+
+
Shares

९ दिनपछि सञ्चालनमा आयो भेरी करिडोरको सडक, जोखिम कायमै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते ७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको नलगाड नगरपालिका-१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोरअन्तर्गतको सडक नौ दिनपछि सञ्चालनमा आएको छ।
  • बाढीले सडकसँगै पुल, चारवटा घर र रोली ज्यूलाको नहरमा क्षति पुर्‍याएको थियो, जसले जाजरकोट-डोल्पा यातायात र सिँचाइ प्रभावित बनाएको थियो।
  • नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक योजनाले मर्मत गरेपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाडलगायत क्षेत्रमा सवारीसाधन सञ्चालनमा आएका छन्।

७ भदौ, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका-१० र ११ को सीमाक्षेत्र ताक्सुगाडमा बाढीले बगाएको भेरी करिडोरअन्तर्गतको सडक नौ दिनपछि सञ्चालनमा आएको छ।

बाढीले सडकसँगै पुल तथा चारवटा घर बगाएपछि अवरुद्ध भएको जाजरकोट-डोल्पा सडकखण्ड नगरपालिकाको समन्वयमा भेरी करिडोर सडक योजनाले मर्मत तथा निर्माण गरेपछि यातायात सञ्चालनमा आएको हो।

ताक्सुगाडमा आएको बाढीले सडक ,पुल तथा घर बगाएको थियो । बाढीले सडक संरचनामा क्षति पुर्‍याउनुका साथै पुलसमेत बगाएपछि जाजरकोटबाट डोल्पातर्फ जाने यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको थियो। सडक अवरुद्ध भएपछि स्थानीय बासिन्दा, यात्रु तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए।

नलगाड नगरपालिकाको समन्वयमा भेरी करिडोरले तत्काल सडक मर्मतको काम अघि बढाएर यातायात सञ्चालन गर्न मिल्ने बनाएको हो। सडक खुलेसँगै जाजरकोटबाट डोल्पाको त्रिपुराकोट, छलगाडलगायतका क्षेत्रमा जाने सवारीसाधन सञ्चालनमा आएका छन्।

लामो समयदेखि सडक अवरुद्ध हुँदा समस्यामा परेका यात्रु तथा स्थानीयलाई सडक खुलेपछि केही राहत मिलेको नलगाड १२ का तेजबहादुर विकले बताए ।

बाढीका कारण ताक्सुगाडमा सडक र पुलमा मात्रै क्षति पुगेको छैन। रोली ज्यूलामा ल्याइएको नहरमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ । नहर क्षतिग्रस्त भएपछि स्थानीयको सिँचाइ सुविधामा समेत असर परेको छ।

नहर पुनर्निर्माणका लागि नगरपालिकाले लागत अनुमान तयार गरी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमार्फत निर्माण गर्ने तयारी गरेको नगरप्रमुख डम्बर रावतले जानकारी दिए।

उनका अनुसार बाढीका कारण क्षतिग्रस्त भएका संरचनाको तत्काल मर्मतसँगै दीर्घकालीन रूपमा सुरक्षित संरचना निर्माण गर्न आवश्यक रहेको छ। वर्षायाममा पानीको बहाव बढ्दा सडक तथा नहरमा पटक-पटक क्षति हुने भएकाले आगामी दिनमा बाढीको जोखिमलाई ध्यानमा राखेर संरचना निर्माण गर्नुपर्ने नगरपालिकाको भनाइ छ।

फेरि सडक अवरुद्ध हुने जोखिम

ताक्सुगाडमा सडक खुले पनि यातायात पूर्ण रूपमा सुरक्षित भएको अवस्था भने छैन। ताक्सुगाड खोलामा पानीको मात्रा बढेपछि सडक पुन: अवरुद्ध हुने क्रम उस्तै रहेको स्थानीयले बताएका छन्। वर्षा निरन्तर भइरहेकाले माथिल्लो क्षेत्रमा पानी पर्दा एक्कासि खोलामा पानीको बहाव बढ्ने गरेको छ।

भेरी करिडोरअन्तर्गत पर्ने विभिन्न खोलामा पानीको बहाव बढ्दा वर्षायाममा सडक सञ्चालनमा समस्या हुँदै आएको छ। सडक निर्माण गरे पनि खोलामा स्थायी पुल तथा कल्भर्ट निर्माण नहुँदा सवारीसाधनलाई जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था छ। अहिले ताक्सुगाडमा सडक सञ्चालनमा आए पनि ठूलो वर्षा भएमा पुन: सडक अवरुद्ध हुन सक्ने जोखिम कायमै रहेको छ।

