+

एसियन गेम्स : यस्तो छ साढे ७ दशकको इतिहास

२०८३ भदौ  ७ गते १४:१४ २०८३ भदौ ७ गते १४:१४

७५ वर्ष लामो एसियन गेम्सको इतिहासमा चीन र जापानले धेरै पदक जितेका छन् । सुरुवाती संस्करणहरूमा जापान पदक तालिकामा हावी हुँदा पछिल्लो समय भने चीनले उत्कृष्ट प्रदर्शन गर्दै अन्य राष्ट्रलाई धेरै पछि छाडेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियाडको २०औं संस्करण आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची-नागोयामा हुँदैछ, जहाँ ४५ देशका खेलाडीले ४३ खेलका ४६९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन्।
  • एसियन गेम्स १९५१ मा भारतको नयाँ दिल्लीमा शुरू भएको थियो र अहिले ७५ वर्षभन्दा लामो इतिहास पार गरिसकेको छ।
  • अल टाइम मेडल टेबलमा चीन ३ हजार ५७० पदकसहित अगाडि छ भने जापान ३ हजार २४२ र दक्षिण कोरिया २ हजार ४२५ पदकसहित क्रमशः दोस्रो र तेस्रो छन्।

७ भदौ, काठमाडौं । एसियाको खेलकुम्भ अर्थात एसियन गेम्स (एसियाड) को इतिहास साढे सात दशक भन्दा लामो छ । आफ्नो छुट्टै खेलकुद महोत्सव गर्ने लक्ष्यसहित सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो एसियन गेम्स भएको थियो ।

एसियाडको २०औं संस्करण आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची-नागोयामा हुँदैछ । दुई साता भन्दा बढी चल्ने यस खेल मेलामा एसियाका ४५ देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा ४३ खेलको विभिन्न ४६९ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

जापान तेस्रो पटक एसियन गेम्स आयोजना गर्दैछ । यसअघि सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिममा एसियन गेम्स आयोजना भएको थियो । ३२ वर्षपछि एसियन गेम्स जापानमा फर्कँदैछ ।
यस्तै थाइल्याण्ड, दक्षिण कोरिया र चीनपछि तेस्रो पटक एसियन गेम्स आयोजना गर्ने जापान चौथो राष्ट्र बन्ने तयारीमा छ ।

थाइल्याण्डले सर्वाधिक ४ पटक आयोजना गर्दा दक्षिण कोरिया र चीनले समान ३ पटक आयोजना गरेको छ ।

७५ वर्ष लामो एसियन गेम्सको इतिहासमा चीन र जापानले धेरै पदक जितेका छन् । सुरुवाती संस्करणहरूमा जापान पदक तालिकामा हावी हुँदा पछिल्लो समय भने चीनले उत्कृष्ट प्रदर्शन गर्दै अन्य राष्ट्रलाई धेरै पछि छाडेको छ ।

जापान पहिलोदेखि आठौं संस्करणसम्म शीर्ष स्थानमा थियो । नवौंदेखि १९औं संस्करणसम्म भने चीन पदक तालिकामा शीर्ष स्थानमा रह्यो ।

अल टाइम मेडल टेबलमा पनि चीन नै अघि छ । चीनले अहिलेसम्म एक हजार ६७४ स्वर्ण, १ हजार १०५ रजत र ७७१ कांस्यसहित तीन हजार ५७० पदक जितेको छ । यस्तै जापानले एक हजार ८४ स्वर्ण, एक हजार १०४ रजत र एक हजार ५४ कांस्यसहित तीन हजार २४२ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ७८७ स्वर्ण, ७२२ रजत र ९१६ कांस्यसहित दुई हजार ४२५ पदक जितेको छ । त्यसपछि धेरै पदक जित्नेमा इरान, भारत, काजखस्तान, थाइल्याण्ड, उत्तर कोरिया, चाइनिज ताइपेई र उज्वेकिस्तान छन् ।

अहिलेसम्म भएको १९ संस्करणको एसियन गेम्सबारे जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

१९५१, दिल्ली, भारत

एसियन गेम्स फेडेरेसन (एजीएफ) ले १९५१ को पहिलो संस्कण आयोजना गरेको थियो । एजीएफको ब्रेकअपपछि सन् १९८२ देखि ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले एसियन गेम्स गर्दै आएको छ ।

