News Summary
Generated by OK AI. Editorially reviewed.- जङ्गबहादुर राणाले माहिला साहेबज्यू उपेन्द्रविक्रम शाहलाई सम्भावित बगावतको आशङ्कामा निगरानीमा राखेर पत्रमार्फत कारबाहीका आदेश दिएका थिए।
- उपेन्द्रविक्रम शाहलाई माहिला साहेबज्यू मान्ने राजेन्द्रविक्रम शाहका छोरा बनारसतिर गएपछि काठमाडौंमा सुरेन्द्र र उपेन्द्र मात्रै रहेका थिए।
- उपेन्द्रविक्रम शाहले जङ्गबहादुरको देहान्तबारे भविष्यवाणी गरेको उल्लेख छ, र पछि जङ्गबहादुर सिकार यात्राकै क्रममा मरेका थिए।
नेपालको इतिहासमा सबैभन्दा निरीह राजाका रूपमा राजेन्द्रविक्रम शाह देखिए। उनको कमजोरी र उनका दुई रानी बीचको हानाथापका कारण तत्कालीन राजनीतिमा कुशल चालबाज जङ्गबहादुर राणा शक्तिशाली शासकका रूपमा उदाए।
राजा राजेन्द्रका पाँच भाइ छोरामध्ये जेठी रानी साम्राज्यलक्ष्मीतिरबाट सुरेन्द्र, उपेन्द्र र देवेन्द्रविक्रम गरी तीन भाइ छोरा भए। यस्तै कान्छी रानी राज्यलक्ष्मीतिरबाट रणेन्द्र र वीरेन्द्रविक्रम गरी दुई भाइ छोरा भए। सबैभन्दा कान्छो देवेन्द्रको बाल्यकालमै देहान्त भयो। यिनको देहान्तलाई निहुँ बनाएर तत्कालीन मुख्तियार भीमसेन थापालाई सत्ताच्युत मात्र गरिएन, उनले आत्महत्याको बाटो रोजे।
जङ्गबहादुरको उदयपछि रानी राज्यलक्ष्मीको निर्वासनसँगै राजा राजेन्द्र पनि रानीकै पछि लागेर बनारसतिर गए। रणेन्द्र र वीरेन्द्रले पनि बुबा र आमाको साथ छाडेनन्, उनीहरू पनि बनारसतिर गए। राजधानी काठमाडौंमा युवराज सुरेन्द्र र माहिला साहेबज्यू उपेन्द्र मात्रै रहे।
जङ्गबहादुरले आफ्नो शक्ति प्रयोग गरेर युवराज सुरेन्द्रलाई राजा घोषणा गरे भने बुढा राजा राजेन्द्रलाई अलौबाट समातेर राजधानी ल्याई आजीवन भक्तपुरको दरबारमा नजरबन्दमा राखे। कतिसम्म भने आफ्ना पनाति पृथ्वी वीरविक्रमलाई राजाका रूपमा उनले दाम चढाउनुपर्यो।
जङ्गबहादुरद्वारा राजा घोषित सुरेन्द्र आफ्ना बराजु रणबहादुर शाहपछि नेपाली इतिहासमै सन्काहा राजाका रूपमा परिचित छन्। उनको सनकको फाइदा उठाउँदै नेपालको वास्तविक शासक बनेका जङ्गबहादुर माहिला साहेबज्यू उपेन्द्रसँग भने सधैं सशङ्कित रहन्थे। माहिला साहेबज्यू भने हरदम तन्त्रमन्त्रबाट सिद्धि प्राप्त गर्ने ध्याउन्नमा रहन्थे। इतिहास अध्ययन गर्दा उनी राजखान्दानको एक जना अनौठा पात्रका रूपमा चित्रित छन्।
जङ्गबहादुरको निगरानीमा साहेबज्यू
जङ्गबहादुरले आफू शक्तिमा आएपछि सजधजका साथ बेलायत र युरोपको भ्रमण गरे। उनी विदेशमा पहिलो राजकीय भ्रमण गर्ने नेपाली शासक हुन्। उनले आफू बेलायतमा रहँदा आफ्ना माइला भाइ बमबहादुरलाई कार्यवाहक बनाई राज्यसञ्चालनको जिम्मा दिएका थिए। र, बेलायतबाटै उनी आफ्ना भाइलाई राज्य सञ्चालन सम्बन्धी विभिन्न निर्देशन दिइरहन्थे। यसरी निर्देशन दिंदा कतिपय पत्र उनले आफ्नै हातले लेखेका छन्।
