+
+
Shares

ग्याँसको कृत्रिम अभाव रोक्न स्याङ्जामा प्रशासनको छड्के अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १२:४८

२४ साउन, स्याङ्जा । बजारमा खाना पकाउने एलपी ग्याँसको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले ग्याँस डिलर र सप्लायर्समाथि अनुगमन सुरु गरेको छ ।

उपभोक्ताबाट बजारमा एलपी ग्याँस सहज रूपमा नपाइएको गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको नेतृत्वमा संयुक्त अनुगमन टोली परिचालन गरिएको हो ।

टोलीले दुई दिनअघिदेखि जिल्लाका विभिन्न स्थानमा ग्यासको आपूर्ति, मौज्दात र वितरण अवस्थाबारे छड्के अनुगमन गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, एकीकृत कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित टोलीले चापाकोट, वालिङ, भीरकोट र पुतलीबजार नगरपालिकामा रहेका ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा एलपी ग्यास आपूर्ति भइरहेको पाइएको प्रशासनले जनाएको छ । यद्यपि ग्यासको वितरण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने आवश्यकता देखिएको अनुगमन टोलीको निष्कर्ष छ ।

टोलीले डिलर तथा सप्लायर्ससँग रहेको ग्यासको मौज्दात, उद्योगबाट भएको आपूर्ति र उपभोक्तासम्म पुर्‍याइएको वितरणसम्बन्धी अभिलेखसमेत जाँच गरेको थियो । अनुगमनपछि सबै व्यवसायीलाई ग्यासको आयात, मौज्दात र वितरणको स्पष्ट विवरण राख्न निर्देशन दिइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने कुनै पनि गतिविधि सह्य नहुने बताए । उद्योगबाट नियमित रूपमा आएको ग्यास अनावश्यक रूपमा थुपार्ने, वितरणमा विभेद गर्ने वा आपूर्ति हुँदाहुँदै अभाव देखाउने काम भेटिए प्रचलित कानुनअनुसार कारबाही गरिने उनले चेतावनी दिए ।

उनले उपभोक्ताको हित संरक्षण प्रशासनको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै बजार अनुगमनलाई निरन्तरता दिइने बताए । ग्यास वितरणमा समस्या, अनियमितता वा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास देखिए तत्काल जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन उनले उपभोक्तासँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?