पहिलो एसियन गेम्स सन् १९५१ मार्च ४ देखि ११ सम्म भारतको दिल्लीमा भएको थियो । १९५० मै गर्ने तय भए पनि तयारीमा ढिला भएकोले एक वर्ष पछि सरेको थियो ।

पहिलो संस्करणमा आयोजक भारत, जापान, थाइल्याण्डलगायत ११ देशको मात्र सहभागिता थियो ।

नेपालले पहिलो संस्करणदेखि नै सहभागिता जनाएको थियो । पहिलो एसियाली खेलकुद ध्यान चन्द नेशनल स्टेडियममा राष्ट्रपति राजेन्द्र प्रसादले उद्घाटन गरेका थिए ।

विभिन्न ६ खेल (एथ्लेटिक्स, एक्वाएटिक, बास्केटबल, साइक्लिङ, फुटबल र भारोत्तोलन) समावेश खेलकुदमा कूल १६९ पदक वितरण गिरएको थियो ।

पहिलो एसियन गेम्समा जापानले सर्वाधिक २४ स्वर्ण जित्दा आयोजक भारत १५ स्वर्णसहित दोस्रो भएको थियो ।

१९५४, मनिला, फिलिपिन्स

दोस्रो संस्करणको एसियन गेम्स १९५४ मे १ देखि ९ सम्म फिलिपिन्सको मनिलामा भएको थियो । फिलिपिन्समा राष्ट्रपति रोमन म्गासेसेले मनिलास्थित रिजाल मेमोरियल स्टेडियममा उद्घाटन गरेका थिए ।

दोस्रो संस्करणमा कूल ८ खेल समावेश थियो । जसमा बक्सिङ, सुटिङ र रेस्लिङ खेल थपिदाँ साइक्लिङ भने हटाइएको थियो । १९ देशका ९७० खेलाडीको सहभागिता थियो भने २२९ पदक वितरण गरिएको थियो ।

इरानले अफिसियल मात्र सहभागी गराएको थियो । दोस्रो पटक जापान पदक तालिकामा शीर्ष स्थानमा रहँदा सर्वाधिक ३८ स्वर्ण जितेको थियो । आयोजक फिलिपिन्स १८ स्वर्णसहित दोस्रो भयो ।

१९५८, टोकियो, जापान

तस्वीर : ओसीए

तेस्रो संस्करणको एसियन गेम्स सन् १९५८ मे २४ देखि जुन १ सम्म जापानको टोकियोमा आयोजना भएको थियो । एचएम प्रेसिडेन्ट एम्पेरर हिरोहितोले ओलम्पिक स्टेडियममा उद्घाटन गरेको यस एसियन गेम्समा २० देशका १८२० खेलाडी भाग लिएका थिए ।

१२ खेल समावेश यस संस्करणमा कुल ३५० पदक वितरण भएको थियो । आयोजक जापान सर्वाधिक ६७ स्वर्ण जित्दै लगातार तेस्रो पटक पहिलो स्थानमा रह्यो ।

१९६२, जाकार्ता, इन्डोनेसिया

चौथो संस्करणको एसियन गेम्स १९६२ अगष्ट २४ देखि सेप्टेम्वर ४ सम्म इन्डोनेसियाको जाकार्ता सम्पन्न भएको थियो ।

यस संस्करणमा १३ खेल समावेश थियो भने ३७२ पदक वितरण गरिएको थियो ।

राष्ट्रपति सोएकामोले गेलोरो बुङ कामो स्टेडियममा चौथो संस्करणको उद्घाटन गरेका थिए । यस पटक १७ देशका १४६० खेलाडी सहभागी थिए ।

जापान सर्वाधिक ७३ स्वर्ण जित्दै लगातार चौथो पटक पहिलो भयो । दोस्रो भएको आयोजक इन्डोनेसियाले ११ स्वर्ण जितेको थियो ।

१९६६, बैंकक, थाइल्याण्ड

पाँचौ संस्करणको एसियन गेम्स १९६६ डिसेम्बर ९ देखि २० सम्म बैंककमा भएको थियो । यस संस्करणमा १८ देशका १९४५ खेलाडी सहभागी थिए । थाइ राजा भुमिबोल अदुलभाजेजले सुफाचालासी स्टेडियममा यस संस्करणको उद्घाटन गरेका थिए ।

