+
+
Shares

कृषि र वन्यजन्तुमा बाढीले पुर्‍याएको क्षति अध्ययन गर्न ‘र्‍यापिड एक्सन टिम’ खटियो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाढीबाट कृषि, वन, पशुपन्छी र वन्यजन्तु क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गरेको छ।
  • मन्त्रालयले सम्बद्ध निकायलाई जनधन र भौतिक क्षतिको स्थलगत विवरण तत्काल संकलन गर्न निर्देशन दिएको छ।
  • कार्यदलले प्रभावित क्षेत्रमा पुगेर क्षतिको प्रकृति, परिमाण र तत्काल आवश्यकताको अध्ययन गरी राहत र पुनर्स्थापनामा समन्वय गर्नेछ।

११ भदौ, काठमाडौं । बाढीका कारण कृषि, वन, पशुपन्छी तथा वन्यजन्तुको क्षेत्रमा भएको क्षतिको तत्काल विवरण संकलन र राहत कार्यलाई प्रभावकारी बनाउन कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘र्‍यापिड एक्सन टिम’ गठन गरी परिचालन गरेको छ ।

मन्त्रालयअन्तर्गतका पाँचवटा सम्बन्धित विभाग तथा निकायका अधिकारीहरूलाई समेटेर उक्त कार्यदल बनाइएको हो । मन्त्रालयले विपद्‌बाट भएको जनधन तथा भौतिक क्षतिको स्थलगत र यथार्थ विवरण तत्काल संकलन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।

प्राप्त विवरणका आधारमा उद्धार, राहत, पुनर्स्थापना र आगामी कार्ययोजना निर्माणमा सहज हुने मन्त्रालयको विश्वास छ । कृषिमन्त्री गिता चौधरीको निर्देशनबमोजिम मन्त्रालयले आफ्ना सबै सम्बद्ध निकायलाई सक्रिय र समन्वयात्मक रूपमा काम गर्न खटाएको हो ।

मन्त्रालयद्वारा गठित र्‍यापिड एक्सन टिममा योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा. हरिबहादुर केसी, वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछाने, कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइराला र केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. बरुणकुमार शर्मा रहेका छन् ।

यसैगरी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग पारिस्थितिविद् हरिभद्र आचार्य र जल तथा मौसम विज्ञान विभागका उपसचिव विभूति पोखरेल पनि कार्यदलमा समावेश छन् ।

यस कार्यदलले प्रभावित क्षेत्रमा पुगेर क्षतिको प्रकृति, परिमाण र तत्कालका आवश्यकताहरूको विस्तृत अध्ययन तथा तथ्यांक संकलन गर्नेछ । सोही विवरणलाई आधार मानेर तत्काल आवश्यक राहत, उद्धार तथा पुनर्स्थापनाका लागि अन्य निकायहरूसँग प्रभावकारी समन्वय गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

विपद्का बेला तथ्यपरक र वास्तविक विवरण प्राप्त गर्न सके मात्र राहत वितरण र पुनर्स्थापनाको काम प्रभावकारी हुने भएकाले सम्बद्ध सबै निकायलाई तदारुकताका साथ काम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?