News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले भोटेकोशी बाढीले रसुवा र नुवाकोटमा पुर्याएको क्षति र मुग्लिन हुँदै चितवनसम्म पर्ने चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- महामन्त्री विपिनकुमार आचार्यले त्रिशूली नदी र तटीय क्षेत्र उच्च जोखिममा रहेकाले सरकार, स्थानीय प्रशासन र नागरिकलाई सतर्क रहन आह्वान गरेका छन्।
- पार्टीले जोखिमपूर्ण तटीय बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सर्न, नदी तटीय सडकमा यात्रा नगर्न र आपतमा १०० तथा १२३४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
१० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटको तटीय क्षेत्रमा पुगेको क्षति र यसको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भनी बाढी पूर्वानुमान शाखाले जारी गरेको चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति निकालेर त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्रहरू यतिबेला उच्च जोखिममा रहेकाले सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सरकार, स्थानीय प्रशासन र आम नागरिकमा विशेष आह्वान गरेका छन् ।
‘बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरूलाई उच्च सतर्कताका साथ परिचालन गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँछौं’ विज्ञप्तिमा उल्लेख छ, ‘जोखिमपूर्ण तटीय बस्तीहरूका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्दछ ।’
विपद्को संवेदनशील घडीमा, नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई संयमता अपनाउँदै तत्काल सुरक्षित र उच्च स्थानमा सर्न पनि रास्वपाले अपिल गरेको छ ।
अवस्था सामान्य नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक सम्बन्धित नदी तटीय सडकहरूमा कुनै पनि प्रकारको यात्रा नगर्न सम्पूर्णमा अनुरोध गरिएको छ ।
कुनै पनि आपतकालीन अवस्था सिर्जना भएमा तत्काल नेपाल प्रहरीको टोल फ्री नम्बर १०० र आपतकालीन नम्बर १२३४ मा सम्पर्क गर्नु पनि सूचित गरिएको छ ।
साथै, जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सेवामा सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यहरूलाई निर्देश गरिएको छ ।
प्रतिक्रिया 4