+
+
Shares
पूजा चोपडासँग वार्ता :

पछिल्लो १३ वर्षमा नेपालको प्रगति देखेर चकित भएँ

जनार्दन बराल जनार्दन बराल
२०८३ भदौ ५ गते ९:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री पूजा चोपडाले नेपाल भ्रमणमा पशुपतिनाथ, बौद्धनाथ र चन्द्रगिरि घुमेर नेपाली खाना, मःम र आतिथ्यबाट प्रभावित भएको बताइन्।
  • उनले काठमाडौंको विकास देखेर खुसी लागेको, नेपाललाई आफ्नै घरजस्तो महसुस भएको र नेपाली सिनेमा तथा कलाकारसँग सहकार्य गर्न इच्छुक रहेको बताइन्।
  • चोपडाले नयाँ प्रधानमन्त्री बालेनको प्रशंसा गर्दै उनलाई युवा, महत्वाकांक्षी र सही दिशामा अघि बढिरहेका नायक भएको बताइन्।

फेमिना मिस इन्डिया वर्ल्ड २००९ की विजेता तथा बलिउड अभिनेत्री पूजा चोपडा केही दिनअघि नेपाल भ्रमणमा आएकी थिइन् । यसअघि पनि दुई पटक नेपाल आएकी उनी यस यात्राका क्रममा यो देशको आध्यात्मिकता, परिकार र न्यानो आतिथ्यताबाट निकै प्रभावित भएको बताउँछिन् । पशुपतिनाथको विशेष पूजा सहभागिता र बौद्धनाथको दर्शनदेखि थकाली खाना र मःमको स्वाद लिनेसम्मका अनुभव बटुलेकी चोपडालाई नेपाल आफ्नै ‘घर जस्तै’ लाग्छ।

अनलाइनखबरसँगको कुराकानीमा उनले नेपालसँगको आफ्नो सम्बन्धका बारेमा मात्रै बताइनन्, नेपाल प्रधानमन्त्री बालेनको प्रशंसा पनि गरिन् । प्रस्तुत छ, उनीसँग अनलाइनखबरका जनार्दन बरालले गरेको कुराकानीको सारः

नेपालमा यहाँलाई स्वागत छ । यस पटक तपाईं कुन प्रयोजनका लागि नेपाल आउनुभयो । भ्रमणको अनुभव कस्तो रह्यो ?

म एक कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुँ । यसअघि पनि मैले दुई पटक नेपाल भ्रमण गरिसकेकी छु । त्यसैले यहाँ आएको बेला १-२ दिन बसेर पुराना सम्झनाहरू ताजा बनाउन चाहेँ । यसअघिका दुई यात्राहरू अविश्मरणीय थिए ।

म १३ वर्षअघि सन् २०१३ मा एउटा एभिएसन एकेडेमीको कार्यक्रमका लागि यहाँ आएकी थिएँ । त्यसबेलाको तुलनामा अहिले काठमाडौँ धेरै परिवर्तन भइसकेको रहेछ। विमानस्थलबाट होटलसम्मको यात्राका क्रममा देशको प्रगति र विकास देख्दा निकै खुसी लाग्यो।

हामी आइतबार पशुपतिनाथ मन्दिरमा आरती गर्न गयौं । त्यहाँ निकै भिड थियो, तर सौभाग्यवश मेरो टोली र मैले मुख्य पण्डितजीलाई भेट्न पायौँ र निकै शान्त वातावरणमा दर्शन गर्‍यौँ । त्यसपछि हामी चन्द्रगिरि गयौँ । नेपाली खाना- थकाली थाली, सेलरोटी र अचार खायौँ।

पछि मैले बौद्धनाथको भ्रमण गरेँ, जहाँ लाफिङ र किमा नुडल्स चाखेँ । नेपालको खाना भारतमा पाइनेभन्दा निकै स्वादिष्ट लाग्छन् मलाई ।

नेपालमा मेरा पारिवारिक साथीहरू हुनुहुन्छ, उहाँहरूसँग पनि भेटघाट गरेँ।

तपाईंले मःम खाने मौका पनि पाउनुभयो ?

