+
+
Shares

अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते ८:०२

९ भदौ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ बजारमा गाउँपालिकामै पहिलोपटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ । भैंसीपालक किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्दै आर्थिक रूपमा सबल बनाउने उद्देश्यले जन विकास साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहलमा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी अनुदान, विकास तथा प्रशिक्षण केन्द्र, पोखराको ९० प्रतिशत आर्थिक अनुदानमा चिस्यान केन्द्र स्थापना गरिएको हो ।

आयोजनाका लागि प्रशिक्षण केन्द्रले चार लाख ७२ हजार पाँच सय रुपैयाँ लगानी गरेको छ भने सहकारीले ५२ हजार पाँच सय रुपैयाँ साझेदारी गरेको छ ।

केन्द्रमा पाँच सय लिटर क्षमताको मिल्क चिलिङ मेसिन जडान गरिएको छ । साथै दूधको गुणस्तर परीक्षणका लागि मिल्क एनालाइजर, प्रिन्टर, मिल्क क्यान र सेन्ट्रिफ्युज मेसिन पनि खरिद गरी प्रयोगमा ल्याइएको सहकारीले जनाएको छ ।

अब किसानले ल्याएको दूधको फ्याट र ल्याक्टोको मात्रा परीक्षण गरी मूल्य निर्धारण गरिनेछ । यसबाट दूधको गुणस्तरअनुसार किसानले उचित मूल्य पाउने अपेक्षा गरिएको छ ।

चिस्यान केन्द्रको उद्घाटन तथा सञ्चालन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले केन्द्र सञ्चालनसँगै किसानले तत्काल अपेक्षाअनुसारको मूल्य नपाउन सक्ने भएकाले त्यसको पूर्तिका लागि गाउँपालिकाले उत्पादनको परिमाण हेरेर मासिक रूपमा उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने बताए ।

उनले सहकारीमार्फत उन्नत जातका भैंसी खरिदका लागि लिएको ऋणको ब्याजमा पनि ५० प्रतिशत अनुदान दिने जानकारी दिए ।

पालिकामै यसअघि राज्यको सहयोगमा दुग्ध चिस्यान केन्द्रको भवन निर्माण भए पनि सञ्चालनमा आउन नसकेको उल्लेख गर्दै अध्यक्ष तिवारीले कुनै पनि योजना सुरु गर्नु मात्र पर्याप्त नहुने र त्यसलाई परिणाममा पुर्‍याउनु चुनौतीपूर्ण हुने बताए ।

अब चिस्यान केन्द्रलाई क्रमशः डेरीका रूपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै तिवारीले किसानका समस्या समाधानमा गाउँपालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रणबहादुर थापा, वडा नम्बर २ का अध्यक्ष धनबहादुर गुरुङ, वडा नम्बर ३ का अध्यक्ष शोभाकान्त काफ्ले, गाउँपालिकाका कृषि प्रमुख डोलराज गैह्रे, सहकारीको ऋण उपसमिति संयोजक तारापति पौडेल तथा सदस्य नारायण काफ्लेलगायतले धारणा राखेका थिए ।

सहकारीले किसानलाई सात प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएपछि स्थानीय किसान भैंसीपालनतर्फ आकर्षित भएको जन विकास साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष खडानन्द पौडेलले बताए । दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएपछि किसानको उत्पादनलाई व्यवस्थित बजारसँग जोड्ने प्रयासले सार्थकता पाएको उनको भनाइ छ ।

चिस्यान केन्द्र सञ्चालनको पहिलो दिनमै किसानबाट ४८ दशमलव ५ लिटर दूध संकलन भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?