News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ बानेश्वरदेखि बुद्धनगरसम्म चटपटे र घरको भान्सामा सुकेको प्याजको भाउ एक महिनामा ४० प्रतिशत बढेर ७७ रुपैयाँ पुगेको छ।
- कालीमाटीमा प्याजको खुद्रा मूल्य ९० देखि १ सय रुपैयाँ पुगेपछि व्यवसायीले दसैंसम्म प्रतिकिलो १ सय ५० रुपैयाँभन्दा बढी पुग्न सक्ने बताएका छन्।
- चालु आर्थिक वर्षको साउनमा भारतबाट १ करोड ७५ लाख १८ हजार ५ सय ६९ किलो प्याज आयात हुँदा ७१ करोड ८३ लाख ७ हजार रुपैयाँ खर्च भएको छ।
७ साउन, काठमाडौं । नयाँ बानेश्वरमा चटपटे बेचेर गुजारा गर्ने पार्वती थापालाई आजकल एउटै चिन्ताले सताउन थालेको छ । दैनिक कम्तीमा एक किलो प्याज खपत गर्ने पार्वतीलाई सुकेको प्याजको भाउ निरन्तर उकालो लागेपछि व्यापार कसरी धान्ने भन्ने पीर छ ।
प्याजको भाउ महँगिँदै गएपछि उनले चटपट र पानीपुरीमा प्याजको मात्रा घटाउन थालेको एक महिना भइसक्यो ।
‘यसअघि सुकेको प्याज किलोको ६०-७० रुपैयाँमा किनेकी थिएँ, आज बिहान त किलोको १ सय रुपैयाँ पुगिसकेछ,’ पार्वतीले अनलाइनखबरसँग सुनाइन्, ‘यसको असर त सिधै व्यापारमै पर्ने देखियो, ग्राहकले धेरै प्याज नहालेको चटपट र पानीपुरी मिठो लाग्दैन भन्छन्, ग्राहकको चित्त पनि बुझाउनै पर्यो, अब यसरी बढ्दै जान थाले त कसरी सक्नु होला र !’
यतिबेला चाडपर्वको रौनकले घरआँगन छोप्न थालिसकेको छ । चाडपर्वको मुखैमा भान्सामा अत्यावश्यक वस्तुको भाउ महँगिदा पार्वतीको जस्तै गुनासो र बाध्यता बुद्धनगरकी गृहिणी लक्ष्मी श्रेष्ठको पनि छ ।
बढ्दो मूल्यकै कारण उनले आफ्नो भान्सामा अहिलेका लागि प्याजको प्रयोग मात्रा कटौती गर्ने निर्णय गरिसकेकी छिन् । विशेषगरी प्याजको अचार मन पर्ने उनले सुनाइन् । तर, आजकल भने उनी मासु पकाउँदा बाहेक अन्य तरकारीमा प्याज हाल्दिनन्, बरु अचारमा मात्रै अलिअलि प्रयोग गर्छिन् ।
‘मासु पकाउँदा हो प्याज नभई नहुने, अरू तरकारीमा त नहाले पनि हुन्छ,’ लक्ष्मी भन्छिन्, ‘अब भाउ घटेपछि मात्रै किन्नुपर्ला, हरेक खाद्यवस्तुको भाउ बढिरहेको छ, चाडबाडको बेला कसरी चलाउने हो भान्सा ? यही अवस्था रहे हरेक वस्तु कटौती गर्दै जानुपर्ने हुन्छ ।’

सडकपेटीको व्यापार होस् या मध्यम वर्गीय भान्सा, यतिबेला प्याजको आकासिँदो भाउले भान्सा थप महँगो बनाइसकेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो एक महिना अवधिमै प्याजको भाउ अस्वाभाविक बढेको छ ।
असार अन्तिम साता कालीमाटीमा प्याजको थोक मूल्य औसत ५४ रुपैयाँ (न्यूनतम ५३, अधिकतम ५५) थियो ।
७ साउनसम्म आइपुग्दा यसको औसत थोक मूल्य प्रतिकिलो औसत ५५ रुपैयाँ कायम भयो । त्यसयता भने प्याजको भाउ ह्वात्तै बढेको छ ।
३१ साउनमा औसत ६२ रुपैयाँ पुगेको प्याजको भाउ ७ भदौ आइपुग्दा किलोको औसत ७७ रुपैयाँ (न्यूनतम ७५, अधिकतम ८०) पुगेको थियो ।