हजुर ! मैले ‘जिम्बु थकाली’ मा मःम पनि खाएँ । अति नै स्वादिष्ट थियो । मलाई नेपालको मःमः असाध्यै मन पर्छ । भारत फर्कनुअघि पक्कै पनि फेरि एक पटक खानेछु।

भारतमा पनि मःम पाइन्छ नि, होइन ?

यहाँको जस्तो स्वादिलो चाहिँ पाइँदैन । नेपालको मःमको स्वाद बिल्कुलै फरक छ। भारतमा मःम बनाउने तरिका फरक छ। नेपालको मःम धेरै पिरो र मसलेदार हुँदैन तर स्वादिष्ट हुन्छ ।

म नेपाली भाषा बोल्न सक्दिनँ । तर जसरी उत्तर भारतीय कलाकारहरूले दक्षिण भारतीय चलचित्रहरूमा काम गर्छन्, म पनि त्यसरी नै म नेपाली सिनेमा काम गर्न सक्छु ।

तपाईंले पशुपतिनाथ मन्दिर दर्शन गरेको उल्लेख गर्नुभयो। व्यक्तिगत रूपमा त्यो अनुभव कस्तो रह्यो ?

एक आध्यात्मिक व्यक्ति हुँ । त्यसो हुँदा पशुपतिनाथ दर्शन जस्ता भ्रमणहरू योजना बनाएर मात्र हुँदैनन्, यी त भाग्यमै लेखिएका हुन्छन् । पशुपतिनाथ दर्शन साँच्चै नै दैवीय अनुभूति थियो । हामीले पशुपतिनाथको अगाडि नै बसेर गर्न पायौँ । पण्डितजीले पूरा पूजा विधिको बारेमा सम्झाउनुभयो।

म क्लबहरूमा जाने खालकी व्यक्ति होइन; मलाई आध्यात्मिक गन्तव्यहरू घुम्न मनपर्छ। दुई महिनाअघि मात्र एउटा कार्यक्रमका लागि हरिद्वार गएकी थिएँ। मेरो कामले मलाई प्रायः यस्ता पवित्र ठाउँहरूमा ल्याइपुर्‍याउँछ । यसअघि दुई पटक आउँदा पनि मैले पशुपतिनाथको दर्शन गरेको थिएँ । यसअघि त मनकामना मन्दिरको पनि दर्शन गरेकी थिएँ।

नेपाल र भारतबीच गहिरो सांस्कृतिक, आध्यात्मिक र सिनेमाका सम्बन्धहरू छन् । भ्रमणका क्रममा तपाईंले दुई देशबीच कस्ता समानता वा सम्बन्धहरू महसुस गर्नुभयो ?

काठमाडौँमा चार-पाँच जनाको स्थानीय हेयर र मेकअप आर्टिस्टको टोलीसँग काम गरेँ । उनीहरू सबै धाराप्रवाह हिन्दी बोलिरहेका थिए र हिन्दी गीत गाइरहेका थिए । त्यो देखेर मलाई अचम्म लाग्यो । कसरी यति सजिलै हिन्दी बोल्न सिक्यौ भनेर सोध्दा उनीहरूले ‘क्युँकी सास भी कभी बहू थी’, ‘कसौटी जिन्दगी की’ जस्ता भारतीय टेलिशृङ्खलाहरू हेरेर हुर्किएको बताए। कार्यक्रमका लागि तयार हुँदै गर्दा हामीले ‘कभी अलबिदा ना कहना’ जस्ता गीतहरू बजायौँ र सँगै गायौँ। यो सबै गरिरहँदा म अर्को देशमा छु जस्तो फिटिक्कै महसुस भएन। वास्तवमै भारत र नेपाल दाजुभाइ-दिदीबहिनी जस्तै हुन्।

