News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा बागमती संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ।
- मुख्यमन्त्री थापामगरले भदौ ८ गते प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने भएकाले नेकपाले अनिवार्य उपस्थित हुन सांसदलाई भनेको छ।
- राप्रपाभित्रको विवाद र नेकपाभित्र मन्त्री पठाउने विषयको मतभेदबीच बागमती सरकारको विश्वासको मतमा प्रदेशसभाको अंकगणित केन्द्रित भएको छ।
७ भदाै, हेटाैंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सांसदलाई बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासकाे मतकाे पक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने भएकाले भदौ ८ गते साेमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिइएको छ ।
सत्ता साझेदार दल नेकपाकाे प्रदेशसभामा २६ जना सांसद छन् । विश्वासकाे मतकाे विषयमा छलफल गर्न आज आइतबार नेकपा संसदीय दलकाे बैठक बसेकाे थियाे । सरकारमा मन्त्री पठाउने विषयमा नेकपाभित्र विवाद देखिएकाे छ । असन्तुष्ट सांसदहरू बैठकमा सहभागी नभएकाे जनाइएकाे छ ।
बागमतीमा लामो नेकपा एमालेका थापा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा ४ भदाैमा मुख्यमन्त्री बनेका हुन । राप्रपाले पार्टी केन्द्रकाे निर्देशनविपरित समर्थन गरेकाे भन्दै संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरिसकेकाे छ । सरकारमा सहभागी राप्रपाका ३ मन्त्रीलाई पूर्ण सफाईकाे माैका दिँदै आज स्पष्टीकरण साेधेकाे छ ।
राप्रपाभित्र विवादका बीच मुख्यमन्त्री थापाले विश्वासकाे मत लिन लागेका हुन् । राप्रपा बागमतीमा सरकारलाई दिएकाे समर्थनलाई लिएर विवाद चर्किएकाले राप्रपाका १२ जना सांसदकाे विश्वासकाे मतकाे पक्ष वा विपक्षमा हुने उपस्थिति राजनीतिक चासाेकाे विषय बनेकाे छ ।
विश्वासको मत लिनुअघि नेकपाभित्र मन्त्री बनाउने विषय र राप्रपामा जारी विवादले अबको ध्यान प्रदेशसभाको अंकगणितमा केन्द्रित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मुख्यमन्त्री थापामगरको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ । सत्ता साझेदार दुई दलभित्र देखिएकाे विवादका घटनाक्रमले आइतबार थापामगर नेतृत्वको सरकारका लागि पछिल्लो सत्ता समीकरणको स्थायित्व निर्धारण गर्ने महत्वपूर्ण चरण बन्ने देखिएको छ ।

प्रतिक्रिया 4