मूल्यवृद्धिको यो तथ्यांक हिसाब गरेर हेर्ने हो भने उपभोक्ताको ढाड कसरी सेकिएको छ भन्ने प्रस्ट हुन्छ । ७ साउनको औसत मूल्य ५५ रुपैयाँ र ७ भदौको औसत मूल्य ७७ रुपैयाँ तुलना गर्दा एक महिनामै प्याज प्रतिकिलो २२ रुपैयाँ महँगिएको छ ।
प्रतिशतका हिसाबले हेर्दा एक महिनाको छोटो अवधिमा प्याजको भाउ ४० प्रतिशतले वृद्धि भएको छ । यसैगरी एक वर्ष अन्तरमा हेर्ने हो भने त भाउ झनै आकासिएको छ ।
गत वर्ष (२०८२ साउनमा) प्याजको थोक मूल्य न्यूनतम ४५ देखि अधिकतम ४८ रुपैयाँसम्म किनबेच भएको थियो । गत वर्षको औसत मूल्य ४६ रुपैयाँ र आजको औसत मूल्य ७७ रुपैयाँसँग तुलना गर्ने हो भने एक वर्षमा प्याज किलोको करिब ३१ रुपैयाँ बढेको छ । प्रतिशतमा हिसाब गर्दा यो ६५ बराबरको भारी मूल्यवृद्धि हो ।
थोक बजारमै प्याजको भाउ बढेपछि त्यसको सिधा असर खुद्रा बजार र उपभोक्ताको खल्तीमा परेको छ । अहिले खुद्रा बजारमा सुकेको प्याज किलोको ९० देखि १ सय रुपैयाँसम्म किनबेच भइरहेको छ ।

अनलाइनखबरकर्मीले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्मका १० वटा तरकारीका खुद्रा पसलमा बुझ्दा ३ वटा पसलमा प्याज प्रतिकिलो ९० रुपैयाँ र बाँकी ७ वटा पसलमा १ सय रुपैयाँमा बिक्री भइरहेको पाइयो । यस्तै बिगमार्ट लगायत अन्य मार्टले पनि प्रतिकिलो प्याजको मूल्य ९९ सय रुपैयाँसम्म तोकेर राखेका छन् ।
थोक र खुद्रा मूल्यबीचको अन्तरबारे नयाँ बानेश्वरका एक तरकारी व्यापारी होलसेलबाटै महँगोमा किन्नुपरेकाले सस्तोमा बेच्न नसकिने तर्क गर्छन् ।
‘हामीले कालीमाटीमै एक किलो प्याजलाई ८० रुपैयाँ तिरेका छौं, खुद्रामा बेच्दा ५-१० रुपैयाँ महँगो पर्न गएको हो,’ ती व्यापारीले भने ।
उनका अनुसार होलसेल व्यापारीले प्याजको भाउ अझै बढ्ने बताएका छन् । ‘होलसेल व्यापारीले प्याजको भाउ अझै बढ्ने र दसैंसम्म प्रतिकिलो १ सय ५० रुपैयाँभन्दा बढी पुग्छ भनेका छन्,’ उनले थपे ।
भारतमै अभाव देखिएको छ, त्यसको असर नेपाली बजारमा प्रत्यक्ष पर्छ : व्यवसायी
नेपाली व्यापारीले दसैंसम्म प्याजको भाउ १ सय ५० रुपैयाँभन्दा बढी पुग्छ भनेर आकलन गरेका छन् । यसको पछाडि भारतीय बजारमा देखिएको अभाव र मूल्यवृद्धि मुख्य कारण रहेको उनीहरू बताउँछन् ।
नेपाल प्याजमा करिब ९८ प्रतिशत भारतमै निर्भर रहेकाले त्यहाँको मूल्यवृद्धिले यहाँ सिधै असर गर्छ । नजिकिँदै गरेका चाडपर्वको मुखैमा भारतमा प्याजको मूल्यमा अस्वाभाविक वृद्धि भएको व्यवसायीले बताएका छन् ।
भारतमा प्याजको मूल्यवृद्धि र अभावको प्रत्यक्ष असर नेपाली बजारमा परेको र यो अझै महँगिने व्यवसायीको चेतावनी छ ।
आलु–प्याज व्यवसायी संघ महासचिव प्रकाश गजुरेलका अनुसार भारतमै प्याज उत्पादन कम भएको र माग बढेका कारण त्यहाँ अभाव सिर्जना भएको छ ।
‘भारतमै प्याजको भाउ बढेको छ र त्यहाँ अभाव छ,’ महासचिव गजुरेलले भने, ‘हामी पूर्णरूपमा भारतमा निर्भर छौं, त्यसैले त्यहाँ महँगो भएपछि नेपालमा स्वत: महँगो हुने नै भयो ।’