कमल दीक्षितले ‘जंगगीता’ (२०४०: २४–२६) मा प्रकाशित गरेका पत्रहरूमध्ये एउटामा जङ्गबहादुरले माहिला साहेबज्यू उपेन्द्र लगायत अन्य आशङ्कामा परेका सम्भावित बागीलाई के–कस्तो कारबाही गर्ने भन्नेबारे उल्लेख गरेका छन्। पत्रको व्यहोरा यस्तो छ:
“माहाराज माहिला साहेव जीउ (१)
तईले पल्टन् उर्दि दिदा कुरा काट्ने पगरीलाई तुरंत तानावाना बुझी नेल् गलफंदि ठोकी दे चर् जाना मीली जस्क घर येकान्त हुन्छ तुरुन्त कयेद गर् तेरा वेसल्मा १ (माहिला साहेवज्यू) तीर जो चाकरी गर्छ ढाकरे जागीर बाहुन् देसवाल् लाई पर्वतेलाई त्रीसुल गंगा कटाइ दे देस्वाल् लाई सीसा गढी कटाइ दे।”
–माहिला साहेबज्यूबारे जङ्गबहादुरले भाइ बमबहादुरलाई बेलायतबाट लेखेको पत्र (स्रोत: कमल दीक्षित)
यो पत्र हेर्दा जङ्गबहादुरको शासनकालमा पल्टनको उर्दीबारे अलिकति पनि नकारात्मक चर्चा-परिचर्चा गर्ने सैनिकको तत्काल पद र जागिर खोसी नेल लगाएर कैदमा हालिने नियम रहेछ भन्ने थाहा हुन्छ। यस्तै चार जना मात्रै जम्मा भएर कतै एकान्तमा भेला गरिए उनीहरूलाई तत्कालै कैद गरिने रहेछ। यस्तै जङ्गबहादुरले माहिला साहेबज्यू उपेन्द्रसँग कोही कसैलाई पनि भेट गर्न नपाउने गरी प्रतिबन्ध लगाएका रहेछन्। यसरी भेट गर्नेहरूलाई राजधानीबाट निष्कासन गर्ने नियम बसाइएको रहेछ। त्यसरी भेट गर्नेमध्ये बाहुन वा पर्वते (पहाडी) समुदायका व्यक्तिलाई त्रिशूलगङ्गा र देशवाल (मधेशी) भए सिसागढी कटाइदिन जङ्गबहादुरले उक्त पत्रमा आदेश दिएका छन्।
त्रिशूलगङ्गा भनेको त्रिशूली नदी हो। यस्तै सिसागढी चाहिं कता पर्छ ? यो लेखकले ‘मुकाम रणमैदान’ का लेखक मोहन मैनालीलाई जिज्ञासा राख्दा उनले भीमफेदी मास्तिरको चिसापानीगढी हुनसक्ने अड्कल गरे। उनका अनुसार त्यो बेला चिसापानीगढीलाई अङ्ग्रेजहरूले सिसागढी भन्ने गर्थे। सम्भवतः जङ्गबहादुरले पनि चिसापानीगढीलाई सिसागढी लेखे।
निगरानीका कारण
माहिला साहेबज्यूले कुनै पनि बेला आफ्नो सत्ता विरुद्ध विद्रोह गर्लान् भनेर जङ्गबहादुर जहिल्यै सशङ्कित हुन्थे। उरन्ठेउलो स्वभावका राजा सुरेन्द्रलाई खोपाको देउता बनाउन सफल भइसकेका थिए जङ्गबहादुर। तर माहिला साहेबज्यू गम्भीर र तन्त्रमन्त्रका साधक थिए। त्यति मात्रै होइन, यसअघि उनलाई राजा बनाउन सकिने चर्चा चलेको मात्रै होइन, सत्ता उलटपुलट गरिदेलान् भन्ने आशङ्काले उनकै बुबा राजा राजेन्द्रले राजदरबारभित्र ‘कसैलाई केही पनि गर्ने छैन’ भनी उनलाई धर्मपत्र नै गराएका थिए। यसबारे यहाँ केही चर्चा गर्न जरुरी छ।
