News Summary
Generated by OK AI. Editorially reviewed.- सिप्रदी ट्रेडिङले यात्रीसँग सहकार्य गर्दै नेपालमै निर्मित पी-२ विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।
- सीईओ राजनबाबु श्रेष्ठले नेपालमा दुई पाङ्ग्रे उत्पादनका लागि नीतिगत अस्पष्टता, स्वीकृति प्रक्रिया र पूर्वाधार चुनौती बनेको बताए ।
- कम्पनीले नेपाली सडक र उपभोक्ता आवश्यकता अनुसार डिजाइन गरिएको यो स्कुटरले ‘मेड इन नेपाल’ प्रतिको विश्वास बढाउने अपेक्षा गरेको छ ।
नेपालको अटोमोबाइल बजार लामो समयदेखि आयातमा निर्भर रहँदै आएको छ । विशेषगरी दुई पाङ्ग्रे सवारी बजारमा भारत र चीनबाट आयात हुने ब्रान्डको दबदबा छ । पछिल्लो समय विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै गए पनि नेपालमै डिजाइन तथा उत्पादन हुने इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी संख्या भने निकै सीमित छ ।
यही पृष्ठभूमिमा नेपाली स्टार्टअप कम्पनी यात्रीसँग सिप्रदी ट्रेडिङले सहकार्य गर्दै नेपालमै इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादन गर्ने परियोजना अघि बढाएको हो । यात्रीले यसअघि मोटरसाइकल मार्फत नेपाली बजारमा आफ्नो पहिचान बनाएको थियो । सिप्रदीसँगको सहकार्यपछि भने नेपाली उपभोक्ता लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरिएको छ । सिप्रदीले यात्रीसँगको सहकार्यमा पी-२ विद्युतीय स्कुटर नेपाली बजार ल्याएको हो ।
सिप्रदीका लागि यो परियोजना टु–ह्विलर बजारमा प्रवेश गर्ने प्रयासमात्र होइन, नेपालमै सवारीसाधन उत्पादन गर्ने नयाँ यात्रा सुरुवात पनि हो । कम्पनीले नेपाली सडक, मौसम, राइडिङ अवस्था र उपभोक्ता आवश्यकता ध्यानमा राखेर उत्पादन विकास गरिएको बताएको छ ।
तर, नेपालमै सवारी उत्पादन यात्रा सहज भने छैन । नीतिगत अस्पष्टता, स्वीकृति प्रक्रिया, उत्पादन लागत, पूर्वाधार, आपूर्ति शृङ्खला र आयातित ब्रान्डसँगको प्रतिस्पर्धा मुख्य चुनौतीका रूपमा छन् । यस्तो अवस्थामा नेपालमै उत्पादित इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीलाई बजारमा स्थापित गर्ने रणनीति, सिप्रदीले यात्रीसँग गरेको सहकार्य लगायत विषयमा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठसँग अनलाइनखबरकर्मी कृष्णसिंह धामीले गरेको कुराकानी :
यसअघि हामी छिमेकी देशबाट आयात गरिएका सवारीसाधनमा निर्भर थियौं । तर, अब त्यो निर्भरता तोड्ने प्रयास भएको छ । यात्रीको उत्पादनका विशेषता र यसले नेपाली ग्राहकको आवश्यकता कसरी पूरा गर्छ ?
यात्रीको अस्तित्व नै ‘डिजाइन एन्ड इन्जिनियरिङ’ हो । नेपालमा फिचरहरू र वास्तविक पेनिङ ध्यान दिएर यसमा काम गरिएको छ । यो एउटा ग्लोबल लेभलको प्रडक्ट हो । यसको पावरट्रेन र ब्याट्री भ्यालुले यसलाई निकै उत्कृष्ट बनाएको छ ।
सिप्रदीले दुई वर्षअघि यात्रीसँग सम्झौता गर्दा नेपालमै दुई पाङ्ग्रे सवारी उत्पादन गर्ने प्रतिबद्धता जनाएको थियो । तपाईंहरूलाई यसमा के कुराले प्रेरित गर्यो ?
