५ भदौ, काठमाडौं । एआई चिप निर्माता एनभिडियाले आफ्नो ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) र त्यसबाट प्राप्त हुने कम्प्युटिङ क्षमतालाई नयाँ किसिमको लगानीयोग्य सम्पत्तिका रूपमा स्थापित गर्ने प्रयास थालेको छ ।
कम्पनीले अपोलो, ब्ल्याकरक, ब्ल्याकस्टोन, ब्रुकफिल्ड, गोल्डम्यान स्याक्स र केकेआरजस्ता ठूला वित्तीय संस्थासँग मिलेर करिब ५ खर्ब डलर बराबरको वित्तीय व्यवस्था निर्माण गर्ने तयारी गरिरहेको छ । यसको उद्देश्य एआईका लागि चाहिने महँगा चिप खरिद गर्न कम्पनीहरूलाई ऋण तथा लगानी सहज बनाउनु हो ।
एनभिडियाका प्रमुख कार्यकारी जेन्सन हुआङका अनुसार, एआई कम्प्युटिङ अब चिप बिक्रीको विषय मात्र होइन । उनको भनाइमा एनभिडियाका चिप, सफ्टवेयर र सम्बन्धित प्रणालीले नियमित आम्दानी ल्याउन सक्ने भएकाले ती दीर्घकालसम्म उपयोगी र वित्तीय लगानीका लागि उपयुक्त सम्पत्ति बन्न सक्छन् ।
कम्पनीको दाबी छ, सीयुडिए (कम्प्युट युनिफाइड डिभाइस आर्किटेक्चर) सफ्टवेयर, नेटवर्किङ प्रणाली र डेभलपर समुदायका कारण एनभिडियामा आधारित एआई पूर्वाधारको क्षमता समयसँगै अझ प्रभावकारी बन्दै जानसक्छ ।
सरल भाषामा भन्नुपर्दा, नयाँ मोडेलअन्तर्गत एआई क्लाउड कम्पनीले एनभिडियाका जीपीयु किनेर तिनलाई धितोका रूपमा प्रयोग गर्न सक्नेछन् । बैंक वा निजी ऋणदाताले ती चिप र चिपबाट हुने सम्भावित आम्दानीलाई आधार मानेर ऋण दिनेछन् । त्यसपछि क्लाउड कम्पनीले आफ्नो डेटा सेन्टरमा एआई कम्प्युटिङ सेवा चलाउने, ग्राहकलाई चिपको क्षमता भाडामा दिने र त्यसबाट प्राप्त रकमले ऋण तिर्ने योजना हो । यसले पर्याप्त नगद नभएका नयाँ क्लाउड कम्पनीलाई पनि ठूलो परिमाणमा जीपीयु किन्न बाटो खोल्न सक्छ ।
तर यो योजना अहिले पूर्ण सम्झौतामा परिणत भइसकेको छैन । सम्बन्धित संस्थाहरूबीच समझदारीपत्र अर्थात ‘मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ’ मात्र बनेका छन् । यस्तो समझदारीले साझेदारीको सार्वजनिक संकेत त दिन्छ, तर अन्तिम लगानी वा ऋण सम्झौता अनिवार्य रूपमा कार्यान्वयन हुन्छ भन्ने सुनिश्चितता भने छैन ।
कारण, एनभिडियाले यसअघि ओपनएआईमा एक खर्ब डलर लगानीसम्बन्धी समझदारी गरेको भए पनि त्यो सम्झौता कार्यान्वयन नभएको उदाहरण पनि छ ।
यो पहलको सबैभन्दा ठूलो प्रश्न जीपीयुको आयु र पुनःबिक्री मूल्यसँग जोडिएको छ । एनभिडियाले सन् २०२० मा ल्याएको ए१०० चिप अझै व्यावसायिक रूपमा प्रयोग भइरहेको र कतिपय ग्राहकले बहुवर्षीय सम्झौतामा यसको क्षमता बुक गरिरहेको बताएको छ । हुआङले ए१०० को आर्थिक उपयोगिता करिब एक दशकसम्म पुग्न सक्ने दाबी पनि गरेका छन् ।
तर विगतमा उनले नयाँ पुस्ताको ब्ल्याकवेल चिप ठूलो परिमाणमा बजारमा आउँदा पुराना होपर चिपको महत्व घट्ने संकेत गरेका थिए । त्यसैले यसले पुराना चिपको वास्तविक मूल्य कति लामो समय टिक्छ भन्नेमा बहस बढाएको छ ।
