६ भदौ, टोकियो । जापानको चिबा स्थित फुनाबाशी केइबाजोमा दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ जापान, चिबा क्षेत्रीय परिषदको आयोजना आगामी सेप्टेम्बर १९ र २० मा फेस्टिवल हुन लागेको हो ।
जापानमा हुर्किरहेका दोस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपाली पहिचान, संस्कृति, रीतिरिवाजसँग परिचित गराउनु फेस्टिवलको मुख्य उद्देश्य रहेको एनआरएनए चिबाका संयोजक राजनबाबु सुबेदीले जानकारी दिए । सुबेदीले भने, ‘हामीले फेस्टिवलको नाम नै सांस्कृतिक राखेका छौँ, जापानमा हुर्किरहेको दोस्रो पुस्तालाई नेपाली संस्कृति बुझन सहज होस् भन्ने हाम्रो उद्देश्य हो । साथै जापानी समुदायलाई हाम्रो संस्कृति परिचित गराउनु पनि हाम्रो लक्ष्य रहेको छ ।’
फेस्टिवलमा नेपाली साथै जापानी जातीय नृत्य तथा संस्कृतिक कार्यक्रम रहने जनाइएको छ । फेस्टिवलको मुख्य आकर्षणमा जापानी ‘हिमावारी समुह’को संस्कृतिक प्रस्तुति, मिनी चिडियाखाना रहेको आयोजकले जनाएको छ ।
फेस्टिवल परिसरमा नेपाल चिनाउने बौद्ध स्तूप र परम्परागत ढुंगेधारा निर्माण गरिनेछ । फेस्टिवलमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने आयोजकको अपेक्षा छ । संयोजक सुबेदी भन्छन्, ‘फेस्टिवलमा नेपालका ट्राभल एजेन्सीले जापानी भाषामा तयार पारिएका नेपालको पर्यटन सम्बन्धी प्रचार सामग्री तथा पर्चा वितरण गर्नेछन् । साथै, चिबाबाट नेपालमा उपलब्ध प्रत्यक्ष हवाई उडानबारे जानकारी दिदैँ जापानी नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गरिनेछ ।’
फेस्टिवलको अनुमानित खर्च १ करोड येन बराबर रहेको छ । फेस्टिवलमा गैरआवासीय नेपाली संस्था, व्यवसायिक प्रतिष्ठान, रेमिट्यान्स कम्पनी लगायतका २० वटा स्टल रहने छन् । जसमा आयोजकले विभिन्न जातका नेपाली पोशाक तथा बाजागाजाको प्रदर्शनीसमेत गर्नेछ ।
प्रतिक्रिया 4