पाँचौ एसियन गेम्समा १४ खेल समावेश थियो भने ४६० पदक वितरण भएको थियो । जापान ७८ स्वर्ण जित्दै फेरि पहिलो स्थानमा रह्यो । दक्षिण कोरिया १२ स्वर्णसहित दोस्रो हुँदा १२ स्वर्ण नै जितेको आयोजक थाइल्याण्ड तेस्रो भयो ।

१९७०, बैंकक, थाइल्याण्ड

एसियन गेम्सको इतिहासमा थाइल्याण्ड लगातार दोस्रो पटक एसियन गेम्स आयोजना गर्ने पहिलो राष्ट्र बन्यो । पाँचौ संस्करण आयोजना गरेकै सहर बैंककमा छैटौं संस्करण पनि आयोजना भएको थियो ।

सुरुमा दक्षिण कोरियालाई आयोजक चयन गरिए पनि आर्थिक र सुरक्षाका कारण कोरिया आयोजनाबाट पछि हट्यो र बैंककले आयोजना गर्‍यो ।

छैटौं संस्करणमा १५ खेल समावेश रहेको उक्त एसियन गेम्समा ४२३ पदक वितरण गरिएको थियो । यस्तै १८ देशका २४०० खेलाडी सहभागी थिए । जापान ७४ स्वर्ण जित्दै शीर्ष स्थानमा रह्यो ।

१९७४, तेहरान, इरान

सातौं एसियन गेम्स सन १९७४ सेप्टेम्बर १ देखि १६ सम्म तेहरानमा आयोजना भएको थियो । जसमा २५ देशका ३०१० खेलाडीले भाग लिएका थिए ।

इरानी लिडर शाह श्याम मोहम्मद रेजा पहलेभीले अर्यामेहर स्टेडियममा सातौं एसियन गेम्सको उघाटन गरेका थिए ।

१८ खेल समावेश यस संस्करणमा ६०९ पदक वितरण गरिएको थियो । जापान ७५ स्वर्ण जित्दै पहिलो भयो । ३६ स्वर्ण जितेको आयोजक इरान दोस्रो स्थानमा रह्यो ।

१९७८, बैंकक, थाइल्याण्ड

आठौँ एसियन गेम्स १९७८ डिसेम्बर ९ देखि २० सम्म थाइल्याण्डको बैंककमा आयोजना भएको थियो । बैँककले तेस्रो पटक एसियन गेम्स आयोजना गरेर ह्याट्रिक गर्‍यो ।

सुरुमा सिंगापुरलाई आयोजकको रुपमा तोकिए पनि आर्थिक कारण सिंगापुर पछि हटेपछि बैंककमा भएको हो ।

थाइ राजा भुमिबोलले नै आठौँ एसियन गेम्सको उद्घाटन गरे ।

यस संस्कणमा १९ खेल समावेश थियो जसमा २५ देशका ३८४२ खेलाडीले सहभागिता जनाएका थिए भने ६२६ पदक वितरण गरिएको थियो ।

जापान ७० स्वर्ण जित्दै शीर्ष स्थानमै रह्यो । जापान अन्तिम पटक एसियन गेम्स शीर्ष स्थानमा रहेको यही संस्करण थियो ।

१९८२, दिल्ली, भारत

३१ वर्षपछि एसियन गेम्स भारत फर्केको थियो । नवौँ संस्करण १९८२ नोभेम्वर १९ देखि डिसेम्बर ४ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भएको थियो ।

पहिलो पटक एसियन ओलम्पिक काउन्सिल (ओसीए)को मातहतमा एसियन गेम्स भएको थियो र त्यसलाई ऐतिहासिक रुपमा लिइन्छ ।

२१ खेल समावेश यस संस्करणमा ३३ राष्ट्रका कुल ४ हजार ५९५ खेलाडीले सहभागिता जनाएका थिए ।

गल्फ, ह्याण्डबल, हर्स राइडिङ, रोविङ यसैसंस्करणबाट एसियन गेम्समा समावेश गरिएको थियो ।

भारतीय राष्ट्रपति जियानी जैल सिंहले जवारलाल नेहरु स्टेडियममा एसियन गेम्सको उद्घाटन गरेका थिए ।