आफ्नो छोरा रणेन्द्रलाई युवराज घोषित गर्न राज्यलक्ष्मी हतारिइरहेकी थिइन्। उनी युवराज सुरेन्द्रलाई पागल घोषित गराएर वा थुनेर वा निकालेर हुन्छ, जसरी भए पनि उनलाई सत्ताविमुख गराउन मुख्तियार माथवरसिंह थापालाई दबाब दिइरहेकी थिइन्। माथवरसिंह सकभर यस मामिलालाई पन्छाउँदै, टार्दै थिए। त्यस्तो बेला भित्रभित्रै माहिला साहेबज्यूमा पनि देशको भावी राजा हुने महत्त्वाकाङ्क्षा पलाइरहेको थियो। उनले पनि यदि आफ्ना दाजुलाई गद्दीच्युत गरिन्छ भने आफूलाई त्यो गद्दीको हकदार बनाउनुपर्ने दाबी पेश गर्न थालेका थिए। उनले यस्तो दावी मात्र गरेनन्, भित्रभित्रै गुट बनाई चलखेल पनि गर्न थालेको सुइँको पाएपछि राजा राजेन्द्रले उनको साथमा रहेको हतियार खिची उनलाई एक धर्मपत्रमा सही गराए। (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’– २०५२:१७५)

आफ्ना बुबा राजेन्द्रले गराएको धर्मपत्रमा उपेन्द्रविक्रमले पशुपतिनाथ र गुह्येश्वरीलाई साक्षी राखेर राजा राजेन्द्र, युवराज सुरेन्द्र, रानी राज्यलक्ष्मी र आफ्ना भाइबुहारी लगायत राजपरिवारमध्ये कसैको गाथमा पनि घटिया काम नगर्ने (नेपाल, २०५२:२१०) प्रतिज्ञा गरेको उल्लेख छ।
त्यो बेला राजदरबारभित्र पारिवारिक द्वन्द्व उत्कर्षमा पुगिरहेको थियो। घरीघरी तत्कालीन मुख्तियार माथवरसिंह पनि ‘राजेन्द्र र सुरेन्द्रबाट काम चल्दैन, उपेन्द्र जस्ता राजा र म जस्तो वजीर भए राम्रोसँग शासन चल्ने थियो’ भन्दै धम्कीको भाषा बोल्ने गर्थे। (नेपाल, २०५२:१८२)
आफ्नै मामा माथवरसिंह थापाको शासनको समयमा घटेका यी घटनाहरूबारे जङ्गबहादुर जानकार थिए नै। त्यसैले माहिला साहेबज्यूबाट सम्भावित बगावतको आशङ्काले जङ्गबहादुर सशङ्कित भइरहनु स्वाभाविकै थियो।
विकल्पका राजा
मुख्तियार तथा कमान्डर-इन-चिफ माथवरसिंह थापाको धम्कीको भाषामा मात्रै होइन, अरूहरूले पनि आफूहरूको बगावत वा विद्रोह सफल हुनसके माहिला साहेबज्यूलाई नेपालको राजगद्दीमा राजाका रूपमा राख्ने योजना बनाएका थिए।
यस्तो योजना बनाउनेहरूमा तत्कालीन शक्तिशाली शासक जङ्गबहादुर राणा विरुद्ध बगावत गर्ने उनकै साहिंला भाइ बद्रीनरसिंह र गोरखा बुङ्कोटमा विद्रोह मच्चाउने लखन थापामगर हुन्।
जङ्गबहादुर युरोप भ्रमणबाट फर्केपछि बद्रीनरसिंहले उनको गाथ ढालेर सत्ता आफ्नो हातमा लिने योजना बनाएका थिए। यसमा उनले करवीर खत्री र जयबहादुर कुँवरको साथ लिएका थिए। तर यो षड्यन्त्रबारे बेलैमा जङ्गबहादुरका माइला भाइ बमबहादुरले पोल खोलिदिए।
