+
+
Shares
उत्तरगयाका अध्यक्ष माधव अर्यालसँग वार्ता :

‘स्थिति भयावह छ, सरकारसँग समन्वय हुन सकेको छैन’

नदीका किनारमा मानिसले हात उठाइरहेका छन् । सेनाले हेलिकप्टरमार्फत तत्काल उद्धार गर्नुपर्‍यो । जति ढिलो भयो, मानिस जोगाउन सकिँदैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिब्बती क्षेत्रबाट आएको भोटेकोशी बाढीले रसुवा, नुवाकोट, गोरखा र धादिङमा ठूलो क्षति पुर्‍याएको छ ।
  • उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालका अनुसार रसुवाका टिमुरे, स्याफ्रुबेसी, हाकुबेसी, मैलुङ, शान्तिबजार, पाहिरोबेसी, नौबीसे, कन्जल्टार र बेत्रावती ध्वस्त भएका छन् ।
  • अर्यालले नदी किनारमा शव तैरिरहेको र विद्यालयहरू क्षतिग्रस्त भएको बताउँदै तत्काल उद्धार, उपचार र अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने बताए ।

तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, गोरखा, धादिङलगायत जिल्लामा ठूलो क्षति पुगेको छ । सबैभन्दा बढी क्षति रसुवाको तटीय क्षेत्रहरूमा देखिएको छ ।

त्यहाँको क्षतिको विवरणबारे कुनै अनुमान गर्न सकिएको छैन । तर स्थिति भयावह रहेको सरकारी अधिकारीहरूले जनाएका छन् । ठूलो क्षति पुगेकोमध्ये उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालका अनुसार नदी किनारहरूमा मानिसका शव स्थानीयले भेला पार्ने काम गरिरहेका छन् ।

पालिका कार्यालय बग्दा आफ्नै कर्मचारीहरू समेत बेपत्ता भएको उनले बताएका छन् । पालिका प्रमुख अर्यालसँग अनलाइनखबरले गरेको कुराकानी :

बाढीबारे कतैबाट कुनै पूर्वजानकारी आएको थियो ?

रसुवाको सिमाना (बोर्डर) भन्दा पारि, तिब्बत क्षेत्रबाट बाढी आयो । यसबारे हामीले सामान्य जानकारी मात्रै पायौं, विस्तृत जानकारी प्राप्त गर्न सकेनौं । जसले सूचना दिनुपर्ने थियो, तिनीहरूले पनि बाढीले भेटेपछि मात्र थाहा पाए । हामीलाई यसअघि कुनै सूचना आएको थिएन ।

१५ मिनेटअघि मात्र थाहा पायौं, र म कार्यालय पुगेको पाँच मिनेटमै हाम्रो कार्यालय पनि छोपिसकेको थियो । हामी बल्लबल्ल बाँच्यौं, केही कर्मचारी हराएका छन् ।

पछिल्लो अवस्था के छ ?

भोटेकोशी अनि त्रिशूलीसम्मका तटीय क्षेत्रहरूको दायाँबायाँ पर्ने टिमुरे, स्याफ्रुबेसी, हाकुबेसी, मैलुङ, शान्तिबजार, बेत्रावती बजारसम्म ध्वस्त भएको छ । धेरै जना हराएका छन्, परिवारका मान्छेहरू रुँदै छन् । नदी किनारमा थुप्रै शव तैरिरहेको खबर छ । हामी उद्धार र घाइतेको उपचारमा समन्वय गरिरहेका छौं ।

तर, राज्यले जति चाँडो रेस्पोन्स दिनुपर्ने हो, दिन सकेन । राज्यको भूमिका देखिएन । स्थानीय समुदायलाई कोही अभिभावक नभएको जस्तो महसुस भइरहेको छ । तैपनि, हामी आफ्नै तर्फबाट उद्धारको तयारी गरिरहेका छौं ।

कुन–कुन बजार वा बस्ती बगेका छन् ?

