News Summary
Generated by OK AI. Editorially reviewed.- डोल्पाको जगदुल्ला गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा याक चिज उत्पादन गर्ने सम्झौता शनिबार जगदुल्ला गाउँपालिका र डीडीसीबीच भयो।
- सम्झौताअनुसार डीडीसीले तालिम र प्राविधिक सहयोग दिनेछ भने गाउँपालिकाले उत्पादन गर्ने चिज डीडीसीले खरिद गर्नेछ।
- डीडीसीका महाप्रबन्धक शरणकुमार पाण्डेले यहाँबाट वार्षिक करिब ३० टन याक चिज उत्पादन गर्न सकिने सम्भावना रहेको बताए।
७ भदौ, डोल्पा । कर्णाली प्रदेश अन्तर्गत डोल्पाको जगदुल्ला गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा याक चिज उत्पादन हुने भएको छ ।
यसका लागि शनिबार जगदुल्ला गाउँपालिका र दुग्ध विकास संस्थान (डीडीसी) बीच चिज उद्योग सञ्चालन तथा उत्पादनसम्बन्धी सम्झौता भएको छ।
जगदुल्ला गाउँपालिका-४ मा रहेको भालु व्यावसायिक चौरी फर्ममा चिज उद्योग सञ्चालनका लागि भएको सम्झौताअनुसार डिडीसीले याक चिज उत्पादनसम्बन्धी तालिम तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ।
प्राविधिक सहयोगपछि नियमित रूपमा चिज उत्पादन गर्ने जिम्मेवारी गाउँपालिकाको हुनेछ भने गाउँपालिकाले उत्पादन गरेको चिज डीडीसीले खरिद गर्नेछ।
सम्झौतापत्रमा डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे र जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि डीडीसीले काठमाडौंबाट प्राविधिक टोली पठाएर उद्योग सञ्चालनको काम तत्काल अघि बढाउने जनाएको छ ।
डीडीसीका महाप्रबन्धक पाण्डेका अनुसार यहाँबाट वार्षिक करिब ३० टनसम्म याक चिज उत्पादन गर्न सकिने सम्भावना छ।
समुद्री सतहबाट करिब चार हजार मिटरभन्दा बढी उचाइमा रहेको यो उद्योग क्षेत्र याक तथा चौरीपालनका लागि उपयुक्त मानिन्छ। डोल्पा देशमै धेरै चौरीपालन हुने जिल्लामध्ये एक हो।
स्थानीयका अनुसार डोल्पाका चौरी तथा याकले यार्सागुम्बालगायत विभिन्न हिमाली वनस्पति चरन गर्ने भएकाले यहाँ उत्पादन हुने चिजको स्वाद र गुणस्तरमा समेत छुट्टै विशेषता रहने अपेक्षा गरिएको छ।
कर्णालीमा पहिलोपटक व्यावसायिक याक चिज उत्पादन सुरु हुनुले चौरीपालनलाई व्यवसायसँग जोड्नुका साथै स्थानीय उत्पादनको बजारीकरण र किसानको आम्दानी बढाउनसमेत सहयोग पुग्ने छ ।
प्रतिक्रिया 4