उनीहरूको योजना अनुसार वसन्तपुर दरबारबाट जङ्गबहादुर फर्कंदा साहिंला भाइ जनरल बद्रीनरसिंह, जयबहादुर कुँवर र करवीर खत्री मिलेर उनको हत्या गर्ने रहेको थियो। जङ्गबहादुरको गाथ ढल्नासाथ माहिला साहेबज्यूले राजा सुरेन्द्रविक्रममाथि हमला गरी हत्या समेत गरी राजगद्दीमा आफू बस्ने, बमबहादुरलाई प्रधानमन्त्री बनाउने र बद्रीनरसिंहले कमान्डर-इन-चिफ चलाउने पनि यस योजना अन्तर्गत रहेको थियो। यस योजना सफल भए जयबहादुर कुँवर र करवीर खत्रीले उचित जिम्मेवारी पाउने पनि निधो गरिएको थियो। (पुरुषोत्तमशमशेर जबरा, ‘श्री ३ हरूको तथ्यवृत्तान्त’– २०६५:८५)
जङ्गबहादुरले यो षड्यन्त्रलाई दबाउने क्रममा करवीर खत्रीलाई उनको मुखमा पिसाब गर्न लगाई, चारपाटा मुडी, जनै चुँडाली, सुँगुरको आन्द्राको माला बेर्न लगाई जातपतित गरी छाडियो। दोषी ठहर गरेकाहरू माहिला साहेबज्यू, बद्रीनरसिंह र जयबहादुर कुँवरलाई इलाहावाद जेलमा पठाइयो। (जबरा, २०६५:८७)
इलाहावादमा बन्दी बनाइएकामध्ये वि.सं. १९१० भदौ-असोजमा हैजाबाट जयबहादुर कुँवरको मृत्यु भएपछि आमा गणेशकुमारीले माहिला साहेबज्यू र आफ्ना साहिंला छोरा बद्रीनरसिंहलाई काठमाडौं झिकाउन जङ्गबहादुरसँग जिद्दी गर्न थालिन्। आमाको दबाबका कारण उनले सोही सालको पुस–माघमा नेपाल झिकाए। (चित्तरञ्जन नेपाली, ‘जङ्गबहादुरको कथा’– २०७०:२४८)
यसरी बद्रीनरसिंह प्रकरणमा अनाहकमा पहिले इलाहावाद र पछि नेपालमा ल्याएर भक्तपुरको त्रिपुर दरबारमा नजरबन्दमा राखी अमानुषिक यातना दिएको माहिला साहेबज्यूले बिर्सेका थिएनन्। (प्रमोदशमशेर राणा, ‘राणाशासनको वृत्तान्त’– २०७०:१२७) किनकि यो योजनाका योजनाकार उनी थिएनन्, त्यसैले उनको जङ्गबहादुर र उनका सन्ततिप्रति राम्रो दृष्टि थिएन।
यस प्रकरणपछि उनको निवास हनुमानढोका राजदरबारबाट बागदरबारमा सारियो। उनी कैदमुक्त भएपछि सहोदर दाजु राजा सुरेन्द्रसँगै उनलाई हनुमानढोका राख्न मनासिब नदेखिएकोले जङ्गबहादुरको तजबिजमा उनको निवास बागदरबारमा सारिएको थियो। (पुरुषोत्तमशमशेर जबरा, ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’– २०८०:७–९)

विद्रोही लखन थापामगरले पनि जङ्गबहादुरको शासन ढालेर माहिला साहेबज्यूलाई राजा थापी आफू जङ्गबहादुरको स्थानमा रहेर शासन गर्ने योजना बनाएका थिए।
लखन थापाको विद्रोह दबाउन खटिएका मेजर कप्तान शमशेरजङ्ग थापा क्षेत्री लगायतका अधिकारीहरूले वि.सं. १९३२ चैत सुदी १ मा सरकारमा जाहेर गरेको अर्जी अनुसार लखन थापाले सशस्त्र विद्रोहको तयारी गर्दा आफ्ना सहकर्मीमध्ये जहरे चुमीलाई जर्नेल, विराज थापामगर, जुठ्या थापामगर र जितमान गुरुङलाई कर्नेल पदमा नियुक्त गरेका थिए। यस्तै राजकुमार उपेन्द्रविक्रम शाहलाई राजा र आफूलाई दोस्रो व्यक्ति (प्रधानमन्त्री) को स्थानमा राख्ने योजना बनाएका थिए। (महेश सी. रेग्मी, ‘रेग्मी रिसर्च सिरिज’ वर्ष १२ अङ्क ५– डिसेम्बर १९८०:७४)
