News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका र क्यानडाबीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलरका सामानमा ५० प्रतिशत ट्यारिफ लगाएको छ।
- क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले लगाएको ट्यारिफको ‘डलर–फर–डलर’ जवाफ दिने र सेप्टेम्बर ८ देखि जवाफी कर लगाउने घोषणा गरेका छन्।
- कार्नीले अमेरिकाले वार्तामा ‘धेरै माग गरेको र बदलामा निकै कम प्रस्ताव गरेको’ भन्दै दुई देशबीच ‘व्यापार युद्धको अवस्था’ बनेको बताएका छन्।
७ भदौ, काठमाडौं । अमेरिका र क्यानडाबीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएको छ । यससँगै दुई छिमेकी मुलुकबीचको व्यापार विवाद थप चर्किएको छ ।
अमेरिकाले शुक्रबार राति भएको वार्ता असफल भएपछि क्यानडाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा ५० प्रतिशत नयाँ ट्यारिफ लागु गरेको थियो ।
यो क्यानडाबाट अमेरिकातर्फ हुने कुल आयातको करिब ५ प्रतिशत हो । त्यसको जवाफमा क्यानडाले सेप्टेम्बर ८ देखि जवाफी कर लगाउने घोषणा गरेको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार देशवासीलाई सम्बोधन गर्दै अमेरिकाले लगाएको ट्यारिफको ‘डलर–फर–डलर’ जवाफ दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री कार्नीले अमेरिकाले क्यानडामाथि लगाएको नयाँ ट्यारिफलाई ‘ठूलो गलत आकलन’ भन्दै यसको उद्देश्य क्यानडालाई आर्थिक रूपमा कमजोर बनाउने र विभाजित गर्ने रहेको आरोप लगाएका छन् ।
उनले दुई देशबीच अहिले ‘व्यापार युद्धको अवस्था’ सिर्जना भएको बताएका छन् । साथै अमेरिकाले वार्तामा ‘धेरै माग गरेको र बदलामा निकै कम प्रस्ताव गरेको’ उनले बताएका छन् ।
स्टिल, इलेक्ट्रोनिक्स, डेरी उत्पादन, घरेलु उपकरणलगायत अमेरिकी सामानमा जवाफी कर लगाइने कार्नीले बताएका छन् ।
क्यानडेली सरकारले अमेरिकी ट्यारिफबाट प्रभावित कामदार तथा व्यवसायलाई सहयोग गर्न थप उपायसमेत घोषणा गर्ने जनाएको छ । यसअघि पछिल्लो १८ महिनामा सरकारले करिब २५ अर्ब क्यानडेली डलर बराबरको सहयोग उपलब्ध गराइसकेको बताएको छ ।
कुन सामानमा अमेरिकाले लगायो ५० प्रतिशत कर ?
नयाँ अमेरिकी ट्यारिफ क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका सामानमा लागू भएको छ । यसअन्तर्गत मदिरा, डेरी उत्पादन, सिमेन्ट, कपडा, हकीका सामग्री, केही इलेक्ट्रोनिक तथा कागजजन्य उत्पादनलगायत छन् ।
तर ऊर्जा, पोटास र माछालगायत केही प्रमुख क्यानडेली निर्यात भने नयाँ ट्यारिफबाट बाहिर राखिएका छन् । यसअघि नै स्टिल, आल्मुनियम, अटोमोबाइल र काठजन्य उत्पादनमा लगाइएका अमेरिकी ट्यारिफ भने यथावत् छन् ।
अन्तिम समयमा बिग्रियो वार्ता
अमेरिका र क्यानडाबीच पछिल्ला केही सातादेखि व्यापारसम्बन्धी गम्भीर वार्ता भइरहेको थियो । अगस्ट १८ मा कार्नीले वार्तामा उल्लेखनीय प्रगति भएको बताएका थिए । त्यसबेला अमेरिकाले ५० प्रतिशत ट्यारिफ लागु गर्ने समयसमेत अगस्ट २१ को अन्त्यसम्मका लागि स्थगित गरेको थियो । तर अन्तिम चरणमा दुवै पक्षबीच सहमति हुन सकेन ।
क्यानडाले अमेरिकामाथि अन्तिम समयमा अनुचित र थप सर्तहरू राखेको आरोप लगाएको छ । अमेरिकाको प्रस्तावमा क्यानडाले अन्य देशसँग नयाँ व्यापार सम्झौता गर्ने क्षमतामा सीमितता र मध्यम तथा भारी ट्रकसम्बन्धी व्यापारमा प्रतिकूल प्रावधानहरू रहेको क्यानडेली पक्षको दाबी छ ।
अमेरिकाले भने क्यानडाले अमेरिकी वस्तुमाथि भेदभाव गरेको दाबी गर्दै नयाँ ट्यारिफको बचाउ गरेको छ ।
अमेरिका–क्यानडा व्यापार सम्बन्धमा ठूलो धक्का
अमेरिका र क्यानडा लामो समयदेखि घनिष्ठ आर्थिक तथा राजनीतिक साझेदार हुन् । डोनाल्ड ट्रम्पको पछिल्लो कार्यकाल सुरु भएयता दुई देशबीच ट्यारिफलाई लिएर लगातार तनाव बढ्दै आएको छ । सन् २०२५ देखि सुरु भएको व्यापार विवादमा स्टिल, आल्मुनियम, अटोमोबाइललगायत विभिन्न क्षेत्रमा अमेरिकाले अतिरिक्त कर लगाएपछि क्यानडाले पनि जवाफी कदम चाल्दै आएको छ ।
नयाँ ५० प्रतिशत ट्यारिफले दुई देशबीचको व्यापार सम्बन्धलाई थप जटिल बनाएको छ । विश्लेषकहरूले यो विवाद लामो समयसम्म कायम रहेमा सीमापार व्यापार, उद्योग र उपभोक्ता मूल्यमा समेत असर पर्न सक्ने बताएका छन् ।
कार्नीले भने अमेरिकासँगको निर्भरता घटाउँदै अन्य देशसँग व्यापारिक सम्बन्ध विस्तार गर्ने बताएका छन् । उनका अनुसार क्यानडाले हालसम्म २० भन्दा बढी नयाँ आर्थिक तथा सुरक्षा साझेदारी अघि बढाइसकेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने व्यापार वार्ता असफल भएपछि कार्नीको पछिल्लो वक्तव्यबारे अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
अमेरिका र क्यानडाबीचको व्यापार सम्झौता पुन: वार्तामा जाने स्पष्ट समयतालिका पनि तत्काल देखिएको छैन । यससँगै उत्तर अमेरिकाका यी दुई प्रमुख व्यापारिक साझेदारबीचको सम्बन्ध आगामी दिनमा कुन दिशामा जाने भन्नेमा अनिश्चितता बढेको छ ।
प्रतिक्रिया 4