+
+
Shares

५ जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ५ जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालले जनाएको छ।
  • २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा ७६, रसुवागढीमा ५१, मैलुङ खोलामा ८ र लाङटाङ खोलामा ६० जना सम्पर्कविहीन छन्।
  • इप्पानले हेलिकप्टरको व्यवस्था गरेर अवलोकन र उद्धार गर्ने प्रयास भइरहेको र केही स्थानमा उद्धारको पर्खाइमा कर्मचारी रहेको जनाएको छ।

११ भदौ, काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका विभिन्न ५ जलविद्युत् आयोजनाका २ सय १५ कर्मचारी सम्पर्कविहीन रहेको पाइएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार बुधबार आएको बाढीपछि उनीहरू सम्पर्कमा आउन नसकेका हुन् । निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना कर्मचारी सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ ।

जसमध्ये आधा नेपाली र आधा विदेशी छन् । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना कर्मचारी सम्पर्कविहीन छन् । यीमध्ये आयोजनामा कार्यरत ८ जना कोरियन नागरिक छन् ।

आयोजनाको परामर्शदाता जेड कन्सल्र्ट र लामा जेभियर्स जेभीका ७ जना पनि सम्पर्कविहीन छन् । इप्पानका अनुसार आयोजनामा कार्यरत १२ जना हेडवर्क्स क्षेत्रमा र २०० जना बढी विद्युत् गृह (पावर हाउस) क्षेत्रमा उद्धारको पर्खाइमा छन् । ‘आयोजना स्थलबाट पहिलो चरणको उद्धार भएको भन्ने अपुष्ट खबर छ’ इप्पानले विज्ञप्तिमा भनेको छ।

त्यसैगरी रसुवागढी (१११ मेगावाट) आयोजनामा कार्यरत ५१ जना कर्मचारी सम्पर्कविहीन छन् । टिमुरेमा ३ जनाले अग्लो ठाउँमा उक्लिएर ज्यान जोगाएका छन् । कसैसँग पनि सञ्चार सम्पर्क हुन सकेको छैन ।

मैलुङ खोला (५ मेगावाट) आयोजनाको विद्युत् गृहमा कार्यरत ८ जना कर्मचारी सम्पर्कविहीन छन् । उनीहरूसँग बुधबारदेखि नै सम्पर्क हुन नसकेको इप्पानले जनाएको छ । इप्पानका अनुसार हेलिकप्टर व्यवस्थापन गरेर अवलोकनमा जाने प्रयास भइरहेको छ ।

‘सिनो हाइड्रोका २ जना कर्मचारी हराइरहेका छन् । ५ जना नजिकैको गाउँमा शरण लिएर बसेका छन्, शरण लिएकामध्ये ३ जना चिनियाँ र २ जना नेपाली उद्धारको पर्खाइमा छन्’ इप्पानले भनेको छ ।

त्यसैगरी सोही बाढीका कारण लाङटाङ खोला (२० मेगावाट) आयोजनामा सुरुङमा थुनिएर सम्पर्कविहीन भएका ६० जना (२५ जना स्टाफ र ३५ जना कामदार) सँग अझै सम्पर्क स्थापित हुन सकेको छैन । अहिलेसम्म सबैको अवस्था अज्ञात छ ।

यस क्षेत्रमा विकासकर्ता कम्पनीका प्रतिनिधि गएर उद्धार गर्नका लागि प्रयास अघि बढाएपनि हेलिकप्टरको व्यवस्था हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?