तर उनको योजना सफल हुन सकेन। लखन थापालगायत उनका ६ जना सहकर्मीलाई पल्टनै लगाएर पक्राउ गरी जङ्गबहादुरले मृत्युदण्ड दिए।
जङ्गबहादुरका सम्धी
राजनीति र कूटनीतिमा चतुर जङ्गबहादुरले कुन बेला कसलाई कस्तो रूपमा प्रयोग गर्नुपर्छ भन्ने राम्रोसँग बुझेका थिए। कोतपर्व मच्चाएर सर्वशक्तिमान् हुन पुगेका उनी विरुद्ध राजा राजेन्द्रको प्रत्यक्ष संलग्नतामा अलौ पर्व भयो। अलौ पर्वको समयमा जङ्गबहादुरले माहिला साहेबज्यूलाई आफ्नो पक्षमा पारी बुबा राजा राजेन्द्रलाई सम्झाइबुझाइ गर्न लगाएका थिए। विद्रोहीहरूलाई दबाउन सनकसिंह टण्डन र बलभद्र माझीको नेतृत्वमा सैनिकहरू अलौतिर पठाइँदा जङ्गबहादुरले उनीहरूको पछि-पछि भाइ रणोद्दीपसिंहको नेतृत्वमा थप सैनिक टोली पठाएका थिए। विद्रोह दबाउन रणोद्दीपकै साथ उनले माहिला साहेबज्यूलाई पनि पठाएका थिए। (बाबुराम आचार्य, ‘अब यस्तो कहिल्यै नहोस्’– २०६८:१५४–५५)
त्यसबेला माहिला साहेबज्यूले बुबा राजेन्द्रलाई विद्रोहीको साथ छाड्न एउटा पत्र पनि पठाएका थिए। नेपाल (२०५२:२६४–६५) ले प्रकाशित गरेको वि.सं. १९०४ वैशाख सुदीको उक्त पत्रमा “आगे हजुर्को सबारि सुगौलिमा सबारि अड्दा सार्ह्रै फिक्रि लाग्याको थीयो अब…कर्णौलमा जानछु कि त नेपाल आउछु भनि हुकुम्को लालमोहर्को भीत्र पुर्जि आउदा सार्है फिक्री लाग्याको छ. केन भन्या याहां पालनुभयो भन्या त हजुर्को पनि बढियै होला. हजुर्को बढिया भया हाम्रो पनि बढीया हुन्छ. हुजुर्को सबारी कर्णौलतिर भयो भन्या त हुजुर्को कीमार्थ बढिया हुन्या छैन…” भन्ने उल्लेख छ।
यताबाट हेर्दा नेपाल फर्कन सुगौली आई त्यहीं अडिएर बसेका बुबा राजेन्द्रलाई माहिला साहेबज्यूले कान्छी आमा रानी राज्यलक्ष्मी भएतिर नभई आफ्ना दाजु सुरेन्द्र भएतिर लागेर स्वदेशमै सम्पूर्ण परिवारको कल्याण हुने उल्लेख गरेका छन्।
इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’ पूर्णाङ्क ९३ (वैशाख २०५५:१८) मा प्रकाशमा ल्याएको कुण्डली अनुसार माहिला साहेबज्यूको जन्म वि.सं. १८८८ पुस सुदी १५ मा भएको हो। यस अनुसार अलौ पर्वको समयमा आफ्ना बुबालाई सम्झाउँदै पत्र लेख्दा उनी १६ वर्षका थिए। माथि उल्लिखित पत्रमा “…मेरो मनमा पनि यहां पाल्नुभयापछी बिन्ती गरी वीवाह नगराइ हुन्या छैन भन्न्या लाग्याको थीयो…” भन्ने परेकोले १६ वर्षको उमेरसम्म माहिला साहेबज्यू अविवाहित नै रहेका थिए भन्ने देखिन्छ। पछि उनी माहिला साहेबज्यू जङ्गबहादुरका सम्धी बन्न पुगे।
