News Summary
Generated by OK AI. Editorially reviewed.- प्रिन्स ह्यारी र मेघन मर्कल ७ वर्षीय आर्ची र ५ वर्षीया लिलिबेटसहित यसै महिना अमेरिकाबाट बेलायत फर्कने भएका छन् ।
- उनीहरू लन्डनबाहिर निजी गैर-राजकीय निवासमा बस्नेछन् र राजकीय जिम्मेवारी नभएको शाही हैसियत कायम रहनेछ ।
- बेलायत फर्कने घोषणापछि करदाताको रकमबाट सुरक्षा व्यवस्था उपलब्ध गराइने कि नगरिने विषयमा फेरि प्रश्न उठेको छ ।
७ भदौ, लन्डन । ६ वर्षअघि बेलायती राजपरिवारबाट अलग भएर अमेरिका पुगेका प्रिन्स ह्यारी र मेघन मर्कल अब फेरि बेलायत फर्किने भएका छन् । तर, यो शाही जिम्मेवारीमा पुनरागमन भने होइन ।
प्रिन्स ह्यारी र मेगन आफ्ना छोराछोरी ७ वर्षीय प्रिन्स आर्ची र ५ वर्षीया प्रिन्सेस लिलिबेटसहित अमेरिकाबाट बेलायत आउन लागेका हुन् । उनीहरूका छोराछोरीले सेप्टेम्बरदेखि विद्यालय जान सुरु गर्नेछन्।
रिपोर्टअनुसार उनीहरू लन्डनबाहिर एउटा निजी गैर-राजकीय निवासमा बस्नेछन् भने उनीहरूको राजकीय जिम्मेवारी नभएको शाही हैसियत कायमै रहनेछ ।
यसै महिना बेलायत फर्कने ड्युक र डचेस अफ ससेक्सको अप्रत्याशित घोषणाले बेलायतमा उनीहरूका लागि उपलब्ध गराइने सार्वजनिक कोषबाट सञ्चालित सुरक्षा व्यवस्थाको स्तरबारे पुनः प्रश्नहरू उब्जाएको छ।
सन् २०२० मा सक्रिय राजपरिवारको भूमिका त्यागेर अमेरिका गएपछि उनीहरूको बेलायती सुरक्षा व्यवस्थाको स्तर घटाइएको थियो । अमेरिकामा भने उनीहरूले आफ्नो सुरक्षाको खर्च आफैँ व्यहोर्दै आएका छन्।
प्रिन्स ह्यारी र मेगन उच्च–प्रोफाइलका सार्वजनिक व्यक्तित्वहरू हुन् । अफगानिस्तानमा प्रिन्स ह्यारीले गरेको सैन्य सेवा पनि यस सन्दर्भमा एउटा महत्त्वपूर्ण पक्ष मानिन्छ ।
यदि प्रिन्स ह्यारीले सक्रिय राजपरिवारको भूमिकाबाट हटेपछि आफूले निरन्तर माग गर्दै आएको करदाताको रकमबाट प्राप्त हुने सुरक्षा सुविधा पाएनन् भने उनले पाउने सुरक्षा व्यवस्थाका लागि आवश्यक थप खर्च आफैँले व्यहोर्नुपर्ने हुन्छ।
सुरक्षासम्बन्धी खर्चको विषय ह्यारी र ‘होम अफिस’ (यसमा निर्णय गर्ने सरकारी निकाय) बीच लामो समयदेखि तनाव रहँदै आएको छ। ‘द टाइम्स’ ले जनाएअनुसार, उक्त दम्पती र उनीहरूको परिवारलाई करदाताको पैसाबाट सशस्त्र सुरक्षा उपलब्ध गराउने कुनै योजना छैन् ।
अमेरिका बसाइँ सरेपछि गत वर्ष आफ्नो सुरक्षा स्तर घटाइएको निर्णय उल्टाउने प्रयास अदालतबाट असफल भएपछि प्रिन्स ह्यारीले बीबीसीसँग भनेका थिए, ‘सुरक्षा व्यवस्थामा गरिएको कटौतीका कारण आफूले आफ्नो परिवारलाई बेलायत ल्याउने कुनै सम्भावना छैन्।’
ह्यारीले मागिरहेको सुरक्षा हाल राजा रानी, द प्रिन्स एण्ड प्रिन्सेस अफ वेल्स (विलियम क्याथरिन दम्पत्ति) र उनीहरूका तीन बच्चालाई प्रदान गरिएको छ ।
ह्यारी र मेगन यसै महिना अमेरिकाबाट बेलायत सर्ने योजनामा रहेको खबर सार्वजनिक भएपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले बेलायतमा बस्दा ड्युक र डचेस अफ ससेक्सका लागि गरिने सुरक्षा प्रबन्ध ‘निजी मामिला’ भएको बताएका छन्।
