News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार बिहान भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी हुँदै त्रिशूली किनाराका बजार र बस्ती तहसनहस पारेको छ।
- त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रञ्जनकुमार दाहालले बाढीको उद्गम ल्हेन्दे खोला माथिका तीन तालमध्ये कुनै एक फुटेको हुनसक्ने अनुमान गरेका छन्।
- उनले हिमपहिरो वा हिमताल विस्फोट भएको ठाउँ नेपाल–चीन सीमाबाट करिब ५०/६० किलोमिटर माथि हुनसक्ने र विस्तृत विवरण एक/दुई दिनमा आउने बताए।
बुधबार बिहान भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी हुँदै त्रिशूली किनाराका बजार र बस्तीहरूलाई तहसनहस पारेको छ । तल्लो भेगमा राजमार्गका कैयौं भाग र पक्की पुलसमेत क्षतिग्रस्त बनाएको छ । भोटेकोशीमा बाढी देखिए पनि त्यसको उद्गम थलो ल्हेन्दे खोला हुनसक्ने कतिपय विशेषज्ञहरूको अनुमान छ ।
असार २०८२ मा ल्हेन्दे खोलामा आकस्मिक रूपमा आएको बाढीले ९ जनाको ज्यान गयो भने १८ जना बेपत्ता भए । आकस्मिक रूपमा आएको बाढीपछि कतिपय भूगर्भविद् र विशेषज्ञहरू यसको अध्ययनमा जुटेका छन् ।
बाढीको सम्भावित कारणवारे त्रिभुवन विश्वविद्यालयको भूगर्भ केन्द्रीय विभागका प्राध्यापक रञ्जनकुमार दाहालसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
रसुवाको भोटेकोशीमा यति ठूलो र घातक बाढी आउनुको कारण के होला ?
बाढी र त्यसले पारेको तहसनहसको भिडियो हेर्दा ठूलो मात्रामा पानी बगेर आएको देखिन्छ । समुद्र नै बगेर आएको जस्तो देखिनुको कारण सानोतिनो होइन । एउटा खोला केहीबेर थुनिएर पानी निकास हुँदा त्यो तहको बाढी आउँदैन । त्यसरी खोला थुनिँदा समुद्र नै आए सरहको बाढी आउन सम्भव छैन ।
त्यसरी खोला थुनिएर पानी आउन निकै ठूलो मात्रामा पानी जम्मा हुनुपर्छ । भइरहेको ताल नै फुटेकाले यो तहको बाढी आएको हो । कुन ताल कसरी फुट्यो भन्नेबारे हामीले अहिलेसम्म केही अनुमान गर्न सकिँदैन । सम्भवतः ल्हेन्दे खोलाको माथिपट्टिको सँगसँगै रहेको तीनवटामध्ये कुनै ताल फुटेको हुनुपर्छ । ती तालहरुलाई हामीले निकै जोखिम मानिरहेका छौं ।
त्यो ताल रहेको ठाउँ र अस्ति पहिरो गएको क्षेत्रमा नै गडबडी भएको हुनसक्छ । जुन ढंगको पानीको मात्रा बढेको छ, त्यो आधारमा हेर्दा हिमपहिरो खसेको छ र ताल फुटेको छ भन्ने अनुमान गर्न सक्छौं ।
तपाईंहरू जस्ता विज्ञलाई तत्काल उपलब्ध हुने तस्वीर, आँकडा वा स्याटेलाइट इमेजका आधारमा केही भन्न सकिन्छ ?
हामीसँग अद्यावधिक स्याटेलाइट डेटाहरू छैनन् । हामीले चिनियाँ टोलीहरूसँग दुई/तीन पटक भर्चुअल मिटिङ गरिसकेका छौं । यो एक/डेढ घण्टाको बीचमा चार/पाँच वटा मिटिङ भइसकेका छन् । हामीले जुन ठाउँ अनुमान गरिरहेका छौं, ती सम्भावित ठाउँहरू हुन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
विडम्बना भन्नुपर्छ, हामीलाई उपलब्ध हुने पुराना गुगल म्यापहरू मात्रै हुन् । उनीहरूसँग अद्यावधिक डेटा हुनसक्छ, तर हामीलाई ती विवरण उपलब्ध भएका छैनन् । उनीहरूले दिएको विवरण र ब्रिफिङ नै विश्वास मानेर बस्नुपर्ने अवस्था छ । त्यो बाहेक हामीसँग अरू विकल्प छैन ।
हिमपहिरो वा हिमताल विस्फोट भएको हुनसक्ने लोकेसन नेपाल–चीन सीमाबाट कति माथि पर्छ ?