यहाँको लिपी पनि हिन्दीसँग मिल्छ । मानिसहरुले नेपाली बोल्दा म धेरै कुरा बुझ्नसक्ने भएकी छु । नेपाल मलाई आफ्नै घर जस्तो लाग्छ। नेपालमा हिन्दी सिनेमा निकै लोकप्रिय छन् नि । वास्तवमा, केही हिन्दी चलचित्रहरूले यहाँ स्थानीय चलचित्रले भन्दा बढी कमाइ गर्छन् ।

हिन्दी चलचित्र, टीभी शोहरू र गीतहरू नेपालमा लोकप्रिय छन् भन्ने मलाई थाहा छ । त्यसैले म अर्को देशमा छु जस्तो लाग्दै लाग्दैन।

उपयुक्त प्रस्ताव आयो भने नेपाली चलचित्रमा काम गर्न वा यहाँका स्थानीय चलचित्रकर्मी र कलाकारहरूसँग सहकार्य गर्न इच्छुक हुनुहुन्छ ?

पक्कै पनि ! दुर्भाग्यवश म नेपाली भाषा बोल्न सक्दिनँ । तर जसरी उत्तर भारतीय कलाकारहरूले दक्षिण भारतीय चलचित्रहरूमा काम गर्छन्, म पनि त्यसरी नै काम गर्न सक्छु । त्यसो भयो भने यो सुन्दर देशमा केही समय बस्ने अवसर पनि प्राप्त हुनेछ । नेपालका परम्परागत पहिरन लगाउन, पोखरा जस्ता ठाउँहरूको भ्रमण गर्न र सिनेमा तथा गीत छायाङ्कन गर्न पाउनु निकै अद्भुत हुनेछ।

तपाईं नेपालका कुनै कलाकारलाई फलो गर्नुहुन्छ?

म तपाईंहरूका नयाँ प्रधानमन्त्रीलाई फलो गर्छु । व्यक्तिगत रूपमा मलाई उनी असाधारण लाग्छन् । उनले गरेका परिवर्तनहरू गजब छन्। मैले अहिले पनि नेपालका केही मानिसहरूसँग उनका बारेमा सोधेँ । उनीहरू प्रधानमन्त्रीसँग निकै खुसी छन्। छिमेकी देशले यसरी प्रगति गरेको देख्दा निकै खुसी लाग्छ। उनी युवा, महत्वाकांक्षी, उत्कृष्ट दृष्टिकोण भएका र सही दिशामा अघि बढिरहेका एक किसिमका नायक नै हुन् ।

उनी भर्खर ३६ वर्षका छन् । त्यसैले उनका लागि असम्भव भन्ने केही छैन। म आशा गर्छु, उनी सही दिशामा लागिरहने छन् । अर्को भ्रमणमा नेपाल आउँदा यो देशले अझ बढी विकास गर्ने मेरो विश्वास छ ।

तपाईंले फेमिना मिस इन्डिया वर्ल्ड २००९ को उपाधि जित्नुभयो र मिस वर्ल्डमा भारतको प्रतिनिधित्व गर्नुभयो। पछाडि फर्केर हेर्दा, त्यो प्रतियोगिताले तपाईंको जीवनलाई कसरी परिवर्तन गर्‍यो र आज जुन स्थानमा हुनुहुन्छ, त्यो व्यक्ति बन्न कसरी मद्दत गर्‍यो ?

त्यसले मेरो जीवनलाई पूर्ण रूपमा बदलिदियो । पुणेमा कलेज पढिरहेकी एउटी सामान्य मध्यमवर्गीय केटी, जो घरबाट कलेज जान स्कुटर चढ्ने गर्थी- उसले अचानक मिस इन्डियाको उपाधि जिती । उसको जीवन कसरी रातारात परिवर्तन भयो होला- तपाईं कल्पना गर्न सक्नुहुन्छ ।

मिस इन्डियाको उपाधि जित्नासाथ मलाई अनुभूव भयो- मेरो जीवन पूरै बदलियो । एक साधारण कलेज विद्यार्थीबाट सिंगो देशले चासो राख्ने व्यक्ति बन्न केही सेकेन्ड मात्र लाग्यो ।