जङ्गबहादुर आफू राज्यको अकण्टक शक्तिमा आएपछि उनले आफ्नो जात बढाएर कुँवरबाट राणा बनाए। यस्तै आफ्नो मान र सान बढाउन शाह चौतरिया खलकका कन्याहरूसँग धमाधम विवाह गरे। यतिले मात्रै पुगेन, उनले आफ्नो छोरा जगतजङ्गको राजा सुरेन्द्रकी छोरी टीकाराज्यलक्ष्मीसँग र जीतजङ्गको नरेन्द्रराज्यलक्ष्मीसँग गराए। यस्तै उनले युवराज त्रैलोक्यसँग आफ्नी दुई छोरी ताराकुमारी र ललितकुमारीको विवाह गराएर राजपरिवारसँगको सम्बन्ध मजबुत बनाए।
राजपरिवारसँग सम्बन्ध मजबुत बनाउने क्रममा माहिला साहेबज्यूका छोरा धीरेन्द्रविक्रमसँग आफ्नी दुई छोरी दीपकुमारी र खड्गकुमारीको विवाह गरिदिए। यताबाट हिजो ‘आफ्नो बागी’ भनेर जसलाई अनाहकमा जेलयात्रा गराए, उनै माहिला साहेबज्यू जङ्गबहादुरका सम्धी पर्न गए। दीपकुमारी ‘बागकी कान्छी मैयाँ’ को नामले प्रख्यात भइन्। यस्तै खड्गकुमारी ‘चिरबिरे मैयाँ’ को नामले चिनिइन्। स्वार्थवश तत्कालीन सत्ता उलटपुलट गरेर वीरशमशेरलाई सत्तामा ल्याउन यी दुवैको निकै ठूलो भूमिका थियो। माहिला साहेबज्यूका छोरा धीरेन्द्रविक्रम र दीपकुमारीका नाति मोहनविक्रम शाह (द्वितीय) पछि रामनगर राज्यका राजा हुनपुगे। वि.सं. १९४४ मा दीपकुमारी निर्वासित भएर बनारसमा बस्दा त्यो सम्बन्ध जोडिएको थियो। निर्वासित राज्यलक्ष्मीका छोरा वीरेन्द्रविक्रमका नाति मोहनविक्रम (प्रथम) त्यहाँका राजा भएकोमा उनी निःसन्तान भएकोले धीरेन्द्र र दीपकुमारीका नाति मोहनविक्रम (द्वितीय) लाई धर्मपुत्र लिई त्यहाँको राजा बनाइएको थियो। (प्रकाश ए. राज, ‘कोतपर्वकी महारानी राज्यलक्ष्मी’– २०६१:भूमिका)
माहिला साहेबज्यू उपेन्द्रविक्रमकी छोरी मुनिन्द्रकुमारीको धीरशमशेरका जेठा छोरा वीरशमशेरसँग विवाह भएको थियो। ‘ठूलै सम्पत्ति भेट्टाओस्’ भनेर उनीभन्दा पाँच वर्ष जेठी भए पनि कुरा मिलाएर जङ्गबहादुरले मुनिन्द्रकुमारीसँग वीरशमशेरको विवाह गरिदिएका थिए। कन्यादानका क्रममा १२ धार्नी चाँदीको खड्कुलो वीरशमशेरले दाइजो पाएका थिए। धीरशमशेरले यो खड्कुलो आफ्नी बुहारीसँग पैंचो लिई त्यसलाई गाल्न लगाएर सबै छोराहरूका लागि एकसरो चाँदीका भाँडा बनाई इज्जत धानेका थिए। (प्रमोदशमशेर राणा, ‘राणाशासनको वृत्तान्त’– २०७०:८६)
पछि मुनिन्द्रकुमारी अर्धविक्षिप्त अवस्थामा पुगेकी थिइन्। त्यसपछि उनलाई बडामहारानी पदबाट हटाएर उनले आफ्नै निवासको लङमा कैद गरे। त्यसैदिन कान्छी पत्नी तोपकुमारीलाई बडामहारानी पद दिएर बढुवा गरी उनीतिरबाट जन्मेका सन्तानलाई रोलक्रममा समेत चढाए। (राणा, २०७०:१६२) साहेबज्यू उपेन्द्रविक्रमको राणाहरूसँग दोहोरो सम्धी साइनो रहेको थियो।
