+
+
Shares

आन्दोलन स्थगित गरेर बाढी प्रभावित क्षेत्रमा कमन जेनजी

कमन जेनजी नेपालमा आवद्ध युवाहरू आन्दोलन स्थगित गरेर बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कमन जेनजी नेपालले भदौ २३ गतेको देशव्यापी प्रदर्शन स्थगित गरेर बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा खटिने जनाएको छ।
  • अध्यक्ष विकेश साहले नुवाकोटका विभिन्न ठाउँमा स्थलगत अवलोकन गर्दै बाढी प्रभावितको उद्धार र राहत कार्यमा सहभागिता जनाएका छन्।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशी बाढीमा ९०३ जनाको शव फेला परेको छ, ४ हजार २२७ जना सम्पर्कविहीन छन्।
  • प्राधिकरणका अनुसार १० हजार ४५१ जनाको उद्धार भएको छ र २० हजार ८१९ सुरक्षाकर्मी उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका छन्।

१५ भदौ, काठमाडौं । कमन जेनजी नेपालमा आवद्ध युवाहरू आन्दोलन स्थगित गरेर बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

‘राष्ट्रले अहिले भोग्नुपरेको अकल्पनीय प्राकृतिक विपत्तिको कारण सिंगो देश शोकमा डुबेको यस दु:खद् घडीमा हामी पूर्वघोषित आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित् भएको जानकारी गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, कमन जेनजी नेपालको सिंगो पैंक्ति बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुन:स्थापनाको कार्यमा खटिनेपनि जानकारी गराउँदछौं ।’

कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले विज्ञप्ति निकालेर बाढीबाट अतिप्रभावित जिल्ला नुवाकोटका विभिन्न ठाउँमा स्थलगत अवलोकनमा रहेको र उद्धार तथा राहत कार्यमा खटिएको बताएका हुन् ।

‘बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत र पून:स्थापनाको काममा सिंगो देश र विश्वभरि छरिएर रहेका नेपाली आज सरकारको साथमा उभिएका छौं’ विज्ञप्तिमा उल्लेख छ ।

सरकारले उद्धार र राहत कार्यलाई अझै प्रभावकारी बनाउनुको साथै विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेका नागरिकहरूको तत्काल उद्धार गर्न सम्पूर्ण तागत लगाउनुपर्ने आग्रह पनि गरिएको छ ।

कमन जेनजी नेपालले भदौ २३ गते देखि देशव्यापी प्रदर्शन गर्ने तयारी गरेको थियो । जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा देशव्यापी प्रदर्शन गर्ने र जेनजीले राखेका माग के कति पुरा भए भनेर सरकारलाई खबरदारी गर्ने गरी तय भएको आन्दोलन स्थगित गरेर बाढी प्रभावित क्षेत्रमा खटिएको विज्ञप्तिमा जनाइएको छ ।

भदौ १० गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीसँगैको गेग्रानले भोटेकोशी नदीको बहाव एकाएक बढाउँदा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

भीषण बाढीले स्थानीय बस्ती र पूर्वाधारसँगै कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकलाई समेत प्रभावित बनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकामध्ये ९०३ जनाको शव फेला परेको छ । यो सोमबार बिहान ९ बजेसम्मको तथ्यांक हो ।

प्राधिकरणका अनुसार अहिलेसम्म ४ हजार २२७ जना सम्पर्कविहीन छन् । १० हजार ४५१ जनाको उद्धार भएको छ । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ ।  २६७ जना घाइते भएका छन् । यसमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

उद्धार, राहत तथा पुन:स्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?