भारतबाटै नेपालसम्म ल्याइपुर्याउँदा (ल्यान्डिङ कस्ट) प्रतिकिलो ७५ रुपैयाँभन्दा बढी पर्न थालिसकेको महासचिव गजुरेलले बताए ।

उनका अनुसार नजिकिँदै गरेका चाडपर्वका कारण नेपालमा पनि प्याजको माग बढेको छ । एकातिर भारतमै उत्पादन कम हुनु र अर्कातिर दुवै देशमा चाडपर्वको माग बढ्नुले मूल्य थप आकासिने विश्लेषण व्यवसायीको छ ।
नेपालमा प्याज उत्पादन नगन्य मात्रै हुने र भारतीय बजारमै निर्भर रहनुपर्ने हुँदा विगतमा पनि नेपालमा प्याज अभाव र अस्वाभाविक मूल्यवृद्धि सामना गर्नुपरेका उदाहरण प्रशस्तै छन् ।
‘प्याजको भाउ थोकमै १ सय रुपैयाँ कट्छ कि भन्ने हाम्रो विश्लेषण हो,’ उनले भने, ‘पहिला पनि १ सय रुपैयाँ कटेर हाहाकार नै मच्चिएको थियो, यसपालि पनि त्यही सम्भावना देखिएको छ ।’
भारतद्वारा अप्रत्यक्ष कडाइ
भारत सरकारले औपचारिक रूपमा सूचना नै निकालेर प्याज निर्यातमा प्रतिबन्ध त लगाएको छैन, तर आपूर्ति भने सहज नरहेको व्यवसायी बताउँछन् ।
विगतमा जस्तै नेपालसँगको सम्बन्ध बिग्रिएका बेला वा आन्तरिक अभाव हुँदा भारतले प्रतिबन्ध लगाउने सम्भावना अझै रहेको बुझाइ महासचिव गजुरेलको छ ।
‘प्रत्यक्ष सूचना नै निकालेर प्रतिबन्ध त गरेको छैन, तर पहिलाजस्तो सजिलो आपूर्ति छैन, अप्रत्यक्ष कडाइ नै गरेको छ,’ गजुरेलले भने, ‘पहिला एक पटक प्रतिबन्ध गरे जस्तै यसपालि पनि त्यस्तै प्रतिबन्ध गर्छ कि भन्ने हामीलाई शंका छ ।’
बजारमा प्याजको चरम अभाव हुन नदिन र मूल्य सन्तुलनमा राख्न व्यवसायीले सरकारलाई ‘जीटुजी’ (सरकार–सरकारबीच) च्यानल मार्फत आपूर्ति गर्न सुझाव दिएका छन् ।
यस विषयमा केही दिनअघि मात्रै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँग छलफल भएको जानकारी दिँदै महासचिव गजुरेल सरकारले समयमै कदम चाल्नुपर्ने बताउँछन् ।
‘योभन्दा पनि महँगो हुने भएकाले अब सरकारले जीटुजी सप्लाईका लागि आह्वान गर्नुपर्छ भनेर हामीले भनेका छौं,’ गजुरेलले भने, ‘जीटुजी सप्लाईको च्यानल मिलाउन सक्नुपर्छ, नत्र हामीकहाँ सप्लाई अनब्यालेन्स हुन्छ, यसमा राज्यले नै कूटनीतिक पहल गर्नुपर्ने हुन्छ ।’

भारतीय बजारमा एक सातामै ४० प्रतिशत उछाल
भारतीय बजारमा पछिल्लो एक साताभित्र प्याजको खुद्रा मूल्यमा करिब ४० प्रतिशतसम्मको उछाल आएपछि त्यहाँका उपभोक्ता र बजार दुवै प्रभावित छन् ।
भारतका प्रमुख सञ्चारमाध्यमहरू एबीपी न्युज, ईटी नाउ, इकोनोमिक टाइम्स र दैनिक जागरणका अनुसार नयाँदिल्ली, मुम्बई र कोलकाता जस्ता ठूला सहरमा प्याजको खुद्रा मूल्य किलोको ५० देखि ६० भारु (८० देखि ९६ रुपैयाँ) सम्म पुगेको छ ।
उडिसाको भुवनेश्वरमा त दुई दिनमै भाउ झन्डै दोब्बर हुँदै भारु ६० सम्म पुगेको सञ्चारमाध्यममा उल्लेख छ ।
प्याजको भाउ एक्कासि यसरी आकासिनुका पछाडि मुख्यतया आपूर्तिमा आएको सुस्तता, खराब मौसम र चाडपर्वको माग जिम्मेवार ठानिएको छ ।
