+
+
Shares

बाढीका २९ जना घाइते ट्रमामा, आईसीयू र एचडीयूमा एक-एकको उपचार (नामसहित)

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल–चीन सीमा क्षेत्रको आकस्मिक बाढीमा घाइते २९ जनालाई काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।
  • तीमध्ये १३ जना डिस्चार्ज भएका छन्, एक जनालाई वीर अस्पताल रेफर गरिएको छ र १३ जना उपचाररत छन् ।
  • उपचाररत घाइतेमध्ये एक जना आईसीयू र एक जना एचडीयूमा छन् भने अन्यलाई सामान्य वार्डमा राखिएको ट्रमा सेन्टरले जनाएको छ ।

११ भदौ, काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको आकस्मिक बाढीका कारण घाइते भएका २९ जनालाई उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ ।

पछिल्लो विवरणअनुसार बिहीबार साँझसम्म बाढीमा घाइते भएका २९ जना उपचारका लागि सेन्टरमा भर्ना भएका छन् । तीमध्ये १३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जनालाई थप उपचारका लागि वीर अस्पतालमा रेफर गरिएको छ ।

शाखा अधिकृत शिव कुमार निरौलाका अनुसार, हाल ट्रमा सेन्टरमा १३ जना घाइते उपचाररत छन् । उपचाररत घाइतेमध्ये एक जनाको आईसीयू र एक जनाको एचडीयूमा उपचार भइरहेको छ । बाँकी घाइतेलाई सामान्य वार्डमा राखेर उपचार तथा निगरानी भइरहेको सेन्टरले जनाएको छ ।

ट्रमा सेन्टरको विवरणमा घाइतेहरूको शरीरका विभिन्न भागमा चोट लागेको उल्लेख छ । केहीमा टाउको तथा शरीरभरि चोट लागेको र केहीको अवस्था स्थिर रहेको जनाइएको छ । घाइतेमध्ये एक महिलाको हातमा चोट लागेकाले शल्यक्रिया गरिएको छ ।

सेन्टरमा उपचाररत घाइतेहरूमा विभिन्न उमेर समूहका व्यक्ति रहेका छन् । विवरणअनुसार ८ वर्षदेखि ६८ वर्षसम्मका घाइते उपचारका लागि ल्याइएको पाइएको छ ।

उनीहरू रसुवा, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका स्थानीय तथा बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरू हुन् ।

निरौलाका अनुसार घाइतेहरूको चोटको प्रकृति र स्वास्थ्य अवस्थाका आधारमा उपचार भइरहेको छ । गम्भीर अवस्थाका बिरामीलाई आईसीयू तथा एचडीयूमा राखेर विशेष निगरानी गरिएको छ ।

सेन्टरले अस्पताल परिसरमा अनावश्यक भिड नगर्न तथा घाइते र बिरामीहरूको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी अनुमति बिना अन्तर्वार्ता तथा भिडियो फुटेज नलिनसमेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?