News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा नेता कमल थापाले उद्धव थापामाथि गरिएको कारबाही पार्टीको विधि, विधान र पद्धति विपरीत हतारमा लादिएको भन्दै असहमति जनाए ।
- उनले विस्तृत अध्ययनका लागि पहिले निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने र समितिको प्रतिवेदनका आधारमा निर्णय गर्नुपर्ने बताए ।
- कमल थापाले आफू र केही नेताले निर्णयको विपक्षमा नोट अफ डिसेन्ट दर्ता गरेको र यस्तो शैलीले संगठन थप ध्वस्त हुने चेतावनी दिए ।
४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले बागमती प्रदेश सभाका सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन् ।
बिहीबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले उद्धव थापालाई जबरजस्ती कारबाही गरेको भन्दै आफ्नो असहमति रहेको बताए ।
संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीको निर्णय पार्टीको विधि, विधान र पद्धति विपरीत हतारमा र जबरजस्ती लादिएको उनको तर्क थियो ।
‘विस्तृत रुपले छानबिन गरी विगतमा भएका त्रुटि र कमजोरीलाई समेत सच्याउँदै अध्ययन गरेर समिति बनाएर अध्ययन गरौं र त्यो समितिको प्रतिवेदन अनुसार जे जस्तो निर्णय गर्नुपर्छ गरौं भनेर हामीले आग्रह गर्यौं,’ उनले भने, ‘तर, पहिले नै तयारीका साथ केही साथीहरू आउनुभएको रहेछ । उहाँहरूले बागमती प्रदेश संसदीय दलको नेतालाई कारबाही गर्ने जबरजस्त निर्णय गर्नुभयो ।’
उनले आफू लगायत केही नेताहरूले उक्त निर्णयको विपक्षमा लिखित रूपमै फरक मत दर्ता गराएको जानकारी पनि दिए ।
‘म लगायत कतिपय साथीहरूले नोट अफ डिसेन्ट राख्नुभएको छ,’ उनले भने ।
नेता थापाले विगतका अभ्यास, पार्टी विधान र कमजोरीहरूको समग्र अध्ययन गर्न पहिले एक निष्पक्ष छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिए ।
उनले बागमती प्रदेश संसदीय दलले केन्द्रको निर्देशनका लागि अन्तिम समयसम्म प्रतीक्षा गरेको तर सरकार गठनबारे केन्द्रबाट स्पष्ट निर्देशन नआएपछि बहुमत सदस्यहरूको निर्णयबाट कदम चालेको दाबी गरे ।
पार्टी पहिलेदेखि नै संकटमा रहेको अवस्थामा हैकमवादी शैलीमा नेता–कार्यकर्तामाथि कारबाही गर्दै जाँदा संगठन थप ध्वस्त हुने चेतावनी पनि उनले दिए ।
प्रतिक्रिया 4