+
+
Shares

आतंकवाद पीडितको अधिकार र संरक्षणमा जोड दिँदै अन्तर्राष्ट्रिय दिवस मनाइँदै

आतंकवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा ‘आतंकवादका पीडितको सम्झना र सम्मानको अन्तरराष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ ।    

रासस रासस
२०८३ भदौ ५ गते ७:२२
तस्वीर : संयुक्त राष्ट्रसंघ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आतंकवादबाट पीडित तथा प्रभावितको सम्झना र सम्मानका लागि आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ ।
  • संयुक्त राष्ट्रसङ्घले सन् २०१७ मा अगष्ट २१ लाई आतंकवादका पीडित र बाँचेकाहरूको सम्मान तथा सहयोगका लागि अन्तरराष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो ।
  • सन् २०२३ जुन २२ को महासभा प्रस्तावले महिला, बालबालिका र यौन तथा लैङ्गिक हिंसाबाट प्रभावितको अधिकार संरक्षणमा ध्यान दिन सदस्य राष्ट्रलाई प्रोत्साहन गरेको छ ।

५ भदौ, काठमाडौं । आतंकवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा ‘आतंकवादका पीडितको सम्झना र सम्मानको अन्तरराष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले आतंकवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगष्ट २१ मा यो दिवस मनाउने निर्णय गरेको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महासभाको प्रस्तावअनुसार सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा आतंकवादका पीडितलाई सहयोग गर्न अन्तरराष्ट्रिय सहकार्य अभिवृद्धिमा जोड दिइएको छ ।

संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी आतंकवाद विरोधी रणनीतिको द्विवार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतंकवादविरुद्धको प्रयास, हिंसात्मक अतिवादको रोकथाम, अन्तरराष्ट्रिय ऐक्यबद्धता प्रवद्र्धन तथा पीडितका मानव अधिकारको संरक्षणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई जोड दिँदै आएका छन् ।

सन् २०१८ मा रणनीतिको छैटौँ समीक्षा भएयता अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय तहमा आतंकवादका पीडितप्रतिको सहयोग औपचारिक ऐक्यबद्धतामा मात्र सीमित नरही उनीहरूको अधिकार र आवश्यकतालाई सम्बोधन गर्ने दिशामा अघि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनु तथा आतंकवादका पीडितलाई सहयोगसम्बन्धी महासभाको प्रस्ताव पारित हुनु यस दिशाका महत्त्वपूर्ण प्रयास हुन् ।

सन् २०२३ जुन २२ मा पारित महासभाको आठौँ समीक्षा प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतंकवादबाट हुने यौन तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण र आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड दिएको छ ।

प्रस्तावले सदस्य राष्ट्रलाई आतंकवादका पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना बनाउन प्रोत्साहन गरेको छ ।

सन् २०२२ सेप्टेम्बरमा राष्ट्रसङ्घको मुख्यालयमा पहिलो विश्वव्यापी आतंकवाद पीडित सम्मेलन आयोजना गरिएको थियो ।

राष्ट्रसङ्घीय आतंकवाद प्रतिरोध कार्यालयले विश्वव्यापी पीडित सहायता कार्यक्रम र ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’ मार्फत आतंकवादका पीडितका अधिकार र आवश्यकताबारे चेतना अभिवृद्धि गर्दै आएको छ ।

राष्ट्रसङ्घीय आतंकवाद प्रतिरोध कार्यालयले सदस्य राष्ट्र तथा संयुक्त राष्ट्रसङ्घीय निकायलाई आतंकवादविरुद्धको विश्वव्यापी रणनीति कार्यान्वयन गर्न रणनीतिक नेतृत्व, समन्वय र क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ ।

साथै, पीडितलाई सहयोग गर्न नागरिक समाज र निजी क्षेत्रका संस्थासँगको सहकार्यलाई पनि यो संस्थाले प्रोत्साहन गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?