस्थाको फाइदा उठाउँदै केही मेडिकल कलेजले विदेशी चिकित्सकलाई अस्थायी रूपमा ल्याएर फ्याकल्टीको संख्या पूरा भएको देखाउने गरेका छन् ।
मेडिकल कलेजमा निश्चित संख्यामा विद्यार्थी भर्ना गर्नका लागि आवश्यक फ्याकल्टी तथा अन्य मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । चिकित्सा शिक्षा आयोगले गर्ने अनुगमनमा फ्याकल्टीको उपस्थिति तथा योग्यता पनि महत्वपूर्ण आधार बन्ने गर्छ ।
यही प्रक्रियालाई प्रभावित पार्न केही चिकित्सकलाई कागजमा फ्याकल्टीका रूपमा देखाउने र अनुगमन सकिएपछि उनीहरू भारत फर्कने गरेको हुन सक्ने काउन्सिलको आशंका छ ।
यस्ता चिकित्सकलाई ‘खडेबाबा’ भन्ने गरिन्छ ।
‘भारतबाट डाक्टर ल्याउने, कागजात फर्जी बनाएर मेडिकल कलेजमा केही समय उभ्याउने, आयोग अनुगमनमा जाँदा फ्याकल्टी देखाउने र सिट पाउने गरेको देखिएको छ । त्यसपछि ती भारतीय चिकित्सक केही दिन बसेर फेरि भारत फर्किने गरेको पाइएको छ,’ काउन्सिलका एक सदस्य भन्छन् ।

ती सदस्यका अनुसार अहिले एमबीबीएसको सिट निर्धारणको समय नजिकिँदै गर्दा विदेशी चिकित्सक भित्र्याउने प्रक्रिया तीव्र पारिएको छ ।
आयोगको अनुगमन टोली मेडिकल कलेजमा पुग्ने समय नजिकिएसँगै कागजमा फ्याकल्टी संख्या पूरा देखाउने चलखेल सुरु भएको ती सदस्य बताउँछन् ।
‘यसअघि पनि खडेबाबाको प्रयोग प्रमाणपत्र कीर्ते गरेको अनुमान छ । अब सबै मेडिकल कलेजको अनुगमन गर्ने निर्णय गरेका हौँ,’ ती सदस्यले भने, ‘खडेबाबाको प्रयोग भएको सुन्दै आएका थियौं । तर यो घटनाले पुष्टि नै गर्यो ।’
काउन्सिल सदस्यका अनुसार अनुगमनका क्रममा विदेशी चिकित्सकलाई वास्तविक रूपमा फ्याकल्टीका रूपमा काम गराएको नभई सिट बढाउन वा कायम राख्न कागजमा मात्र देखाएको भेटिएमा सम्बन्धित मेडिकल कलेजमाथि समेत कारबाही हुनेछ ।
प्रतिक्रिया 4