८ भदौ, सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका-१ फत्तेपुरस्थित रहेका त्रियुगा नदीबाट पूर्वोत्तर भेगमा सिँचाइ सुविधा पुर्याउँदै आएको ऐतिहासिक चन्द्र नहर शताब्दीको संघारमा पुगेको छ ।
राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालको अन्तिम समयमा वि.सं. १९७९ मा निर्माण सुरु भएको नहर वि.सं. १९८४ मा सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको हिसाबले चन्द्र नहरले आगामी वर्ष शतवार्षिकी मनाउनेछ ।
नेपालको सिँचाइ प्रणालीको इतिहाससँग प्रत्यक्ष जोडिएको चन्द्र नहरलाई संरक्षण गर्दै अन्तर्राष्ट्रियस्तरमा यसको ऐतिहासिक महत्व स्थापित गर्ने तयारीसमेत अघि बढेको छ ।
संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले चन्द्र नहरलाई अन्तर्राष्ट्रिय सिँचाइ तथा जलनिकास आयोग (ICID) को ‘विश्व सम्पदा सिँचाइ संरचना’ सूचीमा समावेश गर्न मन्त्रालयले सिफारिस गर्ने प्रक्रिया अघि बढाइरहेको बताएका छन् ।
आइतबार चन्द्र नहरको उद्गमस्थल फत्तेपुर पुगेका मन्त्री श्रेष्ठले नेपालको सिँचाइ इतिहासमा महत्वपूर्ण स्थान राख्ने चन्द्र नहरको संरक्षण आवश्यक रहेको बताए । उनले यसको ऐतिहासिक गौरवलाई विश्वसामु चिनाउन पहल गरिने र आवश्यकताअनुसार नहरलाई आधुनिक बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।
अनुगमन टोलीमा सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य दीपक साह, सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकाल, कोशी पम्प चन्द्र नहर सिँचाइ व्यवस्थापन कार्यालय राजविराजका कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवगायतका सहभागीहरू थिए ।
चन्द्र नहर सिँचाइ प्रणालीबाट वर्षायाममा करिब १० हजार ५ सय हेक्टर र हिउँदमा ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको कार्यालयले जनाएको छ । नहरको मुख्य लम्बाइ २९ किलोमिटर र बहाव क्षमता १४.१५ घनमिटर प्रतिसेकेन्ड रहेको छ ।
चन्द्र नहर प्रणालीमा ११ वटा शाखा नहर, ३८ वटा डाइरेक्ट आउटलेट, ५ वटा इनलेट र ४ वटा एस्केप रहेका छन् । त्यस्तै, ८ वटा साइफन, १३ वटा लोकल ड्रेन साइफन, ३ वटा एक्वाडक्ट, २६ वटा भिलेज रोड ब्रिज, ६ वटा फुटब्रिज तथा २ वटा वाटरफल रहेको कार्यालयले जनाएको छ ।
सप्तरीमा साविकका ११४ गाविसमध्ये २९ गाविसमा चन्द्र नहरले सिँचाइ सेवा पुर्याउँदै आएको थियो । यसले लामो समयदेखि जिल्लाको कृषि उत्पादन र कृषकको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
नेपालको सबैभन्दा पुरानो सिँचाइ प्रणालीका रूपमा परिचित चन्द्र नहर अहिले संरक्षण र आधुनिकीकरणको चुनौतीबीच शताब्दीको संघारमा पुगेको छ । आयोजनाले नहरलाई सुरक्षित, व्यवस्थित र गतिशील बनाइराख्न नियमित रूपमा संरक्षण तथा मर्मतसम्भारको काम गर्दै आएको जनाएको छ ।
चन्द्र नहरलाई अन्तर्राष्ट्रिय सिँचाइ सम्पदाको सूचीमा समावेश गराउने पहल सफल भएमा नेपालको सिँचाइ इतिहासमा मात्र नभई सप्तरीको ऐतिहासिक तथा कृषि सम्पदालाई समेत अन्तर्राष्ट्रिय पहिचान दिलाउने स्थानीय रिमु चाैधरीले बताए । सो अवसरमा स्थानीयहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्रेष्ठलाई स्वागत समेत गरेका थिए ।
प्रतिक्रिया 4