५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन र चुनदेवीमा सभापतिको नेमप्लेटको विषयलाई लिएर कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।
अनुशासन समितिका संयोजक तारामान गुरूङले समितिको बैठक जारी रहेकै अवस्थामा सानेपामा रहेका सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कारबाही प्रक्रियाबारे जानकारी दिएका हुन् ।
उनले राष्ट्रिय सम्मेलनमा भएका गतिविधिबारे समितिमा अत्यधिक उजुरीहरू परेको पनि बताए । उजुरीहरू लिखित र मौखिक दुवै प्रकृतिका रहेका संयोजक गुरूङको भनाइ छ ।
संयोजक गुरूङले २४ भदौमा सुरू हुन गइरहेको वडा अधिवेशन अगावै सबै उजुरीको छिनोफानो गरिसक्ने पनि बताए ।
तर, को–को नेता र व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाइने भन्ने विषय भने उनले खुलाएनन् ।
अनुशासन समितिको बैठक सानेपामा जारी छ । समितिमा धना खतिवडा, रमेश धमला र बजरंग नेपाली सदस्य छन् ।
प्रतिक्रिया 4