+
+
Shares

मिना ल्याब्सले जुटायो थप १३ लाख लगानी, कुल पुँजी ४.८ मिलियन डलर पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ८:५०

१० भदौ, काठमाडौं । नेपाली युवा सुदीप रोकाया र कार्तिकेश मिश्रले सह-संस्थापन गरेको सान फ्रान्सिस्को स्थित स्टार्टअप लामिना ल्याब्सले थप लगानी भिर्त्याएको छ । यसअघि प्राप्त तीन मिलियन डलरको सिड फन्डिङपछि कम्पनीले हालसम्म जम्मा ४.८ मिलियन डलर लगानी जुटाइसकेको हो ।

वाई कम्बिनेटरबाट सुरुमा ५ लाख डलर र पछि पहिलो लगानीकर्ताबाटै सिधै तीन मिलियन डलर पाएको लामिना ल्याब्सले थप फलो–अन फन्डिङमार्फत यो रकम जुटाएको हो ।

‘अब हामीले उठाएको फन्ड जम्मा ४.३ मिलियन डलर पुगेको छ । यसअघि ३ मिलियन डलर उठाएका थियौँ,‘ यसका सहसंस्थापक सुदीप रोकायाले अनलाइनखबरसँग भने ।

कम्पनीका लगानीकर्तामा वाई कम्बिनेटर र फाउन्डेसन क्यापिटल रहेका छन् ।

लिंक भेन्चर्सले पनि आफ्नो २०२६ पोर्टफोलियोमा लामिना ल्याब्सलाई सूचीकृत गर्दै यसलाई एआईका लागि ‘भिजुअल आउटपुट लेयर‘ निर्माण गर्ने कम्पनीका रूपमा उल्लेख गरेको छ । कम्पनीले यो लगानी आफ्नो इन्जिनियरिङ टिम विस्तार गर्न र प्रमुख प्रोडक्ट सिमीलाई स्केल गर्न प्रयोग गर्ने जनाएको छ ।

लामिना ल्याब्सको प्रमुख प्रोडक्ट सिमीले प्रयोगकर्ताले दिएको टेक्स्ट प्रम्प्ट, डकुमेन्ट वा वेबसाइट लिंकलाई सेकेन्डहरूभित्रै ह्वाइटबोर्ड–शैलीको एनिमेसन भिडियोमा रूपान्तरण गर्छ । यसले ८० भन्दा बढी भाषा सपोर्ट गर्छ, जसमा नेपाली पनि समावेश छ । प्रयोगकर्ताले भिडियोको लम्बाइ र फर्म्याट (युट्युब, टिकटक वा इन्स्टाग्राम रिल्सका लागि उपयुक्त) समेत छनोट गर्न सक्छन् ।

प्रोडक्ट सार्वजनिक भएको १२ दिनभित्रै सिमीले करिब ४ हजार प्रयोगकर्ता र १८७ भुक्तानी गर्ने ग्राहक जोडेको थियो । लिंक भेन्चर्सका अनुसार हाल कम्पनीको भुक्तानी गर्ने ग्राहक संख्या १९० नाघिसकेको छ । प्रारम्भमा शिक्षा क्षेत्रलाई लक्षित गरिएको यो प्रोडक्टको प्रयोगकर्तामा भने अमेरिकाका साना तथा घरेलु व्यवसायीहरूको संख्या बढी रहेको संस्थापकहरूले जनाएका छन् ।

लामिना ल्याब्स वाई कम्बिनेटरको स्प्रिङ २०२६ ब्याचमा छनोट हुने पहिलो पूर्ण–नेपाली संस्थापक टिम भएको कम्पनी हो ।

संस्थापक सुदीप रोकाया हुम्लाको सिमीकोट र कार्तिकेश मिश्र रौतहटका हुन्, जो एमआईटीमा अध्ययनका क्रममा भेटेका थिए । कम्पनीको प्रोडक्ट सिमीको नामकरण पनि रोकायाको जन्मस्थान सिमीकोटकै आधारमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?