‘मैले बाहुनी बिगारें’
माहिला साहेबज्यू तन्त्रमन्त्रमा असाध्यै विश्वास गर्थे। उनी आफैं तन्त्रसाधना गर्थे। उनको त्यसबेला नाम चलेका तान्त्रिकहरूसँग सङ्गत थियो। उनी फाटेका कोट र मैला लुगा लगाएर मसानहरूमा पुगी रातभर माला जपेर बस्थे।
तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री रणोद्दीपसिंहकी जेठी महारानीको देहान्त हुँदा पशुपतिमा घाटकुरुवाका रूपमा पाल टाँगेर धीरशमशेर बसेका थिए। बिहान झिसमिसेमै झुत्रो पाखी ओढेर पालको ढोकामा पुगी माहिला साहेबज्यूले ढोकामा पहरा दिएर बसेको पालेलाई ‘सम्धीलाई यहाँ बोलाएर ले’ भने। त्यस्ता बहुरूपी मान्छे कराउन आएको देखेर सतर्क भई पालेले शुरुमा ‘हल्ट’ भने। तर साहेबज्यूलाई चिनेर उनको सन्देश धीरशमशेरसमक्ष पुर्याइदिए। तर धीरशमशेरले एकाबिहानै सम्धीसँग भेट गर्न चाहेनन्। यो कुरा थाहा पाउनासाथ साहेबज्यूले कड्किंदै ‘पाजी सम्धी कुम्भकर्ण रहेछ, लौ सधैं सुतिरहोस्’ भनी पालतिर फर्केर सुरुवाल फुकालेर पिसाब गरी फर्के। संयोगवश यो घटना भएको एक वर्ष जतिपछि धीरशमशेरको त्यहीं घाटमा देहान्त भयो। (राणा, २०७०:१२८)
यसअघि पनि साहेबज्यू उपेन्द्रविक्रमले जङ्गबहादुरको देहान्त सम्बन्धी भविष्यवाणी गरेका थिए, जो सत्य साबित भएको थियो।
जङ्गबहादुर सिकारमा जाने तरखरमा थिए। साहेबज्यू पूजा कोठामा बसेर उपासना गरिरहेको बेला अचानक काम्दै, बर्बराउँदै ‘यसपालि जङ्गेको मधेशतर्फ जाने साइत मिलेन। यो हिउँदमा सिकार गयो भने त्यसको राम्रो हुन्न, शायद त्यसले चोला फेर्नेछ’ भन्दै उफ्रन थाले। यो कुरा बागदरबारमै बसिरहेका आफ्ना दुई छोरी मार्फत जङ्गबहादुरले थाहा पाए। शुरुमा उनले हाँस्दै यिनको पागलपनको प्रलाप हो भने पनि भित्रभित्रै उनलाई झस्को पस्यो। यस्तै झस्को लिएर उनी सिकार यात्रामा हिंडे। तर सिकार यात्राकै क्रममा उनको देहान्त भयो। (राणा, २०७०:९१–९२) अर्थात् साहेबज्यूको भविष्यवाणी मिल्यो।
साहेबज्यू अनेक हर्कत गर्थे। वि.सं. १९४२ को भदौ महिनामा टुँडिखेलमा कवाज भइरहेको बेला नजिकैको बागदरबारबाट उनै साहेबज्यू आइपुगे। आफ्ना ज्वाइँ वीरशमशेरनेर पुगेर बाहुलीमा एउटा ताबिज बाँधिदिए। ठाउँ-ठाउँमा कीराले काटेर प्वाल परेको कालो ओभरकोट पाखुरामा राखिदिंदै सबैले सुन्ने गरी “लौ ज्वाइँ, अब तिमी महाराज भयौ तर कोही छोरी ‘रानी’ कोही छोरी ‘राँडी’ नहुन्।” यति भनेर उनी बागदरबारतिर फर्के। यो सुनेर पागलको कुरा भनी रणोद्दीपदेखि वीरशमशेरसम्म हाँसे। तर त्यो ताबिज बाँधेको तीन महिनापछि रणोद्दीपसिंहको हत्या गरी वीरशमशेर श्री ३ महाराज भए। उनी त्यो ताबिज निकै जतनसाथ राख्थे। तर त्यो ताबिज एक दिन हरायो। निकै खोज्दा पनि भेटिएन। ताबिज हराएको तीन महिनापछि वीरशमशेरको देहान्त भयो। (पुरुषोत्तमशमशेर जबरा, ‘श्री ३ हरूको तथ्यवृत्तान्त’– २०७६:३६८–६९)
