+
+
Shares

क्यानडालाई ट्रम्पको अटो क्षेत्रमा ५० प्रतिशत कर लगाउने चेतावनी, कार्नीको जवाफ- क्यानडा झुक्दैन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कार, ट्रक, अटो पार्ट्स र स्टिलमा ५० प्रतिशत भन्सार लगाउने चेतावनी दिएका छन्।
  • क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको कदमलाई क्यानडाको अटो उद्योग ध्वस्त पार्ने प्रयास भनेका छन् र सेप्टेम्बर ८ देखि अमेरिकी सामानमा सोही मात्राको भन्सार लगाउने घोषणा गरिसकेका छन्।
  • येल बजेट ल्याबका अनुसार नयाँ भन्सार नीतिबाट प्रत्येक अमेरिकी परिवारले वार्षिक औसत १,१०० डलर अतिरिक्त खर्च व्यहोर्नुपर्नेछ।
  • क्यानडाले अमेरिका बाहेकका मुलुकसँग व्यापार विस्तार गर्न ६ वटा आइसब्रेकर पानीजहाज निर्माणका लागि ११ अर्ब क्यानाडाली डलरको बजेट घोषणा गरेको छ।

९ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने कार, ट्रक, अटो पार्ट्स र स्टिलमा भन्सार महसुल ५० प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन्।

वार्ता विफल भएपछि ट्रम्पले जनवरी १ देखि नयाँ भन्सार दर लागू गर्ने घोषणा गर्दै क्यानडालाई अमेरिकामाथि अनुचित फाइदा उठाएको आरोप लगाए।

प्रतिक्रियामा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको पछिल्लो कदमलाई क्यानडाको अटो उद्योग ध्वस्त पार्ने प्रयासको रूपमा अर्थ्याएका छन्। ट्रम्पका प्रस्तावहरूले क्यानडाको उत्पादनलाई बिस्तारै सिध्याउने कार्नीले बताए।

उनले अमेरिकाले ‘क्यानडा अमेरिकाको सहायक कम्पनी हो’ भन्ने व्यवहार देखाएको भन्दै त्यसलाई स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

कार्नीले ट्रम्पको अघिल्लो भन्सार नीतिको बदलामा क्यानडाले पनि सेप्टेम्बर ८ देखि सोही मात्रामा अमेरिकी सामानमा भन्सार लगाउने यसअघि नै घोषणा गरिसकेका छन्।

आर्थिक लडाइँमा क्यानडासँग के-के छन् ‘हतियार’?

क्यानडाले आफ्नो कुल उत्पादनको करिब ७० प्रतिशत सामान अमेरिका निर्यात गर्छ। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकासँगको व्यापार युद्धमा कमजोर देखिए पनि क्यानडासँग अमेरिकालाई नै आर्थिक रूपमा अप्ठ्यारोमा पार्न सक्ने थुप्रै रणनीतिक क्षेत्रहरू छन् ।

२६ अमेरिकी राज्यको प्रमुख ग्राहक: क्यानडा अमेरिकाका ५० मध्ये २६ राज्यहरू (जस्तै: मिसिगन, मेन, विस्कन्सिन आदि) को सबैभन्दा ठूलो ग्राहक हो। त्यस्तै, ४५ राज्यका लागि क्यानडा शीर्ष तीन व्यापारिक साझेदारभित्र पर्दछ।

ऊर्जा र इन्धनमा अमेरिकी निर्भरता: अमेरिकाले आयात गर्ने कुल कच्चा तेलको करिब ६० प्रतिशत र अधिकांश प्राकृतिक ग्यास तथा बिजुली क्यानडाबाटै जान्छ। क्यानडाका प्रान्तीय नेताहरूले अमेरिका जाने ऊर्जामा थप ‘सर्चार्ज’ लगाउने चेतावनी दिएका छन्।

ओन्टारियोका प्रिमियर डग फोर्डका अनुसार क्यानाडाली तेल र बिजुलीबिना अमेरिकी उद्योगहरू प्रभावित हुन सक्छन्।

रासायनिक मल र रणनीतिक खनिज: कृषिमा प्रयोग हुने रासायनिक मलको प्रमुख कच्चा पदार्थ पोटासको विश्वमै सबैभन्दा ठूलो आपूर्तिकर्ता क्यानडा हो। यसबाहेक आधुनिक प्रविधि र ब्याट्रीमा प्रयोग हुने लिथियम, निकल र ग्रेफाइट जस्ता महत्त्वपूर्ण खनिजहरूको ठूलो भण्डार क्यानडासँग छ।

