+
+
Shares

मलेसियाको ‘पाटा ट्राभल मार्ट’ मा नेपाल प्रवर्द्धन

मार्टमा ४८ देश र गन्तव्यबाट १ हजार १ सयभन्दा बढी पर्यटन प्रतिनिधि सहभागी भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियाको सारावाकमा आयोजित पाटा ट्राभल मार्ट २०२६ मा नेपाली पर्यटन व्यवसायीले पर्वतारोहण, ट्रेकिङ, अध्यात्म, वेलनेस र लक्जरी ट्राभल प्रवर्द्धन गरे ।
  • मार्टमा ४८ देशका १ हजार १ सयभन्दा बढी पर्यटन प्रतिनिधि सहभागी भई ४ हजारभन्दा बढी व्यावसायिक भेटघाट गरेका थिए ।
  • पाटा नेपालले सन् २०२७ जुन १ देखि ४ सम्म काठमाडौंमा हुने हिमालयन ट्राभल मार्टको ७औं संस्करण पनि प्रवर्द्धन गरेको छ ।

४ भदौ, काठमाडौं । मलेसियामा आयोजित ‘पाटा ट्राभल मार्ट २०२६’ मा नेपालको पर्यटकीय उत्पादन प्रवर्द्धन गरिएको छ ।

ट्राभल ट्रेड कम्पनीहरूको सहकार्यमा १८ देखि २० अगस्टसम्म मलेसियाको सारावाकस्थित कुचिङमा रहेको बोर्नियो कन्भेन्सन सेन्टर कुचिङमा आयोजित एसिया प्रशान्त क्षेत्रकै प्रमुख अन्तर्राष्ट्रिय बीटुबी ट्राभल ट्रेड कार्यक्रम पाटा ट्राभल मार्टमा नेपाल प्रवर्द्धन गरिएको हो ।

मार्टमा ४८ देश र गन्तव्यबाट १ हजार १ सयभन्दा बढी पर्यटन प्रतिनिधि सहभागी भएका थिए । जसमा २९ स्रोत बजारका २ सय १५ कम्पनीको प्रतिनिधित्व गर्ने २ सय २१ खरिदकर्ता र २ सयभन्दा बढी संस्था तथा गन्तव्यको प्रतिनिधित्व गर्ने ३ सय ६५ भन्दा बढी विक्रेता सहभागी भए ।

मार्टले पर्यटन व्यवसाय र गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोडिने र नयाँ साझेदारी विकास गर्ने अवसर सिर्जना गरेको पाटा नेपालले जनाएको छ ।

मार्टमा सहभागी नेपाली पर्यटन व्यवसायीमा हिमालयन होलिडेज नेपाल, एक्सपिडिसन हिमालया डटकम, डेस्टिनागो टुर्स एन्ड ट्राभल्स, रोयल माउन्टेन ट्राभल, तेन्जिङ हिलारी एभरेस्ट म्याराथन, अफ द वाल ट्रेकिङ, माउन्टेन डिलाइट ट्रेक्स एन्ड एक्सपिडिसन्स, माउन्टेन टाइगर नेपाल र मिसन नेपाल होलिडेज सहभागी थिए ।

नेपाल पभेलियनले नेपालका पर्वतारोहण, ट्रेकिङ, अभियान, अध्यात्म, वेलनेस, लक्जरी ट्राभल, सामुदायिक पर्यटन र अविस्मरणीय अनुभव लगायत विविध पर्यटकीय उपज र आकर्षण प्रदर्शन गरेको पाटा नेपालले बताएको छ ।

सन् २०२७ लाई वेलनेस वर्षका रूपमा मनाउने तयारी रहेको परिवेशमा नेपाली पर्यटन व्यवसायीले गन्तव्यको समग्र आकर्षणसँगै वेलनेस सेवाहरूको समेत प्रवर्द्धन गरेका छन् ।

मार्टमा पाटा नेपाल च्याप्टरद्वारा आगामी वर्ष २०२७ जुन १ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने नेपालको प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड शो ‘हिमालयन ट्राभल मार्ट’ को ७औं संस्करण समेत प्रवर्द्धन गरिएको छ ।

पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष विभूतिचन्द ठाकुरले पाटा ट्राभल मार्ट २०२६ नेपाली विक्रेताका लागि निकै फलदायी रहेको र पाटा नेपाल च्याप्टरले विश्वभरिका च्याप्टरमध्ये पुन: अवार्ड अफ एक्सिलेन्स प्राप्त गरेकोमा एक गौरवपूर्ण क्षण समेत बनेको बताए ।

पाटा मुख्यालयका सीईओ नुरअहमद हामिदले पाटा ट्राभल मार्टको आयोजना एक कार्यक्रम मात्र नभई मूल्यवान र गुणस्तरीय व्यावसायिक सम्बन्ध निर्माण गरेको बताए । यसबाट सिर्जना हुने अवसरले दिगो साझेदारीको रूप लिने बताए ।

सारावाकका पर्यटन, सिर्जनशील उद्योग तथा प्रदर्शन कलामन्त्री र युवा, खेलकुद तथा उद्यमशीलता विकासमन्त्री वाइबी दातो हाजी अब्दुल करिम रहमान हम्जाहले सारावाकमा पाटा ट्राभल मार्ट २०२६ आयोजना गर्नु अन्तर्राष्ट्रिय पर्यटन समुदायसँगको सहकार्य सुदृढ गर्ने र एसिया प्रशान्तभरि पर्यटनको भविष्यको विकासमा योगदान पुर्‍याउने महत्त्वपूर्ण अवसर भएको बताए ।

मार्टका मुख्य दुई दिन बीटुबी अवधिभरि खरिदकर्ता र विक्रेताहरूले ४ हजारभन्दा बढी निर्धारित व्यावसायिक भेटघाटमा सहभागिता जनाएको बताइएको छ । जसले नयाँ साझेदारी विकास गर्ने, नयाँ स्रोत बजार पहिचान गर्ने र भावी व्यवसाय सिर्जना गर्ने अवसर प्रदान गरेको छ ।

अर्को वर्ष पाटा ट्राभल मार्ट मकाउमा आयोजना हुने तय भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर विश्वभरि रहेका स्वतन्त्र पाटा च्याप्टरहरूमध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?