सिप्रदीले ४४ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा काम गरिरहेको छ । हाम्रो स्पेसमध्ये टु-ह्विलर क्षेत्र खाली थियो । त्यसैले टु-ह्विलरमा आउनुपर्छ भन्ने सोच थियो । तर, सामान्य उत्पादन भन्दा देशलाई योगदान गर्न सक्ने प्रडक्ट लिएर आउने हाम्रो उद्देश्य थियो ।
संसार नै ई-मोबिलिटीमा गइरहेकाले हामी पनि इलेक्ट्रिक टु-ह्विलरमै जानुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । त्यसका लागि धेरै अध्ययन गर्यौं । बाहिरबाट आउने धेरै उत्पादन नेपालका लागि बनेका होइनन् भन्ने देखियो । त्यसमाथि १०-१५ वर्षअघि नेपालमा आएका इलेक्ट्रिक टु-ह्विलरको राइडिङ अनुभव राम्रो नभएकाले मानिसको मनमा इलेक्ट्रिक टु-ह्विलरप्रति नकारात्मक धारणा थियो । त्यो धारणा तोड्नु आवश्यक थियो ।

नेपालका सडक अनुसार पर्फर्मेन्स, सुरक्षा, कम्फर्ट र प्रयोगका आवश्यकता पूरा गर्ने उत्पादन चाहिएको थियो । यही क्रममा हामीले यात्रीलाई भेट्यौं । उहाँहरूको इन्जिनियरिङ क्षमता र उत्पादन हेर्दा यही टिमसँग काम गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि यात्रीसँग सहकार्य गरेर नेपालीका लागि नेपालमै इलेक्ट्रिक टु-ह्विलर उत्पादन गर्ने निर्णय गर्यौं । अहिलेको उत्पादन हेर्दा त्यो निर्णय सही थियो भन्ने लाग्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिएका परीक्षण र प्राप्त प्रमाणपत्रले पनि त्यसलाई पुष्टि गरेको छ ।
यात्रीले यसअघि मोटरसाइकल बनाइरहेको थियो । तपाईंहरूको सहकार्यबाट स्कुटर तयार भएको छ । दुई वर्षको यात्रा कस्तो रह्यो ? नेपालमै कन्सेप्टदेखि उत्पादनसम्म गर्दा कस्ता चुनौती आए ?
जब दुइटा टिमको सोच एउटै हुन्छ, त्यो भएपछि के छ भने काम गर्दाखेरि धेरै रमाइलो हुँदो रहेछ । जुन किसिमको सिनर्जी चाहिन्छ, त्यो सिनर्जी आउँदो रहेछ । जसले गर्दा यो जुन साझेदारीको अथवा यो संयुक्त लगानीको पनि एउटा रमाइलो पक्ष त्यहाँ देखियो । त्यसले गर्दाखेरि हामीले धेरै नै उत्कृष्ट अनुभव हासिल गर्यौं । तर, चुनौतीबारे भन्दा हामीले नेपालमा यो उत्पादन बनाउँदा धेरै चिज विशेषगरी सरकारी नियमनको कुरा छ, धेरै ठाउँमा प्रक्रिया जुन पूर्ण भइसकेका थिएनन्, कति ठाउँबाट अनुमति लिनुपर्ने, त्यसका लागि पनि तोकिएका नीतिका कुरा अथवा चाहे यो नियम कानुनको कुरा, त्यो सबै ठाउँमा प्रस्ट नहुँदा हामीलाई बुझाउन अलिकति समय लाग्यो ।
त्यो अलिकति चुनौती थियो । तर, त्यो हुँदा पनि सबैले एकदमै सहयोग गरे । सरकारका तर्फबाट र अरू हाम्रा सहयोगी अथवा साझेदार सबैबाट सहयोग पाइसकेपछि हामीलाई यो काम गर्न सजिलो भयो । तर, त्यस अवधिमा हामीले हाम्रो अलि नयाँ उत्पादन, पहिलो उत्पादन नेपालमै बनेको भन्दा जुन किसिमको प्रक्रियामा समय लाग्यो, त्यसले गर्दा हाम्रो परियोजना नै अलिकति ढिला भयो । तर, पनि जुन किसिमको मिहिनेत गरेर अलिकति ढिलो भए पनि हामीले जुन किसिमको उत्पादन ल्याएका छौं, त्यसबाट हामी एकदमै धेरै खुसी छौं ।
अटो क्षेत्रमा तीव्र प्रतिस्पर्धा छ । यस्तो अवस्थामा नेपालमै उत्पादित सवारीलाई कसरी अगाडि बढाउनुहुन्छ ?
हामीले अझै सरकारबाट केही सहयोगको अपेक्षा गरेका छौं, विशेषगरी नीतिगत क्षेत्रमा । नेपालमै सवारी उत्पादन हुन्छ भन्नेमा अझै पनि केही उपभोक्ताको विश्वास निर्माण गर्नुपर्ने अवस्था छ । अहिले हामीले नेपालमै उत्पादन गरेर देखाउन सकेका छौं । यसले ‘मेड इन नेपाल’ प्रतिको विश्वास बढाउने छ भन्ने हाम्रो अपेक्षा छ ।
त्यससँगै प्रत्येक डिजाइन र उत्पादनमा लागत कसरी घटाउने र ग्राहकलाई अपेक्षा अनुसार उत्कृष्ट मूल्य दिने भन्नेमा ध्यान दिइरहेका छौं । सुरुमा नै अत्यन्त प्रतिस्पर्धी बन्न नसकिए पनि सरकारको सहयोग र हाम्रो निरन्तर प्रयासबाट क्रमश: प्रतिस्पर्धी बन्दै जानेछौं ।
प्रविधि निरन्तर परिवर्तन भइरहेको छ । यो पहिलो उत्पादन हो र आगामी दिनमा थप उत्पादनमा जाने हाम्रो योजना छ । नयाँ–नयाँ प्रविधिसहित थप मोडेल ल्याउँदै जानेछौं । त्यसबाट भविष्यमा हामी अझ प्रतिस्पर्धी बन्न सक्ने विश्वास छ ।
प्रतिक्रिया 4