+
+
Shares

बाढीबाट क्षति, उच्च जोखिम, उद्धार तथा राहत कार्यमा जुट्न महासंघको अपिल

बाढीको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशूली नदी जोडिएका सबै तटीय क्षेत्र उच्च जोखिममा रहेकाले तत्काल सतर्कता अपनाउन महासंघले आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले चिन्ता व्यक्त गरेको छ।
  • बाढीको प्रभाव मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भन्दै महासंघले त्रिशूली नदी जोडिएका सबै तटीय क्षेत्र उच्च जोखिममा रहेकाले तत्काल सतर्कता अपनाउन आग्रह गरेको छ।
  • महासंघले उद्योगी–व्यवसायी, सर्वसाधारण र यात्रीलाई सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा जुट्न अपिल गरेको छ।

१० भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत तटीय क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

बाढीको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशूली नदी जोडिएका सबै तटीय क्षेत्र उच्च जोखिममा रहेकाले तत्काल सतर्कता अपनाउन महासंघले आग्रह गरेको छ ।

सरकारी निकायबाट पृथ्वी राजमार्ग सहित त्यस करिडोरका सडकमा आवागमन रोक्न आग्रह गरिएको अवस्थामा महासंघले तटीय तथा प्रभावित क्षेत्रका सम्पूर्ण उद्योगी–व्यवसायी, सर्वसाधारण तथा यात्रीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विपद्को यस कठिन घडीमा महासंघ मातहत सम्पूर्ण जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा सम्पूर्ण उद्योगी–व्यवसायीलाई स्थानीय प्रशासन, सुरक्षा निकायसँग आवश्यक समन्वय गरी तत्काल उद्धार, राहत र सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा संलग्न हुन अपिल गरिएको छ ।

यस विपद्बाट भएको क्षतिको आधिकारिक विवरण आउन बाँकी रहे तापनि प्रारम्भिक रिपोर्टमा धेरै ठूलो क्षतिको अनुमान गरिएको महासंघले जनाएको छ ।

महासंघले विपद्को यस अकल्पनीय घडीमा दु:ख व्यक्त गर्दै यस विपद्मा क्षति बेहोर्न पुगेका सर्वसाधारण, तीर्थयात्री, जनसमुदाय, उद्योगी–व्यवसायी सबैको साथ रहँदै विपद् व्यवस्थापनमा सबैले यथाशीघ्र कार्य गर्न अनुरोध गरेको छ । साथै, महासंघले आफ्नो तर्फबाट सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।

विनाशकारी विपद्बाट सर्वसाधारणका घर, उद्योगी–व्यवसायीका पसल, सवारीसाधन, पुल, जलविद्युत् गृहका अतिरिक्त धेरै ठूलो क्षति पुगेकामा चिन्ता व्यक्त गर्दै महासंघले भविष्यमा गर्नुपर्ने पुनर्स्थापनाको कार्यमा पनि तत्पर रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?