यसबाट जीपीयुको मूल्यांकन ऋणदाताका लागि महत्वपूर्ण हुने देखिन्छ, किनकि चिपको उपयोगी आयु जति लामो देखाइन्छ, ऋणको अवधि र रकम त्यति नै ठूलो हुन सक्छ । उदाहरणका लागि, जीपीयुको मूल्य दुई वा तीन वर्षमै तीव्र रूपमा घट्छ भन्ने भयो भने त्यसलाई धितो राखेर लामो अवधिको ठूलो ऋण दिन जोखिमपूर्ण हुन्छ । तर चिपबाट धेरै वर्षसम्म आम्दानी भइरहन्छ भन्ने विश्वास बनेमा वित्तीय संस्थाले त्यसलाई बढी मूल्यवान सम्पत्ति ठान्न सक्छन् ।
हाल पुराना जीपीयुको भाडादर अपेक्षाअनुसार नघटेर कतिपय अवस्थामा बढिरहेको देखिएको छ । एआई मोडेललाई तालिम दिइसकेपछि नयाँ डाटा विश्लेषण गर्न प्रयोग हुने ‘इन्फरेन्स’ कामको माग बढेकाले पुराना चिपको उपयोगिता कायम रहेको उद्योग विश्लेषकहरूको भनाइ छ । कोरवेभ जस्ता कम्पनीले सन् २०२० आसपासका जीपीयु समेत सन् २०२९ सम्म चल्ने सम्झौतामा ग्राहकलाई उपलब्ध गराएको बताएका छन् । यसले पुराना चिप पनि तुरुन्तै बेकार नहुने एनभिडियाको तर्कलाई केही बल दिएको छ ।
यद्यपि, बजारमा एआई डेटा सेन्टरको संख्या तीव्र गतिमा बढिरहेको छ । चिपको आपूर्ति आवश्यकता भन्दा धेरै भयो, नयाँ तथा कम खर्चिला विकल्प आए वा एआई सेवाबाट अपेक्षित आम्दानी नआएमा जीपीयु भाडाको दर घट्न सक्छ । चिनियाँ ओपन सोर्स एआई मोडेलले कम कम्प्युटिङ शक्तिमा पनि प्रतिस्पर्धी नतिजा दिन थालेको विषय पनि एनभिडियाका लागि चुनौतीका रूपमा हेरिएको छ ।
त्यसैले चीप धितो राख्ने योजना एनभिडियाका लागि बिक्री विस्तार गर्ने प्रभावकारी माध्यम बन्न सक्ने विश्लेषण गरिएको छ । जीपीयु धितोमा आधारित ऋणको बजार बलियो भए नयाँ ‘निओ क्लाउड’ कम्पनीले एनभिडियाका चिप खरिद गर्न वित्तीय सहयोग सहजै पाउन सक्छन् । कोर वेभ, क्रुसोइ, ल्याब्दा जस्ता कम्प्युटिङ क्षमता भाडामा दिने कम्पनीका लागि यस्तो मोडेल लाभदायक हुन सक्छ । यस्तो भएमा, एनभिडियाका चिपको पुनःबिक्री बजार तुलनात्मक रूपमा बलियो हुने विश्वासले प्रतिस्पर्धी चिपभन्दा एनभिडियाको जीपीयु किन्न सजिलो हुने सम्भावना पनि देखिन्छ ।
एनभिडियाले आफ्ना ग्राहक कम्पनीमा लगानी गर्ने, उनीहरूबाटै चिप बिक्रीको माग बढ्ने र ती कम्पनीलाई क्षमता भाडामा लिन सम्झौता गर्ने अभ्यासका कारण ‘सर्कुलर फाइनान्सिङ’को आलोचना पनि खेप्दै आएको छ । नयाँ योजनामा बाह्य बैंक र निजी ऋणदाताको रकम प्रयोग हुने भएकाले कम्पनीमाथिको प्रत्यक्ष वित्तीय भार कम देखिन सक्छ । तर जोखिम अन्ततः ऋणपत्र किन्ने लगानीकर्ता, बीमा कम्पनी वा अन्य वित्तीय संस्थामा सर्न सक्ने विश्लेषण गरिएको छ ।
यसरी अहिलेको लागि एनभिडियाको प्रस्ताव एआई पूर्वाधार विस्तारका लागि ठूलो वित्तीय प्रयोगजस्तो देखिन्छ । यसले एआई चिपलाई प्रविधि उत्पादनबाट नियमित आम्दानी दिने वित्तीय सम्पत्तिमा बदल्न खोजेको छ । तर चिपको वास्तविक आयु, एआईको दीर्घकालीन माग, क्लाउड कम्पनीको नाफा र ऋणको जोखिम कसले बहन गर्छ भन्ने प्रश्नको जवाफ नआएसम्म यो मोडेलको सफलता निश्चित मान्न सकिने अवस्था नरहेको विश्लेषण विभिन्न प्रविधि सम्बन्धित सञ्चारमाध्यमले लेखिरहेका छन् ।
प्रतिक्रिया 4