News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको तिब्बततर्फबाट बुधबार बिहान करिब ९ बजे आएको बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षति पुर्याएको छ।
- बाढीले दर्जनौं बस्ती, सडक, पुल, भन्सार संरचना र १३ देखि १५ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।
- त्रिशूली बजारमा करिब ६० घर बगेका छन् भने दुईवटा पक्की पुल र त्रिभुवन त्रिशूली बहुमुखी स्कुललगायतका संरचना ध्वस्त भएका छन्।
१२ भदौ, काठमाडौं । बुधबार बिहान करिब ९ बजे चीनको तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवाको भोटेकोशीदेखि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षति पुर्याएको छ।
बाढीले दर्जनौं बस्ती, सडक, पुल, भन्सार संरचना र १३ देखि १५ वटा जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।
पूर्ण र मानवीय क्षतिको यकिन विवरण आइनसके पनि रसुवा, नुवाकोट, धादिङ हुँदै मुग्लिनसम्मको तटीय क्षेत्र तहसनहस भएको छ। हिजोसम्म गुल्जार रहेका बजार र खडा रहेका पूर्वाधार बाढीपछि कसरी बगरमा परिणत भए ? प्रस्तुत छ विभिन्न स्थानका ‘पहिले र अहिले’ झल्काउने तस्वीर र विवरण :
रसुवागढी नाका
भन्सार यार्ड र बजार बगरमा परिणत चीनसँगको व्यापारिक आवागमनको मुख्य मार्ग रसुवागढी क्षेत्रमा बाढीले ठूलो असर पारेको छ। रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारी साधन बाढीले बगाएको छ।

ढुंगे बजार
भदौ १० गते आएको बाढीले नुवाकोटको ढुंगे बजार लगायतका बस्तीलाई तहसनहस बनायो । यो क्षेत्रका अधिकांश पसल सडक र व्यापारिक संरचना ध्वस्त भएका छन् ।

देवीघाट
नुवाकोटको देवीघाट बजार पनि बाढीले ध्वस्त भएको छ । अनलाइनखबरको टोली पुग्दा त्यहाँका दृश्यले बाढीको भयावह अवस्थाबारे बयान गरिरहेका थिए । पसल, सडक र व्यवसायिक भवन भग्नावशेष देखेर अहिले पनि त्यहाँका स्थानीयहरू त्रसित छन् ।

स्याफ्रुबेँसी
सडक, होटल र पसलको नामोनिसान मेटियो टिमुरेपछि सबैभन्दा धेरै क्षति स्याफ्रुबेँसी बजारमा भएको छ। बजारका घर, होटल, पसल, प्रहरी चौकी र मुख्य सडक पूर्ण रूपमा बगेका छन्।
पर्यटक बसलगायतका सवारीसाधन बगेका छन् भने होटलमा बसेका पर्यटकहरू अलपत्र परेका छन्। स्थानीयका अनुसार कुनै ड्याम फुटेर आएजस्तो बाढीले स्याफ्रुबेँसीदेखि टिमुरे जाने सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ।

बेत्रावती
बेत्रावतीमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ र घरहरूमा क्षति पुगेको छ।

त्रिशूली बजार
६० घर र स्कुल बगे, पुल ध्वस्त नुवाकोटको त्रिशूली बजारमा बाढीले व्यापक विनाश मच्चाएको छ। प्रारम्भिक विवरणअनुसार करिब ६० वटा घर बगेका छन् भने दुईवटा पक्की पुल ध्वस्त भएका छन्। त्यहीँ रहेको त्रिभुवन त्रिशूली बहुमुखी स्कुल लगायतका संरचना पनि बाढीले बगाएको छ।

प्रतिक्रिया 4