रसुवागढी सिमानाको टिमुरे, त्यसपछि स्याफ्रुबेसी । बीचमा भएका सबै संरचना बगेका छन् । तल हाकुबेसीका केही घर, मैलुङका घरहरू, अनि शान्तिबजार, पाहिरोबेसी, नौबीसे, कन्जल्टार र बेत्रावती बजार । रसुवाका यी सबै भाग ध्वस्त भएका छन् ।

कति घर र मानिस प्रभावित भएको अनुमान छ ?

अहिले नै यकिन संख्या भन्न सक्ने अवस्था छैन । बजार क्षेत्रमा जनघनत्व बढी भएकाले धेरै मानिस प्रभावित भएको अनुमान छ । घटना बिहान भएको थियो, त्यसबेला विद्यालय र बोर्डिङ स्कुल पनि सञ्चालनमा थिए । विद्यार्थीहरू भर्खरै विद्यालय प्रवेश गर्दै थिए ।

उत्तरगया बोर्डिङ स्कुल र ट्रिनिटी बोर्डिङ स्कुल क्षतिग्रस्त भएका छन् । ट्रिनटीको कुनै नामोनिशान छैन । त्यहाँ झन्डै डेढ–दुई सय केटाकेटी थिए होलान् । भर्खरै विद्यार्थीहरू प्रवेश गर्दै थिए । दुई वटा सामुदायिक विद्यालय पनि क्षतिग्रस्त भएका छन् । एउटा माथिल्लो टिमुरेमा, अर्को स्याफ्रुबेसीमा । यहाँ भयावह स्थिति छ ।

तत्काल गर्नुपर्ने काम के–के हुन् ?

पहिलो उद्धार हो । नदी किनारमा भेटिएका शवहरूलाई मानिसहरू आफैं हात लगाएर उद्धार गर्न खोजिरहेका छन् । गाउँपालिकासँग कुनै साधन छैन । सबै बगाएर लग्यो ।

घरहरू बगेर मानिसहरू अलपत्र बसिरहेका छन् । उनीहरूलाई खानेबस्ने जस्ता अस्थायी व्यवस्था गर्नु पर्नेछ । हामी अहिले राज्यका कुनै पनि संयन्त्रसँग जोडिन सकेका छैनौं ।

नदीका किनारमा मानिसले हात उठाइरहेका छन् । सेनाले हेलिकप्टरमार्फत तत्काल उद्धार गर्नुपर्‍यो । जति ढिलो भयो, मानिस जोगाउन सकिँदैन ।

दोस्रो– घाइतेहरूलाई तत्काल उद्धार गरेर उपचार गर्न सुविधासम्पन्न अस्पताल भएको काठमाडौं लैजानुपर्ने आवश्यकता छ ।

तेस्रो– बिहानदेखि नै बाढी–पहिरोका कारण खानेपानी र खानाविहीन भएका मानिसहरू छन् । हामीले सम्भव भएसम्म सहयोग गर्ने प्रयास गरिरहेका छौं, तर राज्यको तर्फबाट अझै समन्वय भएको छैन । हाम्रो आफ्नै साधन–स्रोत पनि सबै बगेर गएको छ ।

संघ र प्रदेश सरकारहरूसँग तपाईंहरूको कुराकानी हुन सकेको छैन ?

छैन । बल्ल विपत् प्राधिकरणसँग कुरा भएको छ । तत्काल गर्नुपर्ने कामहरू पनि गर्न सकिएको छैन ।

बाढीको बहाब कस्तो छ ?

बहाब धेरै बढेको देखिएको छैन ।

सडकको अवस्था के छ ?

नदी तटीय क्षेत्रका सडकहरूको नामोनिशान छैन ।

बाढीले तटीय क्षेत्र नाघेको देखियो …

पुराना मान्छेहरूले भनेको सुन्दा यस्तो बाढी थाहा थिएन । अनुमान गरिएको पनि थिएन । हामीले पनि अनुमान गरेका थिएनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?