११ भदौ, काठमाडौं । रसुवा बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवनलगायतका प्रभावित क्षेत्रमा ६ एसएसपीको नेतृत्वमा थप प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका कामका लागि प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरूको कमान्डमा थप जनशक्ति परिचालन गरिएको छ ।
प्रभावित क्षेत्रको समग्र गतिविधि तथा वस्तुस्थिति सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र सञ्चार साधनसहित एसएसपीहरू सहितको टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जसमध्ये एसएसपी तारादेवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । अर्का एसएसपी श्यामकृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, चितवन र गोरखा हेर्नेगरी पठाइएको छ ।
एसएसपी रमेश थापाको कमान्डमा ४ जनाको टोली गल्छीमा वेस रहनेगरी धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ ।
यस्तै, एसएसपी अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्चिम, एसएसपी विमलराज कँडेलको कमान्डमा ४ जनाको टोलीलाई नुवाकोट वेस रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ ।
यस्तै, एसएसपी होबिन्द्र बोगटीको कमान्डमा ४ जनाको टोली रसुवा जिल्लालगायत विभिन्न स्थानमा क्षतिग्रस्त मुख्य राजमार्गमा आवतजावत सञ्चालन र अन्य सुरक्षा निकाय तथा सरकारी निकायसँग समन्वय गर्न परिचालन गरिएको छ ।
प्रतिक्रिया 4