+
+
Shares

बञ्चरेडाँडा ‘ल्याण्डफिल साइट’ बारे सञ्चारमन्त्री तिमिल्सिना र सुनिता डंगोलबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. विक्रम तिमिल्सिना र सुनिता डंगोलले बञ्चरेडाँडा फोहोर व्यवस्थापनका समस्या, स्थानीयका गुनासा र समाधानबारे छलफल गरे।
  • तिमिल्सिनाले बञ्चरेडाँडा पुग्ने सडक स्तरोन्नति र कालोपत्रका लागि संघीय सरकार र महानगरले बजेट छुट्याउनुपर्ने बताए।
  • डंगोलले बञ्चरेडाँडाको आर्थिक दायित्व काठमाडौँ महानगरले मात्र व्यहोर्दै आएको र अन्य पालिकाको सहभागिता आवश्यक रहेको बताइन्।

४ भदौ, काठमाडौं । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनमा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामबारे काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग छलफल गरेका छन् ।

सञ्चार मन्त्रालयमा भएको छलफलमा डा. तिमिल्सिनाले बञ्चरेडाँडा ल्याण्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्र गर्न संघीय सरकार र काठमाडौँ महानगरपालिकाले आवश्यक बजेट छुट्याएर काम अघि बढाउनुपर्ने बताएका छन् ।

बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासीले ल्याण्डफिल साइटसम्म पुग्ने सडक जीर्ण रहेको, फोहोरबाट दुर्गन्ध फैलिएको, फोहोर बोकेका सवारीसाधन नछोपी सञ्चालन हुने गरेको, बाटोमै फोहोर खसालिने तथा फोहोर विसर्जनपछि सवारीसाधन नधोई उपत्यका फर्काउने गरेको गुनासो गर्दै आएका छन् ।

त्यस्तै, फोहोर विसर्जनपछि पर्याप्त मात्रामा माटोले छोप्ने (क्यापिङ) काममा समेत लापरवाही भइरहेको स्थानीयको गुनासो छ । आफू निर्वाचित क्षेत्रबाट निकै धेरै गुनासो आएपछि सञ्चारमन्त्री डा तिमिल्सिनाले महानगर प्रमुखसँग छलफल गरेका हुन् ।

‘कतिपय क्षेत्रमा सडक कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको गुनासो निकै धेरै आएको छ । फोहोर व्यवस्थापन स्थलसम्म पुग्ने बाटो वरपरका स्थानीय वास्तवमै पीडित छन् । त्यहाँ दुर्गन्ध फैलिएको छ र विभिन्न रोगको संक्रमण बढेको गुनासो पनि आएको छ,‘ उनले भने ।

उनले बञ्चरेडाँडाका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । फोहोर विसर्जनपछि समयमा माटोले नछोप्दा दुर्गन्ध फैलिने भएकाले क्यापिङको कामलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

छलफलमा कार्यवाहक प्रमुख डंगोलले बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकासहित उपत्यकाका अन्य स्थानीय तहबाट समेत फोहोर जाने भए पनि फोहोर व्यवस्थापनको आर्थिक दायित्व भने काठमाडौँ महानगरपालिकाले मात्र व्यहोर्दै आएको बताइन् ।

‘फोहोर व्यवस्थापनका लागि लाग्ने खर्च सबै पालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । तर, अहिलेसम्मको अधिकांश खर्च काठमाडौँ महानगरपालिकाले मात्रै व्यहोर्दै आएको छ । अन्य पालिकाले पनि आर्थिक योगदान गर्ने हो भने स्थानीयका समस्या समाधान गर्न थप सहज हुन्छ,‘ उनले भने ।

डंगोलले फोहोर संकलनस्थल तथा कुहिने र नकुहिने फोहोर छुट्याउने केन्द्रका लागि आवश्यक जग्गा प्राप्त गर्न नसकिएको बताइन् । महानगरपालिकाले विकेन्द्रित फोहोरमैला व्यवस्थापनको अवधारणाअनुसार महानगरलाई सातवटा फोहोर क्लस्टरमा विभाजन गरी सुक्खा फोहोर पुनःप्रयोग तथा रिसाइकल गर्ने योजना अघि सारेको भए पनि आवश्यक जग्गा प्राप्ति तथा अन्य प्रक्रिया पूरा हुन नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको जानकारी उनले दिइन् ।

बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकाबाहेक अन्य २० वटा पालिकाबाट समेत फोहोर ल्याइने भए पनि ती स्थानीय तहलाई फोहोर व्यवस्थापनको जिम्मेवारीमा सहभागी गराउन सकिएको छैन । हाल बञ्चरेडाँडा ल्याण्डफिल साइटको सञ्चालन, व्यवस्थापन तथा आर्थिक भार मुख्यतः काठमाडौँ महानगरपालिकाले व्यहोर्दै आएको छ ।

फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्न ल्याण्डफिल साइटमा पुग्ने फोहोरको मात्रा घटाउने, स्रोतमै फोहोर वर्गीकरण गर्ने, संकलन तथा ढुवानी प्रणाली व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो ।

नेपाल सरकारले एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण गरेको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा २०७९ जेठ १० गतेदेखि फोहोर विसर्जन सुरु गरिएको हो । यो ल्याण्डफिल साइट नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?