८ भदौ, सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी झन्डै डेढ महिनापछि सञ्चालनमा आउने तयारी चरणमा पुगेको छ । डाक्लाङ, चारकिलो, कोदारीको इको र लिपिङ क्षेत्रमा गएको पहिरोका कारण कोदारी राजमार्ग अवरुद्ध भएको थियो । सोही कारण तातोपानी नाका बन्द हुन पुगेको थियो ।
अहिले सडक मर्मत भएपछि अब एक साताभित्र उक्त नाका सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
पहिरोका कारण तातोपानी भन्सारको लार्चा यार्डदेखि लिपिङसम्म करिब ३० वटा मालवाहक कन्टेनर बाटोमै रोकिएका छन् । डाक्लाङ क्षेत्रमा सडक खुलिसकेको छ भने सोमबारदेखि कोदारीको इको क्षेत्रमा पनि सवारी सञ्चालनमा आएको छ ।
अब नाका सञ्चालनका लागि लिपिङ क्षेत्रको सडक जोड्नु मुख्य चुनौती बनेको छ । लिपिङ क्षेत्रमा पहिरोले सडकको मुनिकै जमिन बगाएको छ ।
माथिल्लो भागमा बस्ती र तलतिर भोटेकोशी नदीको निरन्तर कटान भइरहेकाले सडक पुन:निर्माण जटिल बनेको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ ।
यहाँ सडक अतिक्रमण गरेर बनेका घर तथा अन्य संरचना हटाउँदै सडक निर्माणको काम सुरु गरिएको छ । अतिक्रमित संरचनाबाट सामान सार्न दिइएको पाँच दिनको समय सकिएसँगै अब संरचना हटाएर सडक सञ्चालनको काम तीव्र पारिने भएको छ ।
चारकिलो पहिरोमाथिको पन्थली र इको पहिरोमाथिको कोदारी गाउँका बासिन्दासँग चरणबद्ध छलफलपछि बस्तीको सुरक्षालाई प्राथमिकतामा राख्दै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।
यसपटक सडक खुलाउने काम सडक डिभिजन कार्यालय चरिकोटले आफ्नै स्रोतसाधन परिचालन गरेर गरिरहेको इन्जिनियर नेत्रविलास पौडेलले बताए ।
उनका अनुसार चिनियाँ कम्पनीले निर्माण कार्य अघि नबढाएपछि सडक डिभिजनले आफ्नै स्रोतसाधन प्रयोग गरेर सडक खुलाउने प्रयास गरिरहेको छ ।
इको क्षेत्रमा सडक सञ्चालनमा आइसकेकाले अब लिपिङको सडक जोडिएपछि बाटोमै रोकिएका कन्टेनर तातोपानी भन्सारसम्म पुग्ने अपेक्षा गरिएको छ ।
चाडपर्व नजिकिँदै गर्दा तातोपानी नाका बन्द हुँदा फलफूल, लत्ताकपडा, इलेक्ट्रोनिक्सलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने र बजार मूल्य बढ्नसक्ने चिन्ता व्यवसायीमा बढेको छ ।
प्रशासनले तत्कालका लागि पहिरोबीच अल्झिएका कन्टेनर र मालवाहक सवारीसाधनलाई नेपालतर्फ ल्याउने वातावरण बनाउने कामलाई प्राथमिकता दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरले बताए ।
तातोपानी चीनसँगको छोटो र प्रमुख व्यापारिक नाका हो । व्यवसायीका अनुसार भारतको समुद्री मार्ग हुँदै सामान नेपाल ल्याउँदा करिब डेढ महिनासम्म लाग्ने गर्छ। तर तातोपानी र रसुवागढीजस्ता उत्तरी नाका सहज हुँदा चीनबाट सामान दुईदेखि तीन हप्तामै काठमाडौं आइपुग्ने गर्दछ ।
लामो समय नाका बन्द हुँदा आयात–निर्यातसँगै सीमा क्षेत्रको दैनिक जनजीवनसमेत प्रभावित भएको छ । करिब डेढ सय कन्टेनर सामान खासाबाट केरुङतर्फ फिर्ता लगिएको बताइएको छ । दसैंका लागि आयात गर्न लागिएका सामानसमेत तातोपानी नाकाबाट ल्याउन चिनियाँ ट्रान्सपोर्ट कम्पनीले अस्वीकार गरेको व्यवसायी बताउँछन् ।
तातोपानी नाका राज्यको राजस्व र बजार आपूर्तिसँग प्रत्यक्ष जोडिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा तातोपानी भन्सार कार्यालयले करिब १७ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षका लागि भने २५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको छ ।
२०७२ सालको भूकम्पपछि लामो समय बन्द रहेको यो नाका पुन: सञ्चालनमा आए पनि अझै पुरानै क्षमतामा फर्किन सकेको छैन । अहिले लिपिङ क्षेत्रको सडक जोड्ने काम सफल भए आगामी एक साताभित्र तातोपानी नाका पुन: सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4