अहिले हेर्दा झण्डै ५०/६० किलोमिटर माथि देखिन्छ । कम्तीमा पनि ३०/४० किलोमिटर दुरी तय गरेर त्यो बाढी नेपाली सीमामा प्रवेश गरेको छ । त्यससम्बन्धी सूचना त घटनापछि हामीले तत्काल थाह पाउनुपर्ने थियो ।
हिमपहिरो, विस्फोट र त्यसपछि पानी बगेर बाढी नेपाल आउन कम्तीमा पनि आधा घण्टादेखि ४५ मिनेट लागेको हुनुपर्छ । अनुमान गरौं, विस्फोट हुनासाथ हामीले थाहा पाएको भए अरूभन्दा पनि मानिसहरूको ज्यान जोगाउन सकिन्थ्यो ।
सयौं सम्पर्कविहीन भएका छन् । को ज्युँदो छ, को बेपत्ता हो, कसको ज्यान गयो ? केही पनि थाहा हुन सकेको छैन । टिमुरे नाकामा भएको क्षतिबारे खबर फैलिएपछि कतिपयले तल सतर्कता अपनाउन पाएका छन् । कतिपयले भने त्यो तहको विध्वंश होला भन्ने अनुमानसमेत गरेनन् । खोला बगेको वा पानी थुनिएको होइन, मानौं समूद्र नै यहाँ पस्यो भन्ने तहको बाढी आएको छ ।
जुन हिमताल विस्फोट भएको अनुमान गरेका थियौं, त्यहाँ यति ठूलो मात्रामा पानी संकलित थियो कि तल पहिरोले ल्हेन्दे खोला पहिरोले थुनिएको थियो ?
जुन किसिमको पानीको मात्रा आइरहेको छ, त्यो हेर्दा माथिबाट ताल नै फुटेर पानी आएको हुनुपर्छ भन्ने अनुमान गरेका छौं । जुन खालको बाढी छ, ताल नफुटी त्यो तहको विध्वंश सम्भव नै छैन ।
सामान्य हिमपहिरो वा साना हिमताल विस्फोटले मात्रै यस्तो क्षति पुर्याउन सक्दैन । तर कुन ताल ? कस्तो किसिमले फुट्यो भन्ने हामीले अहिले नै ठोकुवा गर्न सक्दैनौं ।
विस्फोट भएको ताल कुन आकारको हो ? हामीले सधैं चर्चा गर्ने गरेको च्छो रोल्पा जत्रो वा त्यो भन्दा पनि ठूलो ?
अहिले त कसैले केही पनि अन्दाज गर्न सकिँदैन । पहिलेको पुरानो अवस्था हेर्दा च्छो रोल्पा हिमताल जत्रो देखिन्छ । त्यो भन्दा ठूलो आकारको पनि हुनसक्छ । यो ताल कत्रो थियो भन्ने त पछिल्लो चरणमा हामीलाई केही पनि थाहा थिएन ।
हामीले अहिले पुरानो गुगल अर्थ हेरेर नै त्यसको आकार–प्रकारबारे थाहा पाउने हो । त्यो बाहेक हामीले अरू बताउन सक्दैनौं । हामीसँग त्यो तालको बारेमा नै पर्याप्त सूचना छैन । चिनियाँ टोलीले उपलब्ध गराएको आँकडा र तथ्यांकमा नै भर पर्नुपर्ने अवस्था छ ।
मैले अहिले मात्रै विभिन्न समूहहरूसँग छलफल गरिसकेको छु । उनीहरूले विभिन्न अनुमान गरेका छन्, तर निक्र्योल गर्न सकेका छैनन् । उनीहरूसँगको छलफल सुन्दा तीन वटा ताल भएको ठाउँको कुनै ताल नै विस्फोट भएको अनुमान गरेका छौं र त्यो नै वास्तविकताको नजिक छ भन्ने लाग्छ । सम्भवतः कुनै हिमपहिरोले त्यो हिमताललाई क्षति गरेपछि यो घटना भएको हुनसक्छ ।
पोहोर पनि रसुवागढी नाकामाथि यस्तै बाढी आएर क्षति पुर्याएको थियो । यसपालि पनि पोहोरकै घटनाको अर्को शृङ्खला हो ?
