११ भदौ, काठमाडौँ । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।
सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही लगायत उपस्थित छन् ।
बैठकमा बुधबार तिब्बततर्फबाट आएको बाढीले पुर्याएको क्षति, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुँदैछ ।
बुधबार आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ । खोज तथा उद्धारको कार्य जारी छ । भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका बस्तीहरु बगेका छन् ।
यसअघि नै दलहरूले सार्वजनिक रुपमा र संसद्मार्फत उद्धार, राहत, पुनर्स्थापना र भविष्यमा आउन सक्ने सम्भावित विपद् रोक्ने पूर्वतयारी र दीर्घकालीन नीति तय गर्ने कार्यमा सरकारसँगै रहने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया 4