अमेरिकी उत्पादनको बहिष्कार र पर्यटनमा धक्का

क्यानडाले यसअघि नै अमेरिकी अर्थतन्त्रलाई धक्का पुर्‍याउन सक्ने क्षमता देखाइसकेको छ ।

अमेरिकी मदिरामाथि प्रतिबन्ध: क्यानडाका १३ मध्ये ११ प्रान्तहरूमा अमेरिकी मदिराको बिक्रीमा प्रतिबन्ध कायमै छ। यस प्रतिबन्धका कारण क्यानडामा हुने अमेरिकी वाइन र स्पिरिट्सको निर्यात ७० देखि ७८ प्रतिशतसम्म घटेको छ, जसबाट अमेरिकी मदिरा उद्योगले ३५ करोड डलरभन्दा बढीको क्षति व्यहोरेको छ।

पर्यटन बहिष्कार: क्यानाडाली नागरिकहरूले अमेरिका भ्रमण घटाउँदा अमेरिकी पर्यटन क्षेत्रलाई गत वर्ष मात्रै करिब २.३५ अर्ब अमेरिकी डलर (३.३ अर्ब क्यानाडाली डलर) को नोक्सानी भएको तथ्यांक छ।

अमेरिकी उपभोक्ता र उद्योगमै महँगीको मार

व्यापार विश्लेषकहरूका अनुसार ट्यारिफको असर क्यानडामा मात्र सीमित नभई सिधै अमेरिकी उपभोक्ताको भान्सा र उद्योगसम्म पुग्नेछ ।

‘येल बजेट ल्याब’ को अध्ययनअनुसार नयाँ भन्सार नीतिका कारण प्रत्येक अमेरिकी परिवारले वार्षिक औसत १,१०० डलर अतिरिक्त खर्च व्यहोर्नुपर्नेछ। ट्रम्पका कदमहरूले अमेरिकी परिवारमाथि अतिरिक्त भार बढ्नेछ ।

योसँगै अटोमोबाइल क्षेत्र पनि प्रभावित हुनेछन् । क्यानडा अमेरिकी कारहरूको सबैभन्दा ठूलो खरिदकर्ता हो। क्यानडाबाट आउने अटो पार्ट्समा ५० प्रतिशत भन्सार लगाउँदा मिसिगन, ओहायो, केन्टुकी र अलाबामा जस्ता अमेरिकी राज्यका लाखौँ कामदार र उद्योगहरू प्रत्यक्ष मारमा पर्नेछन्।

प्लाईउड, काठ, निर्माण सामग्रीदेखि लिएर दैनिक उपभोग्य वस्तुसम्मको मूल्य अमेरिकामा बढ्नेछ।

यसैबीच, अमेरिकामाथिको परम्परागत निर्भरता तोड्न क्यानडाले नयाँ रणनीतिक कदमहरू चालेको छ । यसका लागि क्यानडाले ११ अर्ब डलरको नयाँ परियोजना सुरु गरेको छ ।

प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाबाहेकका अन्य मुलुकहरूसँग व्यापार विस्तार गर्न र उत्तरी तथा एट्लान्टिक जलमार्ग खुला राख्न ६ वटा ठूला ‘आइसब्रेकर’ पानीजहाज निर्माणका लागि ११ अर्ब क्यानाडाली डलरको बजेट घोषणा गरेका छन्।

अमेरिका, क्यानडा र मेक्सिकोबीचको १.६ ट्रिलियन (१६ खर्ब) डलर बराबरको ‘युएसएमसीए’ व्यापार सम्झौता नवीकरण हुने सम्भावना कमजोर बन्दै गएको छ। अक्सफोर्ड इकोनोमिक्सका अनुसार यो सम्झौता भंग भएमा उत्तर अमेरिकाको समग्र आर्थिक वृद्धिमा दीर्घकालीन धक्का पुग्नेछ।

आन्तरिक रूपमा ७६ प्रतिशत क्यानाडाली नागरिकहरूले अमेरिकी अनुचित सर्तहरू नस्वीकार्ने सरकारको अडानलाई समर्थन जनाएका छन्, जसले गर्दा यो व्यापार तनाव तत्काल साम्य हुने संकेत देखिएको छैन।

(बीबीसीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?