बेलायती प्रधानमन्त्रीले सुरक्षासम्बन्धी खर्चबारे टिप्पणी गर्न अस्वीकार गर्दै भनेका छन्, ‘यो एउटा निजी मामिला हो। यो ह्यारी र मेगनसँग सम्बन्धित विषय हो र उनीहरूले चाल्न लागेको कदमका लागि सफलताको कामना गर्छौं।’
ह्यारी र मेघनले सन् २०२० जनवरी ८ मा राजपरिवारका वरिष्ठ सदस्यहरुको भूमिकाबाट पछि हट्ने घोषणा गरेका थिए ।
उनीहरूले आर्थिक रूपमा स्वतन्त्र बन्ने र आफ्नो समय बेलायत तथा उत्तर अमेरिकाबीच बाँड्ने योजना सार्वजनिक गरेका थिए । त्यसपछि यो घटनालाई सञ्चारमाध्यमले ‘मेक्जिट’ नाम दिए ।
राजपरिवारभित्रको भूमिका, ब्रिटिश ट्याब्लोइड मिडियासँगको निरन्तर तनाव र मेघनमाथि भएको व्यवहारका कारण उनीहरु राजपरिवार सदस्यको भूमिकाबाट अलग भएका थिए । पछि सन् २०२१ मा ओप्रा विन्फ्रेसँगको चर्चित अन्तर्वार्तामा दुवैले राजपरिवारभित्र आफूहरूले भोगेको दबाब र मेघनले सामना गरेको कथित नस्लीय व्यवहारबारे गम्भीर आरोपसमेत लगाए ।
त्यसपछि उनीहरूको सम्बन्ध राजपरिवारसँग झनै तनावपूर्ण बन्दै गयो । ह्यारीले सन् २०२३ मा प्रकाशित आफ्नो संस्मरण ‘स्पेयर’ मार्फत परिवारभित्रका विवादका थप विवरण सार्वजनिक गरे । यसले विशेषगरी उनका दाजु प्रिन्स विलियमसँगको सम्बन्धमा थप दूरी ल्याएको मानिन्छ ।
सन् २०२० मा क्यानडाबाट अमेरिका पुगेपछि ह्यारी र मेघन क्यालिफोर्नियाको मोन्टेसिटोमा बस्दै आएका छन् ।
त्यहाँ उनीहरूले राजकीय भूमिकाभन्दा बाहिर आफ्नो व्यावसायिक र सार्वजनिक जीवन अघि बढाए । नेटफिल्क्स र अन्य व्यावसायिक परियोजनामार्फत उनीहरूले आफ्नो आर्थिक स्वतन्त्रताको बाटो पनि रोजे । तर, पछिल्ला वर्षमा ह्यारीको राजपरिवारसँगको सम्बन्धमा केही नरमपन देखिन थालेको छ ।
विशेषगरी राजा चार्ल्सको स्वास्थ्य समस्यापछि ह्यारीले आफ्ना बुबासँग सम्बन्ध सुधार गर्न चाहेको संकेत दिएका छन् । २०२६ मा उनीहरूको भेटघाट पनि बढेको छ । यसपटक बेलायत फर्किने निर्णयको एउटा महत्वपूर्ण कारण भनेको बच्चाहरूको शिक्षा र परिवारसँगको दूरी कम गर्नु भएको रिपोर्टहरूमा उल्लेख छ ।
नेपाल र गोर्खा सैनिकहरुसंग निकट साइनो
प्रिन्स हयारीको साइनो नेपाल र गोर्खा सैनिकहरुसंग निकट छ । हयारीले ब्रिटिश गोर्खाहरुसंग र नेपालमा धेरै समय बिताएका छन् । महाभूकम्प लगत्तै नेपाल भ्रमण गरेका राजकुमार हयारीले उत्तरी गोर्खाको लापु गाउं विकास समितिस्थित प्रभातकिरण निमाविको पुनर्निर्माणमा सघाएका थिए ।
उनले अन्नपूर्ण हिमश्रृंखला तथा बर्दिया राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताएका थिए ।
कुनै बेला अफगानिस्तान युद्धमा संगै रहेका हयारीले गोर्खा सैनिकहरुसंगको सम्बन्धबाट खुशी र गर्व महशुस गर्ने गरेको उनले बताउंदै आएका छन् । राजकुमार हयारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा गर्ने गर्छन् ।
प्रतिक्रिया 4