+
+
Shares

स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
२०८३ भदौ ६ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाबाट जिल्लामै पहिलोपटक औपचारिक करदाता सेवा सञ्चालनमा आएको छ ।
  • गाउँपालिकाबाट व्यक्तिगत र व्यावसायिक प्यान जारी, संशोधन, रूपान्तरण तथा भ्याट दर्ता, रूपान्तरण र खारेजीका सेवा उपलब्ध हुनेछन् ।
  • सेवा पालिकामै सुरु भएपछि स्थानीय नागरिक र व्यवसायीको समय र आर्थिक खर्च बचत हुने अपेक्षा गरिएको छ ।

६ भदौ, स्याङ्जा । स्याङ्जा जिल्लामै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकाबाट औपचारिक रूपमा करदाता सेवा सञ्चालनमा आएको छ ।

गाउँपालिकामै सेवा उपलब्ध हुन थालेपछि अब स्थानीय नागरिक र व्यवसायीले प्यानदेखि भ्याटसम्बन्धी विभिन्न कामका लागि अन्यत्र धाउनुपर्ने अवस्था कम हुने भएको छ ।

करदाता सेवा सञ्चालनका लागि आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत शिवप्रसाद ढुङ्गाना र अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सरकारले करदाता सेवा कार्यालयको संरचना हटाएपछि स्याङ्जाका ११ स्थानीय तहमध्ये अर्जुनचौपारी गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय पोखरासँग सम्झौता गरी जिल्लामै पहिलोपटक यस्तो सेवा सुरु गरेको हो ।

यसअघि करदाता सेवा कार्यालय स्याङ्जाबाट उपलब्ध हुँदै आएका केही सेवा अब गाउँपालिकाबाटै प्राप्त गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।

उनका अनुसार गाउँपालिकाबाट व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने, प्यान संशोधन गर्ने तथा रूपान्तरणलगायतका सेवा उपलब्ध हुनेछन् ।

त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता, रूपान्तरण र खारेजीका साथै कर चुक्ता प्रमाणपत्रसँग सम्बन्धित सेवासमेत आन्तरिक राजस्व कार्यालय पोखराको समन्वयमा गाउँपालिकाबाटै उपलब्ध गराइनेछ ।

अर्यालका अनुसार करसम्बन्धी अधिकांश काम अब स्थानीय तहमै हुनेछन् । गाउँपालिकाबाट समाधान हुन नसक्ने प्राविधिक वा अन्य विषयमा भने आन्तरिक राजस्व कार्यालय पोखरासँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

पालिकामै करदाता सेवा सुरु भएपछि करको दायरामा आउने व्यक्ति तथा व्यवसायीको समय र आर्थिक खर्च बचत हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?