भारतीय समाचारमाध्यमका विश्लेषण अनुसार भारी वर्षाका कारण ढुवानी र तरकारी आपूर्ति शृङ्खलामा अवरोध पुगेको छ भने दक्षिण भारतबाट आउनुपर्ने नयाँ बाली बजारमा भित्रिन ढिलाइ भएको छ ।
अर्कातर्फ, पुरानो बालीको मौज्दात घट्दै गएको र चाडपर्वको सिजनले माग ह्वात्तै बढाएका कारण भारतकै सबैभन्दा ठूलो प्याजमण्डी मानिने महाराष्ट्रको लासलगाउँमा समेत थोक मूल्यमा एकैदिन ठूलो वृद्धि भएको छ ।
अवस्था नियन्त्रण बाहिर जान थालेपछि भारत सरकारले सहुलियत दरमा प्याज उपलब्ध गराउन आफ्नो ‘बफर स्टक’ सिधै खुद्रा बजारमा उतार्ने योजना बनाएको पनि त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
चाडपर्व आउने बित्तिकै व्यापारीले प्याज लुकाउँछन् : उपभोक्ता अधिकारकर्मी
उपभोक्ता अधिकारकर्मीहरू भने चाडपर्वका मुखमा व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी मूल्य अचाक्ली बढाएको आरोप लगाएका छन् ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना पछिल्लो समय बजारमा प्याजको भाउ ह्वात्तै बढेको सन्दर्भमा विगत जस्तै यसपालि पनि चाडपर्व आउने बित्तिकै व्यापारीले खपत बढी हुने मौका छोपेर बजारमा प्याज लुकाउने गरेको आरोप लगाउँछन् ।
‘विगतमा पनि ठ्याक्कै चाडपर्वको मुखमा, खपत बढी हुने बेला विभिन्न बहानामा भारतले कृत्रिम अभाव सिर्जना गर्ने र हाम्रा व्यवसायीले ल्याएर लुकाउने गरेका छन्,’ तिमल्सिनाले भने, ‘छोटो समयमै किलोमा ४० प्रतिशत मूल्य बढ्नु भनेको त निकै ठूलो वृद्धि हो ।’

बजार नियन्त्रण र अनुगमन सन्दर्भमा स्थानीय र संघीय दुवै सरकार पूर्णरूपमा चुकेको उनको भनाइ छ । कृषि उपज बजार व्यवस्थापन र अनुगमनमा सरकारले ध्यान नदिँदा उपभोक्ता सधैं मारमा पर्ने गरेको उनको भनाइ छ ।
‘स्थानीय कृषि उपज अनुगमन र नियमन गर्ने दायित्व स्थानीय सरकारको हो भन्ने तर संघीय सरकारले पनि खासै ध्यान नदिएका कारण विगतमा पनि यसरी नै भाउ बढ्थ्यो,’ उनले भने, ‘अहिले पनि अवस्था उही छ ।’
भारतमा प्याजको मूल्य बढ्दा वा आपूर्तिमा गडबडी हुँदा नेपाली बजारमा भाउ रातारात दोब्बर हुने पुरानै प्रवृत्ति छ । अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । कालीमाटीकै तथ्यांक अनुसार हिजो शनिबार मात्रै १ लाख ३३ हजार ९ सय किलो प्याज भित्रिएको छ ।
साउनमै भारतबाट भित्रियो झन्डै ७२ करोडको प्याज
एक महिना अवधिमै झन्डै ७२ करोड रुपैयाँ बराबरको प्याज आयात भएको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ पहिलो महिना साउनमै १ करोड ७५ लाख १८ हजार ५ सय ६९ किलो (१७ हजार ५ सय १८ टन) प्याज आयात भएको छ । यसरी आयात गरिएको प्याजको कुल आयात मूल्य ७१ करोड ८३ लाख ७ हजार रुपैयाँ बराबर छ ।
शतप्रतिशत भारतबाट मात्रै आयात भएको यो प्याजबाट सरकारले ६ करोड ४६ लाख ७० हजार रुपैयाँ बराबर भन्सार राजस्व संकलन गरेको छ ।
प्रतिक्रिया 4