मलाई ठ्याक्कै त्यो सेकेन्ड याद छ- जब मैले मेरो जीवन पूरै बदलिएको महसुस गरेकी थिएँ । मलाई ताज पहिराएपछि हात हल्लाएर स्टेजबाट तल झर्नेबित्तिकै अचानक सात वा आठ जना बडीगार्डले सुरक्षाका लागि घेरे । सञ्चारकर्मीहरू हातमा माइक बोकेर प्रश्न सोध्न ठेलमठेल गरिरहेका थिए । तर मलाई हतार-हतार कारभित्र हालियो ।

मानिसहरू कारको झ्याल ढक्ढक्याइरहेका थिए । कार गुड्दै गर्दा मैले सोचेँ, मेरो जीवन पूरै बदलियो । एक साधारण कलेज विद्यार्थीबाट सिंगो देशले चासो राख्ने व्यक्ति बन्न केही सेकेन्ड मात्र लाग्यो । यसप्रति म अत्यन्तै कृतज्ञ छु । त्यो नै मेरो जीवनमा भएको सबैभन्दा उत्कृष्ट कुरा थियो ।

मिस इन्डिया जितेपछि तपाईंको यात्रा चलचित्र क्षेत्रतर्फ मोडियो र ‘पोन्नार शंकर’ र ‘कमान्डो: ए वान म्यान आर्मी’ जस्ता चलचित्रमा काम गर्नुभयो । सुन्दरी प्रतियोगिताको विजेताबाट आफूलाई एक अभिनेतृका रूपमा प्रमाणित गर्न सबैभन्दा ठूलो चुनौती के थियो ?

म आफू चलचित्र पृष्ठभूमिबाट नआएको भएकाले त्यो काम निकै चुनौतीपूर्ण थियो। मैले अभिनयसम्बन्धी कोर्ष त गरेकी थिएँ । तर, वास्तविक अभिनय सिकाएर सिक्न सकिँदैन- यो भित्रैदेखि आउनुपर्छ।

म ‘स्पोन्टेनियस’ स्वभावकी व्यक्ति हुँ । त्यसैले अभिनयको प्राविधिक पक्ष बुझ्न केही समय लाग्यो। तर तपाईं दर्शकले आफ्नो कामलाई स्वीकार गरेको अनुभव गर्नुहुन्छ, आफू सही बाटोमा छु जस्तो लाग्छ, ‘पोन्नार शंकर’ ले राम्रो गर्‍यो । ‘कमान्डो’ लाई देशभरबाट निकै राम्रो प्रतिक्रिया मिल्यो ।

मैले नीरज पाण्डे, मनोज बाजपेयी, विद्युत जामवाल, शरमन जोशी र सिद्धार्थ मल्होत्रा जस्ता उत्कृष्ट निर्देशक र प्रतिभाशाली कलाकारहरूसँग काम गर्ने सौभाग्य पाएँ । उनीहरूबाट धेरै कुरा सिक्न पाएँ। सिक्ने प्रक्रिया अझै पनि जारी छ।

अनि भनिहालौँ, अरशद वारसीसँग मेरो नयाँ चलचित्र ‘जीवन बीमा योजना’ आउँदै छ, जसमा उनको दोहोरो भूमिका छ । यो एक कमेडी पारिवारिक चलचित्र हो यो । म पारिवारिक चलचित्र मात्र गर्छु ।

म यही कुरा सोध्दैथेँ । करिअरको यस चरणमा तपाईं कस्ता प्रकारका चरित्र र कथाहरूमा काम गर्न सबैभन्दा बढी रुचि राख्नुहुन्छ ?