पदक तालिकामा जापानाको दबदबालाई तोड्दै चीन ६१ स्वर्णसहित पहिलो पटक एसियन गेम्समा शीर्ष स्थानमा रह्यो भने ५७ स्वर्ण जितेका जापान दोस्रो स्थानमा झर्‍यो ।

१९८६, सेउल, दक्षिण कोरिया

दशौं एसियन गेम्स १९८६ को सेप्टेम्वर २० देखि अक्टोवर ५ सम्म दक्षिण कोरियाको सोलमा भएको थियो ।

२४ खेल समावेश भएको दशौं एसियन गेम्समा ८४८ मेडल वितरण गरिएको थियो । जहाँ २७ देशकाल कुल ४८३९ खेलाडीले भाग लिएका थिए ।

कोरियाका राष्ट्रपति चुन दो ह्वानले सोलस्थित ओलम्पिक स्टेडियममा उद्घाटन गरेका थिए ।

यस संस्करणमा आयोजक दक्षिण कोरियाले पदक तालिकामा चीनलाई कडा टक्क दिएको थियो । तर १ स्वर्ण बढी जितेको चीन ९४ स्वर्णसहित पहिलो हुँदा ९३ स्वर्ण जितेको कोरिया दोस्रो भयो ।

१९९०, बेइजिङ, चीन

११औं एसियाली खेलकुद सेप्टेम्बर २२ देखि अक्टोबर ७ सम्म चीनको बेइजिङमा आयोजना भएको थियो ।

११औं एसियन गेम्समा कुल २७ खेल समावेश थियो । जसमा बेसबल र सफ्ट टेनिसलाई प्रदर्शनी खेलका रुपमा राखिएको थियो ।

बेइजिङको वर्कर्स स्टेडियममा भएको उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति याङ शाङ्गकुन सहभागी थिए । जसमा ३६ देशका ६ हजार ११२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

आयोजक चीन सर्वाधिक १८३ स्वर्ण जित्दै लगातार तेस्रो पटक शीर्ष स्थानमा रह्यो ।

१९९४, हिरोसिमा, जापान

१२औँ एसियन गेम्स १९९४ अक्टोबर २ देखि १६ सम्म जापानको हिरोसिमामा आयोजना भएको थियो । १९४५ को दोस्रो विश्वयुद्धमा सखाप भएको कारण आयोजक सहर हिरोसिमामालाई विशेष जोड दिइएको थियो । जापानका इम्पेरर अखितोले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

४२ देशका ६ हजार ८२८ खेलाडीले सहभागी थिए । यस खेलकुद समारोहमा ३४ खेल समावेश थियो भने कुल एक हजार ७९ मेडल वितरण गरिएको थियो । जसमा चीन १२६ स्वर्ण सहित पहिलो भयो ।

१९९८, बैंकक, थाइल्याण्ड

१३औं संस्करण आयोजना गर्दै थाइल्याण्डले सर्वाधिक चार पटक एसियन गेम्स आयोजना गर्ने पहिलो राष्ट्रको इतिहास बनायो ।

१३औं एसियन गेम्स १९९८ डिसेम्बर ६ देखि २० सम्म बैंककमा आयोजना भएको थियो । थाइ राजा भुमिबोलले रामामांगालमा नेशनल स्टेडियममा १२औँ एसियन गेम्सको उद्घाटन गरेका थिए ।

जसमा ३६ खेल समावेश थियो भने ४१ देशका ६ हजार ५५४ खेलाडीले प्रतिस्पर्धा गरका थिए । जसमा १२२५ पदक वितरण गरियो । क्यानोइ, कबड्डी र सेपाकताक्रो यसै एसियन गेम्सदेखि समावेश गरिएको थियो । चीन १२९ स्वर्ण जित्दै शीर्ष स्थानमा रह्यो ।

२००२, बुसान, दक्षिण कोरिया

१४औं एसियन गेम्स २००२ सेप्टेम्वर २९ देखि अक्टोबर १४ सम्म दक्षिण कोरियाको बुसान आयोजना भएको थियो । सोल पछि एसियन गेम्स आयोजना गर्ने बुसान दोस्रो कोरियन सहर बन्यो ।

१४औँ एसियन गेम्समा ३८ खेलको ४१९ इभेन्ट समावेश थियो । जहाँ ४४ देशका ७ हजार ७११ खेलाडीले सहभागिता जनाएका थिए । यस्तै १३५० पदक वितरण गरिएको थियो । जसमा चीनले सर्वाधिक १५० स्वर्ण जितेर पहिलो स्थान हासिल गरेको थियो ।