स्थानीयका अनुसार सडक अवरुद्ध हुँदा डोल्पाका विभिन्न क्षेत्रमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, औषधि तथा अन्य आवश्यक सामग्रीको ढुवानी प्रभावित भइरहेको छ । सडक खुलेपछि यी सामग्रीको ढुवानी सहज हुने अपेक्षा गरिएको छ।

छलगाडमा पुल नहुँदा डोल्पाको यातायात अझै जोखिममा

भेरी करिडोरले जाजरकोटलाई डोल्पासँग जोडेको भए पनि सडकखण्डका केही स्थानमा पुल निर्माण नहुँदा वर्षायाममा नियमित यातायात सञ्चालनमा समस्या हुँदै आएको छ। भेरी करिडोरमा रहेका खोलाहरूमा पानीको बहाव कम भएको समयमा जाजरकोटबाट डोल्पाको त्रिपुराकोट हुँदै छलगाडसम्म सवारीसाधन सञ्चालन हुने गरेका छन्।

तर, छलगाडमा आवश्यक पुल निर्माण नहुँदा वर्षायाममा डोल्पाको सदरमुकाम दुनैसम्म नियमित रूपमा यातायात सञ्चालन गर्न कठिन हुने गरेको छ । खोलामा पानीको बहाव बढेपछि सवारीसाधन रोकिने र यात्रुले पैदल हिँडेर जोखिमपूर्ण रूपमा खोला पार गर्नुपर्ने अवस्था समेत आउने गरेको छ।

भेरी करिडोरमा डोल्पाका नागरिकका लागि प्रदेश राजधानी सुर्खेत र अन्य जिल्लासँग जोडिने महत्वपूर्ण सडकका रूपमा रहेको छ। सडकमा समस्या आउँदा डोल्पाका अधिकांश क्षेत्रमा दैनिक जीवन प्रभावित हुने गरेको छ। त्यसैले ताक्सुगाडसहित भेरी करिडोरमा रहेका जोखिमयुक्त स्थानमा स्थायी संरचना निर्माण गर्नुपर्ने माग स्थानीयले गर्दै आएको छ ।

यस खण्डमा ५ वटा पुल क्याराभान हिराचन जेभिले २०७७ माघ २ गते जाजरकोटको नलगाड र झुर्मेखोलाको पक्की पुलको ठेक्का १८ करोड ४३ लाख ४३ हजारमा लिएको थियो । त्यस्तै सोही कम्पनीले त्रात्रखोला, मैदेखोला र ताक्सुगाड चौखाको ठेक्का लिएको थियो । यो ठेक्का १३ करोड ५४ लाख बराबरको हो । यी पुल भेरी कोरिडोरका महत्वपूर्ण संरचना हुन् । तर हाल सम्मा काम हुन सकेको छैन ।

११८ किलोमिटर सडकले जोड्दै जाजरकोट-डोल्पा

जाजरकोटदेखि डोल्पासम्मको भेरी करिडोर सडकको लम्बाइ करिब ११८ किलोमिटर रहेको छ। यस सडकले जाजरकोटसँगै डोल्पाका विभिन्न स्थानीय तहलाई सडक सञ्जालमा जोड्ने काम गरेको छ। सडक निर्माण र स्तरोन्नतिसँगै डोल्पाका नागरिकलाई यातायातको पहुँचमा सहजता भए पनि बाढीपहिरो र पुल अभावका कारण नियमित यातायात अझै चुनौतीपूर्ण छ।

वर्षायाममा सडकमा पर्ने खोलाहरूमा पानीको बहाव बढ्दा यातायात बन्द हुने र हिउँदमा सडक सञ्चालन सहज हुने गरेको छ। सडक अवरुद्ध हुँदा डोल्पामा खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य आवश्यक सामग्री ढुवानीमा समेत असर पर्ने गरेको छ।

ताक्सुगाडको सडक नौ दिनपछि खुलेसँगै जाजरकोट-डोल्पा सडकखण्डमा यातायात सेवा पुन: सञ्चालन भएको छ। तर, बाढीले क्षति पुर्‍याएका पुल, नहर र सडक संरचनाको स्थायी समाधान नगरेसम्म वर्षायाममा यातायात अवरोध दोहोरिने जोखिम कायमै रहने देखिएको छ।

स्थानीय तह, प्रदेश सरकार र भेरी करिडोरले दीर्घकालीन योजना बनाएर जोखिमयुक्त स्थानमा स्थायी पुल तथा सडक संरचना निर्माण गर्नुपर्ने स्थानीयको माग छ।

तस्वीरहरु : हेमन्त केसी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?