म वास्तविक, प्रेरणादायी वा दर्शकलाई कुनै अर्थपूर्ण सन्देश दिने कथाहरूको हिस्सा बन्न चाहन्छु। बायोपिकमा काम गर्न चाहन्छु, जसमा प्रेरणादायी कथा हुन्छ ।

मलाई कमेडी सिनेमामा काम गर्न पनि त्यत्तिकै धेरै मनपर्छ । हरर चलचित्र भने गर्न सक्दिनँ । किनभने, म निकै डराउँछु । कुनै भूमिकामा अत्यधिक बोल्ड हुनु पर्नेछ भने म हिच्किचाउँछु किनभने म अलि लजालु छु ।

तपाईंको टेड टक ‘राइट योर ओन डेस्टिनी: जर्नी अफ ए वान्स एब्यान्डन्ड गर्ल चाइल्ड’ ले संघर्ष र दृढताको एक गहिरो व्यक्तिगत कथा बताउँछ । कठिन परिस्थितिका बाबजुद महत्वाकांक्षी सपनाहरू पछ्याइरहेका भारत वा नेपालका युवतीहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

मेरो कथा निकै अलग छ । मेरो जन्म हुँदा बुबाले छोरीका रूपमा मलाई स्वीकार गर्न अस्वीकार गर्नुभयो । मेरी ठूली दिदी पहिल्यै जन्मिसक्नुभएको थियो । दोस्रो बच्चाका रूपमा उहाँलाई छोरा चाहिएको थियो । उहाँले मेरी आमालाई भर्खरै जन्मिएकी बच्चा मलाई कि मार, कि अनाथालयमा राख भन्नुभयो । होइन भने घरबाट निस्केर जान आदेश दिनुभयो । मेरी आमाले मलाई रोज्नुभयो र त्यो घर छोडेर हिँड्नुभयो । उहाँ एक्लैले मेरी दिदी र मलाई हुर्काउनुभयो ।

म उहाँलाई सलाम गर्छु । उहाँ नै मेरो वास्तविक नायक हुनुहुन्छ। ७२ वर्षको उमेरमा पनि उहाँ अझै काम गरिरहनुभएको छ। हामीलाई हुर्काउने बेला उहाँ एक्लै दोहोरो सिफ्टमा काम गर्नुहुन्थ्यो । म उहाँबाट अत्यन्तै धेरै शक्ति र प्रेरणा पाउँछु, जसले उहाँलाई गौरवान्वित बनाउन सकूँ ।

युवाहरूलाई मेरो सल्लाह के छ भने- आफ्नो प्रेरणाको स्रोत पत्ता लगाउनुहोस् । तपाईं किन आफ्नो कुनै लक्ष्य प्राप्त गर्न चाहनुहुन्छ, त्यो बुझ्नुहोस् । हरेक दिन प्रेरणा लिनुहोस् र कडा मिहिनेत गर्नुहोस् । चाहे त्यो चलचित्रमा होस, पाइलट बन्न होस् वा सेनामा भर्ती हुनु होस् । आफूमा विश्वास राख्नुहोस्, सोचेका हरेक सपना पूरा गर्न सक्नुहुन्छ ।

यसअघि कसैले त्यो काम गरिसकेको छ भने त्यसभन्दा राम्रो गर्न तपाईं किन सक्नुहुन्न ? सक्नुहुन्छ । कसैले अहिलेसम्म नगरेको काम गर्दै हुनुहुन्छ भने तपाईं पहिलो बन्न सक्नुहुन्छ ।

यस भ्रमणबाट तपाईं के सम्झना कोसेली बोकेर फर्कनु हुनेछ र आफ्ना नेपाली फ्यानहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

सबैभन्दा पहिले म सम्पूर्ण नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु । नेपालीहरू अत्यन्तै आत्मीय छन् । मलाई नेपाल साँच्चै आफ्नै घर जस्तै लाग्छ। म पशुपतिनाथ मन्दिरको प्रसाद र बहुमूल्य सम्झनाहरू बोकेर फर्कंदै छु। मेरो मनमा पहिले नै नेपालका मिठा सम्झनाहरू थिए । यस यात्राले अझ धेरै सम्झनाहरू थपिदिएको छ।

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?