२००६, दोहा, कतार

१५औं एसियन गेम्स डिसेम्बर १ देखि १६ सम्म कतारको दोहामा आयोजना भएको थियो । जहाँ पहिलो पटक एसियाका ४५ वटै देशले सहभागिता जनाएका थिए । यस्तै एसियन गेम्समा कीर्तिमानी ९ हजार ५२० खेलाडी सहभागी थिए ।

१५औं एसियन गेम्समा ३९ खेल समावेश थियो भने १३९३ पदक वितरण गरिएको थियो । चीन अझ बलियो भन्दै १६५ स्वर्णसहित पहिलो भयो ।

२०१०, ग्वाङझाउ, चीन

१६औं एसियन गेम्स चीनको ग्वाङझाउमा नोभेम्बर २ देखि ११ सम्म भएको थियो ।

१६औं एसियाली खेलकुदको उद्घाटन प्रधानमन्त्री वेन जियावाओले ग्वाङझाउ ओलम्पिक स्टेडियममा उद्घाटन गरेका थिए ।

यस संस्करणमा ४२ खेल समावेश थियो भने १५७७ मेडल वितरण भएको थियो । जसमा ४५ देशका ९ हजार ७०४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

आयोजक चीन सर्वाधिक १९९ स्वर्ण जित्दै पहिलो भएको थियो ।

२०१४, इन्चोन, दक्षिण कोरिया

१७औँ एसियन गेम्स २०१४ सेप्टेम्वर १९ देखि अक्टोवर ४ सम्म दक्षिण कोरियाको इन्चोनमा भएको थियो । १७औँ एसियन गेम्समा ४५ देशका ९ हजार ५०१ खेलाडीले सहभागिता जनाएका थिए । जसको उद्घाटन इन्चोन एसियद स्टेडियममा राष्ट्रपति पार्क गुएन ह्येले गरेका थिए ।

३६ खेल समावेश यस खेलकुद समारोहमा कुल एक हजार ४५४ मेडल वितरण गरिएको थियो । चीन १५१ स्वर्ण जितेर १७औं एसियन गेम्सको शीर्ष स्थान रहेको थियो ।

२०१८, जाकार्ता/पालेम्बुङ, इन्डोनेसिया

१८औं संस्करणको एसियन गेम्स २०१८ अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेसियाको दुई सहरमा आयोजना भएको थियो ।

१८औं एसियन गेम्सको उद्घाटन त्यहाँका राष्ट्रपति जोको वाइडोडोले गरेका थिए ।

जसमा ४० खेलका कूल ४६५ इभेन्ट समावेश थिए भने एसियाका ४५ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । १८औं एसियन गेम्समा चीनले सर्वाधिक १३२ स्वर्ण जितेर पहिलो स्थान हासिल गरेको थियो ।

जापान र दक्षिण कोरिया क्रमश: दोस्रो र तेस्रो भए भने आयोजक इन्डोनेसिया ३१ स्वर्ण जितेर चौथो भएको थियो ।

२०२२, हान्झाउ, चीन

सन् २०२२ मा आयोजना हुनुपर्ने १९औं एसियन गेम्स कोभिड १९ को असरका कारण एक वर्ष ढिला २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउमा भएको थियो ।

१९औं एसियन गेम्सको उद्घाटन चिनिया राष्ट्रपति सी जिनपिङले गरेका थिए ।

यस संस्करणमा एसियाका ४५ राष्ट्र ११ हजार ९०९ खेलाडीको सहभागिता थियो ।

उनीहरूले ४० खेलको ६१ विधा अन्तर्गत रहेको ४८१ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

१९औं एसियन गेम्समा आयोजक चीन सर्वाधिक २०१ स्वर्ण जितेर पहिलो स्थान रह्यो । चीनले पहिलो पटक एकै संस्करणमा २०० स्वर्ण कटाएको हो । चीनले १११ रजत र ७१ कांस्य समेत जित्दे कूल ३८३ पदक जितेको थियो ।

यस्ते जापान ५२ स्वर्ण जितेर दोस्रो तथा दक्षिण कोरिया ४२ स्वर्णसहित तेस्रो भयो ।

२०औं एसियन गेम्स एसियन गेम्स

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय