News Summary
Generated by OK AI. Editorially reviewed.- इप्पानले बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
- भोटेकोशी नदीको भीषण आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँलगायत जिल्लामा मृत्यु भएकाप्रति इप्पानले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
- इप्पानले बाढीले क्षति पुर्याएका सञ्चालनमा रहेका र निर्माणाधीन विद्युत् आयोजनाको पुनर्निर्माण र पुनर्स्थापनामा सरकारसँग समन्वय गरी सहायता गर्ने निर्णय गरेको छ ।
११ भदौ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढी पीडितका लागि ५ करोड ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
आज बसेको कार्यसमितिको २०६ औं आकस्मिक बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा चितवन, तनहुँ लगायत जिल्लामा दिवंगत नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेप्रति शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साथै इप्पान तथा इप्पान सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
इप्पानको तर्फबाट उपयुक्त समय पारेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिने गरी निर्णय भएको इप्पान अध्यक्ष मोहन कुमार डाँगीले जानकारी दिए ।
बैठकले बाढीबाट सञ्चालनमा रहेका र निर्माणाधीन धेरै विद्युत आयोजनाहरूमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै ज्यान गुमाएका कर्मचारी र मजदुरहरूप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ । साथै ती विद्युत् आयोजनाहरूको पुनर्निर्माण र पुनर्स्थापनामा नेपाल सरकारसँग समन्वय गरी आवश्यक सहायता गर्ने निर्णय पनि गरेको छ ।
‘ऊर्जा क्षेत्र नेपालको समृद्धिसँग मात्र होइन, नेपाली जनताको सुख–दुःखसँग पनि जोडिएको क्षेत्र हो । विपद्को समयमा सम्पूर्ण सदस्य कम्पनीहरू एकजुट हुँदा त्यसले पीडित परिवारको जीवनमा ठूलो राहत र आशाको सञ्चार गर्न सक्छ,’ अध्यक्ष डाँगीले भने, ‘यस मानवीय अभियानमा इप्पानका सम्पूर्ण सदस्य कम्पनीहरूको सक्रिय र उदारपूर्वक सहयोग गर्न अनुरोध गर्दछौँ ।’
प्रतिक्रिया 4