पोहोर हिमनदी भित्रको पानीको ताल भित्रभित्रबाटै बगेर सोहोरिएर आएको थियो । त्यो त्यति धेरै ठूलो आकारको र विध्वंशक पनि थिएन । यो निकै ठूलो र ज्यादा विध्वंशक भयो ।
यो अहिलेसम्मकै ठूलो हिमताल विस्फोट र त्यसपछिको बाढी भन्न सकिन्छ ?
मैले आजसम्म यति ठूलो बाढी देखेको थिइनँ । र, माथिल्लो भागबाट आएको बाढी यति विध्वंशक भएको अनुमान पनि गरेको थिइनँ । यति ठूलो, अग्लो र विस्फोटक रूपमा बाढी आएको मैले देखेको थिइनँ ।
सन् १९८०/८२ तिर नाम्चेमा पनि हिमताल विस्फोटपछि बाढी आएको थियो । त्यसका त्यतिबेलाका आँकडा र विवरण हेर्दा यो नै ठूलो देखिन्छ । त्यति बेलाभन्दा अहिलेको बाढीको मात्रा र क्षति गर्ने क्षमता यसको बढी छ । यसको सतह निकै माथिबाट आएको छ, जसको कारण पानीको मात्रा हो ।
यस्ता हिमताल विस्फोटपछिको बाढीले कति तलसम्म क्षति पुर्याउँछन् ?
यस्ता बाढी जति तल जान्छन्, त्यसको गति र विध्वंशक क्षमता घट्दै जान्छ । तल बग्दै जाँदा पानीको मात्रा फैलिँदै जान्छ र गति पनि कम हुन थाल्छ । तल पुगेपछि यसले माथिझैं ज्यादा क्षति त नगर्ला । तर बाढी आउँछ, पानीको सतह बढ्छ । कतिपय ठाउँमा राजमार्गसम्म पानी आएको फोटो र भिडियो हामीले देखिरहेका छौं । कैयौं ठाउँमा पुल बगेको छ, यसलाई कम आकलन गर्न मिल्दैन ।
अहिले टिमुरेमा रहेकाहरूले पानीको मात्रा कम भइसकेको बताएका छन् । अब माथिल्लो क्षेत्रमा बाढीको जोखिम टरेको हो ?
होइन, माथिल्लो तहमा पानीको सतह अझै पनि बाँकी छ भन्ने कुरा आइरहेको छ । हामी अब सबै सुरक्षित भयौं भन्ने सोच्नु भएन । त्यो हिमतालमा पनि पानीको सतह बाँकी हुनसक्छ । त्यसैले हामी जोगिनुपर्छ । र, केही भइहाले तल्लो तहमा खबर गर्नुपर्छ ।
प्रायः साउन/भदौको बेलामा नै हिमाली भेगमा ताल विस्फोट र ज्यादा बाढीका घटना हुन्छन् । किन होला ?
पछिल्लो समयमा जलवायु परिवर्तनको असर हिमाली भेगहरूमा देखिन थालेको छ । अप्रत्याशित रूपमा तापक्रम बढेका कारण हिमपहिरो जाने, हिमतालका डाँडाहरूमा पानी पर्ने अनि पहिरो जाने क्रम बढिरहेको छ । यस्तो क्रियाकलाप गर्मी याममा हुन्छ ।
के कारणले यो बाढी आएको हो भन्ने विस्तृत विवरण आउन कति समय लाग्ला ?
हामी सबै जना यसबारेको विवरण खोज्न लागेका छौं । एक/दुई दिनमा नै विस्तृत विवरण आउला । जति छिटो विवरण निकाल्न सक्नुहुन्छ, उहाँहरूले हामीलाई उति गुन लगाउनुहुन्छ । थाहा हुनासाथ हामीले सार्वजनिक गर्नेछौं ।
प्रतिक्रिया 4