काठमाडौं । प्रसिद्ध भारतीय संगीतकार तथा पाश्र्वगायक विशाल मिश्राले नेपालको भोटेकोशी बाढी पीडितको सहयोगार्थ नेपाल र आसाममा कन्सर्ट गर्ने घोषणा गरेका छन् ।
यद्यपि, यो कन्सर्टबारे उनले विस्तृत खुलाएका छैनन् ।
शनिबार इन्स्टाग्रामबाट उनले घोषणा गर्दै चाँडै नेपाल र आसाममा कन्सर्ट गर्न लागेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘यो सबथोक देख्दा मेरा हृदय भारी भएको छ । यसकारण मैले निर्णय लिएको छु– म नेपाल र आसाममा कन्सर्ट गर्न गैरहेको छु । कन्सर्टबाट उठेको पैसा नेपालको बाढी प्रभावितलाई जानेछ । मैले बोलेको पूरा गर्छु । चाँडै यसको घोषणा हुनेछ ।’
उनले क्याप्सनमा लेखेका छन्, ‘अडिग भएर रहनूस । मैले व्यक्तिगतरुपमा जे गर्न सक्छु, गर्छु । हर हर महादेव ।’
मिश्रा पछिल्लो दशकमा बलिउड संगीतमा स्थापित भएका चर्चित नाममध्ये एक हुन् । सन् २०१६ मा फिल्म ‘शोरगुल’को ‘शाम ओ सहर’मार्फत पाश्र्वगायकका रूपमा औपचारिक सुरुवात गरेका थिए ।
उनको करिअरलाई नयाँ उचाइमा लैजाने प्रमुख फिल्ममध्ये सन् २०१९ को ‘कबिर सिंह’ पर्छ । यस फिल्मको ‘कैसे हुआ’मा उनको स्वरले व्यापक लोकप्रियता पायो । उनको लोकप्रियता सन् २०२३ मा आएको रणवीर कपूर अभिनीत ‘एनिमल’ को ‘पहले भी मैं’ पछि अझै बढ्यो ।
सन् २०२५ को ‘सैयारा’ मा संगीतकारका रूपमा उनको काम चर्चित भयो र फिल्मको ‘तुम हो तो’ उनको अर्को लोकप्रिय गीत बन्यो ।
‘कैसे हुआ’, ‘पहले भी मैं, ‘नाचो नाचो, ‘जान बन गए र ‘तुम हो तो जस्ता गीतले विशाल मिश्रालाई भारतीय फिल्म संगीतमा विशिष्ट पहिचान दिएका छन् ।
प्रतिक्रिया 4