+
+
Shares

रवि दाहिना हुँदा पुरुषोत्तमको राजनीतिक फड्को

जेनजी आन्दोलनबाट उदाएका पुरुषोत्तम यादव समानुपातिक सांसद हुँदै रास्वपा पदाधिकारीमा पुगेका छन् । सभापति रवि लामिछानेले मधेसको राजनीतिमा स्थापित गर्ने गरी यादवलाई सहमहामन्त्रीमा मनोनीत गरेको पार्टी नेताहरु बताउँछन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ भदौ ५ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाएको छ, र उनले मधेसको संगठन तथा सभापति छनोटमा भूमिका खेल्ने भएका छन्।
  • समानुपातिक सूचीमा पुरुषोत्तम यादवलाई पहिलो स्थानमा सारिएकाले उनी सांसद बन्ने बाटो खुलेको थियो, जबकि तेस्रो स्थानमा रहेका डा. नन्दन यादव सांसद बन्न पाएनन्।
  • पुरुषोत्तम यादव मधेसमा पार्टी प्रवेश र संगठन विस्तारमा सक्रिय छन्, र सभापति लामिछानेले उनलाई मधेसका लागि विश्वासपात्रका रूपमा अघि सारेको नेताहरूको विश्लेषण छ।

५ भदौ, काठमाडौं । रास्वपाले प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको नाम निर्वाचन आयोगमा बुझाउँदा मधेस क्लष्टरमा पुरुषतर्फ पहिलो सूचीमा थिए- डा. नन्दन यादव ।

सोही क्लष्टरमा दोस्रोमा खगेन्द्र कर्ण थिए भने पुरुषोत्तम यादवको नाम तेस्रो स्थानमा थियो । समानुपातिकतर्फको अन्तिम सूची निर्वाचन आयोगबाट बाहिर ल्याउँदा मधेसी क्लष्टरमा पुरुष तर्फका नामहरूको सूची तलमाथि गरिएको थियो ।

एक नम्बरमा रहेका डा. नन्दन यादव तेस्रो स्थानमा पुगे । मधेसी पुरुष क्लष्टरमा तेस्रो स्थानमा रहेका पुरुषोत्तम पहिलो नम्बरको सूचीमा पुगे ।

सूचीमा रहेका नामहरू तलमाथि गर्दा दोस्रो स्थानमा रहेका कर्ण पनि सोही स्थानमा रहे । तेस्रो स्थानमा भएको व्यक्ति समानुपातिक उम्मेदवार हुन नसक्ने विश्लेषणसहित पुरुषोत्तमलाई पहिलो स्थानमा पुर्‍याइएको थियो ।

पुरुषोत्तमलाई पहिलो स्थानमा ल्याउनका लागि तत्कालीन समयमा भएका आन्तरिक छलफलबारे रास्वपाका एक नेता भन्छन्, ‘पहिलो नम्बरमा नराखिए सांसद हुन नसक्ने पुरुषोत्तमलाई डर थियो । पहिलो नम्बरमा राख्न बल लगाए । सभापतिले पुरुषोत्तमलाई ल्याउन सहजै स्विकार्नुभयो ।’

यदि पुरुषोत्तमलाई मधेसी पुरुषतर्फ तेस्रो स्थानमै कायम राखिएको भए उनी सांसद हुन नपाउने रहेछन् । किनभने तेस्रो स्थानमा रहेका नन्दन सांसद बन्न पाएनन् । उक्त क्लष्टरमा रहेका पहिलो र दोस्रो स्थानका सांसद बने ।

रास्वपा नेताहरुका अनुसार पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यमा उठ्ने मनस्थितिमा पुरुषोत्तम थिए । मधेसका एक सांसद भन्छन्, ‘मनोनीत केन्द्रीय सदस्य वा मधेसको सभापति बनाउने सभापतिको वचन पाएर होला । केन्द्रीय सदस्यमा लडेनन् ।’

ती सांसदले गरेको विश्लेषणभन्दा पनि माथि हुने गरी पुरुषोत्तमले जिम्मेवारी पाएका छन् । शुक्रबार सभापति लामिछानेले यादवलाई सहमहामन्त्री पदमा पुर्‍याए ।

ती सांसद थप्छन्, ‘केन्द्रीय सदस्य मनोनीत गर्लान् कि भन्ने थियो । हामीलाई नै अचम्मित बनाउने गरी सहमहामन्त्री बनाए ।’ यसरी महाधिवेशनबाट आएको समितिमा मधेसबाट पदाधिकारी पुग्ने पहिलो व्यक्ति पुरुषोत्तम बने ।

पुरुषोत्तम जेनजी आन्दोलनका सुरुवातकर्ता मध्येका एक हुन् । जेनजी आन्दोलनमा मधेसकै अन्य अगुवाहरू पनि रास्वपा छन् ।

सांसदद्वय बब्लु गुप्ता, शिव यादव जेनजी आन्दोलनका अगुवा एवं रास्वपा सांसद हुन् । उनीहरूलाई पनि पछि पार्दै पुरुषोत्तम पार्टी पदाधिकारी बने ।

सभापति लामिछानेले पुरुषोत्तमलाई दिएको प्राथमिकताबारे सोधिएको प्रश्नमा मधेसका एक सांसद भन्छन्,‘अहिले सभापतिका लागि मधेसको खास व्यक्ति पुरुषोत्तम हो । सभापतिसँग मधेसका सांसदहरूसँग भेटघाटमा समन्वय गर्न पनि पुरुषोत्तम अघि सरेका हुन्छन् ।’

