News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीले रसुवाका १३ सहित ४१ पुलमा क्षति पुर्याएको छ, र ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भई जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ ।
- पूर्वाधार विकास मन्त्रालयले रसुवालाई सडक सञ्जालसँग जोड्न बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी गरेको र पृथ्वी राजमार्ग सञ्चालनलाई प्राथमिकता दिएको छ ।
- सरकारसँग ७ वटा मात्र ५० मिटरका बेलिब्रिज मौज्दात रहेकाले भारत र चीनबाट तत्काल बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
११ भदौ, काठमाडौं । रसुवा जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ । यहाँका १३ वटा पुल बुधबारको भीषण बाढीले बगाएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार भोटेकोशी बाढीले कुल ४१ पुलमा क्षति पुगेको छ । रसुवा बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी-रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
रसुवामा मात्र ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त बन्दा पूरै जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको हो ।
मन्त्रालयले अबको प्राथमिकता पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने रहेको छ । पृथ्वी राजमार्गमा १३ किलोमिटर बराबर लेदोले पुरिएको छ ।
मन्त्रालयका अनुसार रसुवालाई सडक सञ्जालमा जोड्न बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी छ । बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ । बाढी प्रभावित क्षतिग्रस्त पुल रसुवा, नुवाकोट, धादिङ र चितवनका छन् ।
४१ पुल अधिकांश बगायो
सडक विभागको तथ्यांक अनुसार नेपाल–चीन सीमा नाकास्थित मितेरी पुलदेखि मुग्लिनको पुरानो सस्पेन्सन पुलसम्म प्रभावित बनेका छन् । मितेरी पुल पूर्णरूपमा बगेको छ भने मुग्लिन पुल जोगिएको छ ।
रसुवामा टिमुरेस्थित दुई बेलीब्रिज बगाएको छ । रसुवाको भोटेकोशी पक्की पुल बगेको छ । रसुवामै चिलिमे पक्की पुलसमेत बाढीको शिकार भएको छ । रसुवाकै स्याफ्रबँेसीमा हाइड्रोपावर बेलिब्रिज बगेको छ । सोही स्थानको पक्की पुलसमेत बाढीका कारण बगेको सडक विभागको तथ्यांक छ ।

रसुवामै हाकु प्रथम र हाकु द्वितीय बेलिब्रिज बगेका छन् । माथिल्लो त्रिशूली हाइड्रोमा बनेको बेलिब्रिज र मैलुङ बेलिब्रिज समेत पूर्णरूपमा बगेको छ । रसुवा मैलुङमा त्रिशूली ३ ए ड्याम नजिकको पक्की पुलसमेत बगेको छ ।
त्रिशुली ३ ए ड्याम २ नजिकको पक्की पुलसमेत बगेको छ । खाल्टेस्थित रसुवा-नुवाकोट सीमाको भोटेकोशी नदी पुलसमेत पूर्णरूपमा बगेको छ । साथै, बेत्रावतीको पुरानो र नयाँ दुवै पक्की पुल बाढीले बगाएको छ ।
नुवाकोटतर्फ त्रिशूली तुप्चेस्थित पक्की पुल पूर्णरूपमा बगेको छ । त्रिशूली बजारको पुरानो र नयाँ दुवै पक्की पुल बाढीको चपेटामा परेका छन् । सिमचौरस्थित त्रिशूली नदीको पक्की पुलसमेत पूर्णरूपमा बगेको छ ।
देवीघाटस्थित झोलुङ्गे पुल बगेको छ । देवीघाटस्थित त्रिशूली नदीको पक्की पुलसमेत बगेको छ । देवीघाटको तादी खोलाका पुरानो र नयाँ दुवै पक्की पुल बगाएको छ ।
त्यस्तै श्रीखालीस्थित त्रिशूली नदीको पुलसमेत बाढीमा परेको छ । बुद्धसिंहघाटस्थित त्रिशूली नदीमाथिको पुल बगेको छ । रातमाटेको त्रिशूली नदीमाथिको पुलसमेत बाढीको चपेटामा परेको छ । केउरेनीस्थित त्रिशूली नदीमाथिको पुल पनि बाढीले बगाएको छ ।
धादिङमा गल्छी नजिक त्रिशूली नदीमाथिको पुल भने जोगिएको अवस्था छ । गल्छीभन्दा तल बैरेनी-सल्यानटार सडकमा त्रिशूली नदीमाथि बनेको पुल भने बाढीमा बगेको छ ।
ह्यामलेट रिसोर्ट नजिकै त्रिशूली नदीमाथिको पक्की पुल क्षतिग्रस्त बनेको छ । धादिङकै जरे बगैँचास्थित त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको छ ।
यस्तै धादिङ घाटबेँसीस्थित त्रिशूली नदीमाथिको पुल बगेको छ । धादिङकै कोल्पु खोलाका नयाँ र पुरानो दुवै पुल क्षतिग्रस्त बनेका छन् ।

धादिङकै मलेखुस्थित फुर्के खोला पुल पूर्णरूपमा बगेको छ । बेनीघाटस्थित त्रिशूली नदीमाथिको पुल भने जोगिएको छ । फिस्लिङस्थित त्रिशूली नदीमाथिको पुल भने जोगिएको छ ।
यसबाहेक चितवनमा पर्ने चुम्लिङटारस्थित बेलिब्रिज र मुग्लिनस्थित नयाँ आर्क ब्रिज र पुरानो सस्पेन्सन ब्रिजसमेत बाढीबाट जोगिएको अवस्थामा रहेको सडक विभागले आफ्नो तथ्यांकमा राखेको छ ।
सरकारसँग ७ वटामात्र बेलिब्रिज
पूर्वाधार विकास मन्त्रालयका अनुसार नेपाल सरकारसँग ७ वटामात्र बेलिब्रिज मौज्दात छन् । यी बेलिब्रिजको लम्बाइ ५० मिटरमात्र छ । जसले गर्दा पुल निर्माणमा सरकारले वैदेशिक सहयोग लिनु अनिवार्य बनेको छ ।
आवश्यकता र सम्भावना पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको मन्त्रालयले जनाएको छ । भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयको भनाइ छ ।
सरकारले सडक खुलाउने कार्यलाई तीव्रता दिन १० वटा र निजी क्षेत्रबाट उपलब्ध १० वटा गरी कुल २० वटा उपकरण परिचालन गरिएको बताएको छ ।
क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4