+
+
Shares

चेम्बरले नुवाकोट पठायो ५० किलो सामान बोक्ने ड्रोन, दोब्बर क्षमताको पठाउँदै

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले ५० किलो पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति भएपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत र पुनर्स्थापनाका लागि अभियान सुरू गरेको छ ।
  • चेम्बरले रसुवा, नुवाकोट र धादिङका जिल्ला चेम्बरमार्फत नगद र जिन्सी सहयोग उपलब्ध गराएको र थप राहत जारी राख्ने जनाएको छ ।
  • उद्धारलाई प्रभावकारी बनाउन चेम्बरले ५० किलो पेलोड क्षमताको ड्रोन र पावर बैंक उपलब्ध गराएको छ, भने नेपाल युथ चेम्बरले रक्तदान कार्यक्रम गरेको छ ।

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राहत अभियान अघि बढाएको छ ।

चेम्बरले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित सर्वसाधारण, स्वदेशी तथा विदेशी यात्रु, उद्योगी–व्यवसायी र स्थानीय समुदायको साथमा चेम्बर सधैं रहने प्रतिबद्धता जनाएको छ ।

बाढीका कारण घर, पसल, निजी तथा सार्वजनिक सवारीसाधन, मालवाहक सवारी, भन्सार यार्डमा रहेका सवारीसाधन, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको चेम्बरले जनाएको छ ।

विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले चेम्बरले राहत संकलन तथा वितरण कार्य अघि बढाएको जनाएको छ ।

चेम्बरले रसुवा, नुवाकोट तथा धादिङमा सम्बन्धित जिल्ला चेम्बर मार्फत तत्काल नगद तथा जिन्सी सहयोग उपलब्ध गराएको छ भने आवश्यकता अनुसार थप राहत सहयोग जारी राख्ने जनाएको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले ५० किलो पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको छ । त्यस्तै १ सय किलो पेलोड क्षमताको ड्रोन पठाउने अन्तिम तयारी भइरहेको र थप सहयोग गरिने चेम्बरले जनाएको छ ।

चेम्बरले प्रभावित क्षेत्रमा १ सय २५ वटा पावर बैंकसमेत उपलब्ध गराइसकेको छ । यसैगरी नेपाल युथ चेम्बरले बिहीबार जमलस्थित सचिवालयमा रक्तदान कार्यक्रम आयोजना गरेको र आवश्यकता अनुसार कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

चेम्बरले मातहतका जिल्ला तथा नगर चेम्बर, नेपाल महिला चेम्बर, नेपाल युथ चेम्बर, विपद् व्यवस्थापन परिषद् तथा अन्य वस्तुगत संघलाई उद्धार, राहत तथा आवश्यक व्यवस्थापन कार्यमा तत्काल सक्रिय हुन आग्रह गरेको छ ।

विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिक सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै एकजुट हुनुपर्ने चेम्बरले बताएको छ ।

चेम्बरले तत्काल उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणमा समेत आवश्यक सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?