आज रास्वपाले बैठक राख्दैगर्दा पुरुषोत्तम जनकपुरमा एक कार्यक्रम राखेर मधेसका विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउन गइसकेका थिए ।

मधेसका नेताहरुका अनुसार सभापति लामिछाने मधेसका लागि आफ्नो विश्वासपात्रको खोजीमा थिए । सभापतिसँग पुरुषोत्तम नजिकिएसँगै मधेसमा उनलाई नै अघि सार्ने गरी तयारी भइरहेको विश्लेषण नेताहरूले गरेका छन् ।

रास्वपामा मधेसको राजनीति पूर्व प्रवक्ता मनिष झाको पकडमा रहने समय समयमा विश्लेषण हुँदै आएको थियो । यसअघिको प्रतिनिधिसभामा मनिष नै मधेसका नेता भनी चित्रित भइरहेका थिए ।

गत महाधिवेशनमा झा महामन्त्रीमा पराजित भएपछि उनको उपल्लो यात्रामा ठेस लाग्यो । मधेसमा दशकौं मूलधारको राजनीति गरेका अमरेशकुमार सिंह केन्द्रीय सदस्य समेत बनेका छैनन् ।

चुनावको टिकट वितरणको बेला रास्वपा प्रवेश गरेका सिंह महाधिवेशन समेत गएनन् । पदीय भूमिकाले पुरुषोत्तम यादव अहिले मनिष झाभन्दा पनि माथि पुगेका छन् ।

युवा र उर्जा भएको व्यक्ति भएर सभापतिले पुरुषोत्तमलाई रोजेको विश्लेषण केन्द्रीय सदस्य कामिनी चौधरी गर्छिन् ।

मधेसको संगठन विभागको पूर्व प्रमुख समेत रहेकी चौधरीले भनिन्,‘उर्जा भएको युवा हुनुभयो । काममा पनि खट्नु भएको छ । सभापतिले त्यही भएर रोज्नुभयो होला ।’

मधेसमा पुरुषोत्तमलाई अघि बढाउनुको उद्देश्य मधेसका सभापति तपेश्वर यादवलाई पाखा लगाउनका लागि भएको अर्को विश्लेषण पनि रास्वपाभित्र छ ।

तपेश्वर यादव हाल मधेस सभापति एवं सांसद छन् । तपेश्वरले मधेसमा संगठन भताभुंग गराएको आरोप लगाउँदै रास्वपाका एक नेता भन्छन्,‘तपेश्वरबाट अब मधेसको संगठन चल्दैन भन्नेमा सभापति ढुक्क हुनुहुन्छ । त्यहाँको संगठनलाई अब पुरुषोत्तम मार्फत सभापतिले अघि बढाउनु हुन्छ ।’ पुरुषोत्तम र तपेश्वर एउटै क्षेत्र सिरहा–४ का बासिन्दा हुन् ।

मधेसमा दलित समुदायपछि जनसंख्याको आधारमा दोस्रो स्थानमा यादव समुदाय छ । २०७८ को जनसंख्या अनुसार कूल यादव समुदायको कूल संख्या १२ लाख २८ हजार ५८१ छ । यसमध्ये ठूलो हिस्सा मधेसका जिल्लामा बसोबास गर्दछन् । मधेसको राजनीतिमा प्रभावी हुँदै आएको यादव समुदायबाट सहमहामन्त्री बनाउनुलाई पनि नेताहरूले अर्थपूर्ण रुपमा हेरेका छन् ।

सभापतिले सहमहामन्त्री बनाउने संकेत पाएपछि मधेसको राजनीतिमा पुरुषोत्तम थप सक्रिय भइसकेका छन् । मधेस प्रदेश र जिल्लाहरूको सभापति कसलाई बनाउने गरी उनले आन्तरिक छलफल सुरु गरिसकेका छन् ।

मधेस प्रदेश समितिको लागि अधिवेशन हुन सकेको छैन । पर्सा बाहेक अन्य जिल्लामा नयाँ कार्यसमिति चयन भएको छैन । पालिका र वडा तहमा कतिपय स्थानमा विवाद कारणले अधिवेशन हुन सकेको छैन ।

मधेसको अधिवेशनको वातावरण बनाउन सभापति लामिछाने स्वयंले ती जिल्लाहरूको भ्रमण गर्ने भएका छन् । सहमहामन्त्रीको भूमिका प्राप्त गरेका पुरुषोत्तमले अब स्वभाविक रुपमा सभापति लामिछानेसँग मधेसका जिल्लामा भ्रमण गर्ने परिस्थिति बन्नेछ ।

रास्वपाका एक नेताका अनुसार पुरुषोत्तमले मधेसको सभापतिमा रामविनोद यादवलाई अघि सार्न खोजेका छन् । पुरुषोत्तमले मधेस सभापति बनाउन खोजेका यादव धनुषा–२ का बासिन्दा हुन् ।

रास्वपामा प्रवेश गरेको आठ महिनामै राजनीतिक फड्को मार्न सफल पुरुषोत्तमले इन्जिनियरिङ पढेका छन् । आम सञ्चार र पत्रकारितामा स्नातक गरेका पुरुषोत्तमले एमबीए भारतबाट गरेका हुन् ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?