+
+
Shares

‘डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छ’

उनले करिब २४ खर्ब रुपैयाँको बजेटमा विकासतर्फको खर्च अत्यन्तै न्यून हुनु चिन्ताको विषय भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले आर्थिक सुदृढीकरणका लागि विकास बजेटको आकार कम्तीमा १२ खर्ब पुर्‍याउनुपर्ने बताएका छन्।
  • उनले 'डेढ खर्ब रुपैयाँको विकास बजेट खर्च गरेर २४ खर्बको लक्ष्य भेटाउन सम्भव छैन' भन्दै सरकारी कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
  • श्रेष्ठले विद्यार्थी पलायन रोक्न नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न सरकारले विश्वप्रख्यात विश्वविद्यालयहरूसँग साझेदारी गरी लगानी भित्र्याउनुपर्ने सुझाव दिएका छन्।

१८ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन विकास बजेटको खर्च बढाउनुपर्ने र खुला अर्थतन्त्रको मर्मअनुसार नीतिहरू तर्जुमा हुनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ कार्यान्वयन, चुनौती र सहकार्यका सम्भावना’ विषयक छलफलमा बोल्दै उपाध्यक्ष श्रेष्ठले वर्तमान बजेट संरचना र सरकारी कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले करिब २४ खर्ब रुपैयाँको बजेटमा विकासतर्फको खर्च अत्यन्तै न्यून हुनु चिन्ताको विषय भएको बताए ।

डेढ खर्ब रुपैयाँको विकास बजेट खर्च गरेर २४ खर्बको लक्ष्य भेटाउन सम्भव नरहेको उनको भनाइ छ ।

उनकाअनुसार अर्थतन्त्रलाई वास्तविक रूपमा चलायमान बनाउने हो भने विकास बजेटको आकार कम्तीमा १२ खर्ब पुर्‍याइनुपर्छ र त्यसलाई प्रभावकारी रूपमा खर्च पुर्‍याउनुपर्छ ।

उपाध्यक्ष श्रेष्ठले नेपाली विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न नेपालमै उच्चस्तरीय गुणस्तरीय शिक्षाको सुनिश्चितता हुनुपर्ने बताए ।

उनले विश्वप्रख्यात विश्वविद्यालयहरूसँगको साझेदारी वा संयुक्त लगानी (जोइन्ट भेन्चर) मा नेपालमै उच्च शिक्षाका केन्द्रहरू खोल्न सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । यसका लागि दीर्घकालीन सोचका साथ अघि बढ्न उनले सरकारलाई आग्रह गरे।

उनले भने, ‘आर्थिक अवस्था चलायमान बनाउन खुला अर्थतन्त्र हुनुपर्छ । डेढ खर्ब रुपैयाँको विकास बजेट खर्च गरेर २४ खर्बको लक्ष्य भेटाउन सम्भव छैन । सरकारको सोच नै गलत छ ।’

उनले थपे, ‘अर्थतन्त्रलाई वास्तविक रूपमा चलायमान बनाउने हो भने विकास बजेटको आकार कम्तीमा १२ खर्ब पुर्‍याइनुपर्छ र त्यसलाई प्रभावकारी रूपमा खर्च गरिनुपर्छ । आफ्नै देशमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन सके विद्यार्थीहरू विदेश जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।’

शैक्षिक परामर्श क्षेत्रमा धरौटी राख्नुपर्ने जस्ता प्रावधान ल्याएर व्यवसायीलाई निरुत्साहित गर्ने र निजी क्षेत्रको ‘खुट्टा तान्ने’ प्रवृत्ति बन्द हुनुपर्नेमा उनले जोड दिए ।

व्यवसायीहरूलाई सहज रूपमा काम गर्ने वातावरण निर्माण गरिदिन उनले सरकारसँग माग गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?