साहेबज्यूले एक दिन आफ्नै ज्वाइँ वीरशमशेर श्री ३ महाराज हुँदा जनरल भीमशमशेरसँग एक अनौठो माग गरे, त्यो पनि आफ्नै सजायका लागि। उनले “मैले बाहुनी बिगारें, तसर्थ मैले सजाय पाउनुपर्छ। महाराजलाई यो कुरा भन र मैले के-कस्तो सजाय पाउनुपर्ने हो, मलाई खबर गर।” भीमशमशेरले वीरशमशेरलाई यो कुरा सुनाए। यो सुनेर वीरशमशेर हाँसे। त्यसपछि उनले “म सजाय दिन सक्दिनँ, श्री ५ महाराजाधिराजबाट सजाय तोकिबक्सन सकिबक्सन्छ। त्यसैले महाराजाधिराजमा बिन्ती गर्दा सरकारलाई पशुपतितर्फ गई बस्नू र धोबीखोला तरी यसतर्फ वारि नआउनू भन्ने हुकुम भएको छ” भनी पठाए। त्यसपछि उनी बागदरबार छाडी पशुपतिको राजराजेश्वरी घाटमा बस्न थाले। उनी जीवनको आखिरी अवस्थासम्म पनि त्यहीं बसे, धोबीखोला तरेनन्। (जबरा,२०७६:३६९)
कुण्डली सङ्ग्रह (पन्त, २०५५:१८) अनुसार वि.सं. १९५३ कात्तिक सुदी ८ मा माहिला साहेबज्यूको देहान्त भयो। उनी ७५ वर्षसम्म बाँचेका थिए। त्यो समयमा यो लामै आयु हो।
को हुन् माहिला साहेबज्यूका सन्तति ?
माहिला साहेबज्यूका तीन भाइ छोरा भए— धीरेन्द्र, प्रकाश र कर्णविक्रम। जेठा धीरेन्द्रविक्रमका चार छोरा भए। वंशलता अनुसार माहिला साहेबज्यूका नाति भूपतीन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम शाह हुन्। उनी रामनगरको राजा भएको माथि उल्लेख गरिसकिएको छ। यता माहिला चन्द्रविक्रम शाहका दुई छोरामध्ये जेठा छोरा नोदविक्रमका दुई छोरा भए— प्रतापविक्रम र प्रकाशविक्रम। प्रतापविक्रमतिर विनयविक्रम र सञ्जयविक्रम दुई छोरा भए भने प्रकाशविक्रमतिर सगुना र प्रार्थना गरी दुई छोरी भए। (उत्तमविक्रम शाह (सम्पा.), ‘नेपालमा शाह वंशीय राजाहरू तथा तिनका सन्ततिहरूको वंशावली’– २०५९:२४–२८)
माहिला साहेबज्यूका सन्ततिमध्ये सगुना शाह नेपाली साहित्य क्षेत्रमा लेखन र अनुवादको क्षेत्रमा स्थापित नाम हो। उनी हाल आफ्ना पुर्खा माहिला साहेबज्यू बारे केही लेखिरहेकी छन्।
बागदरबारभित्र अहिले पनि माहिला साहेबज्यूको पूजाकोठा छ, जो विगत दुई सय वर्षदेखि बन्द छ। बागदरबारको गुठी अहिले पनि चलिरहेको छ। यस गुठीमा प्रतापविक्रम शाहका छोरा विनयविक्रमका साथै प्रकाशविक्रम शाहकी जीवनसङ्गिनी सङ्गीता र छोरी सगुना गुठियार छन्।
प्रतिक्रिया 4