१२ भदौ, विराटनगर । रसुवा बाढीबाट प्रभावितका लागि आह्वान भएको प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा मोरङको रतुवामाई नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बिहीबार बसेको कार्यपालिका बैठकले कर्मचारी र जनप्रतिनिधिले प्राप्त गर्ने ७ दिनको सुविधा बराबरको रकम ४० लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
कार्यपालिकाको निर्णयअनुसार जनप्रतिनिधि र अधिकृतस्तर तथा त्यसभन्दा माथिका कर्मचारीले सात दिनको तलब जम्मा गर्नेछन् ।
यस्तै, अधिकृतस्तर शिक्षक र सहायक स्तरका कर्मचारीले ५–५ दिनको तलब जम्मा गर्नेछन् ।
सहायकस्तरका शिक्षक र सो भन्दामुनिका कर्मचारीले भने ३–३ दिनको तलब जम्मा गर्ने निर्णय भएको नगरप्रमुख नागेन्द्रप्रसाद सिंह गनगाईले जानकारी दिए ।
उता, विराटनगर महानगरपालिकाले भने २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
बाँकी रकम जनप्रतिनिधिको सेवा–सुविधा तथा कर्मचारीको मासिक पारिश्रमिकबाट जुटाइने महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया 4