रसुवामा आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको छ । अहिले किन यति ठूलो विपत्ति आयो र हिमालय क्षेत्रमा के भइरहेको छ भन्ने संसारभर बहस भइरहेको छ । जलवायु, वातावरण र हिमालका अध्येतहरू अहिले अनेकै तस्बिर र भिडियोहरू केलाएर तथ्यहरू खोजिरहेका छन् । अनुमान गरेभन्दा फरक खालको विपत्ति आएपछि आएपछि हिमालको अध्ययनमा नयाँ विषय प्रवेश भएको छ ।
यसै सन्दर्भमा चीनको युनिभर्सिटी अफ साइन्सबाट भौतिक भूगोल अन्तर्गत ग्लेसियर र हिमनदीहरूकै विषयमा पीएचडी गरेका वैज्ञानिक डा नितेश खड्कासँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :
रसुवामा आएको बाढीलाई लिएर देशभित्र र बाहिर विभिन्न किसिमका टीका-टिप्पणी र चर्चा भइरहेका छन्। यो बाढी कसरी आयो र यति ठूलो क्षति हुनुको मुख्य कारण के थियो ? तपाईं स्वयं यसै क्षेत्रको अध्ययनमा संलग्न हुनुहुन्छ । त्यस दिन हिमालमा वास्तवमा के भएको थियो ?
त्यस दिन लाङटाङ लिरुङ हिमालको उत्तरी क्षेत्रमा रहेको एउटा ठूलो हिमनदी र त्यो हिमनदी अडिएको सिंगो चट्टानी पहाड नै खसेको थियो । करिब ५,२०० मिटरको उचाइबाट झन्डै १,२०० मिटरसम्म त्यो गेग्रान एकदमै ठाडो भिरालो भएर तल लेन्दे खोलासम्म खस्यो ।
उच्च उचाइबाट पहाड र हिमनदी एकैपटक खसेपछि त्यो ‘हिम-बाढी‘ (डेब्रिस फ्लो) मा परिणत भयो। सोही गेग्रानसहितको लेदो हिमनदीमा मिसिएर बगेकाले नै तल्लो तटीय क्षेत्रमा ठूलो र भयावह क्षति पुर्याउने बाढी आएको हो।
त्यो बाढी यति तीव्र गतिमा आयो कि मानिसहरूले पूर्वसूचना पाउनै सकेनन् र आँखैअघि ठूलो क्षति भयो। मानिसहरूका अनुसार भूकम्पजस्तै ठूलो धक्का पनि महसुस भएको थियो। वास्तवमा त्यसले कस्तो खालको कम्पन सिर्जना गरेको थियो र बाढीको गति कति थियो?
प्रारम्भिक मोडल परीक्षण र आकलन अनुसार बाढीको गति अत्यधिक थियो । तेर्सो दूरी (होरिजेन्टल डिस्टेन्स) कम भए र भिरालोपन (ग्राडिएन्ट) एकदमै धेरै भएकाले मोडलले यसको गति प्रतिघण्टा करिब १२० देखि १५० किलोमिटर देखाएको छ।
जहाँसम्म कम्पनको कुरा छ, ५,२०० मिटरको उचाइबाट सिंगो पहाडको ढिक्का १२०० मिटर तल जमिनमा ठाडै बजारिँदा ठूलो कम्पन पैदा भएको हो ।
यसरी उच्च वेग र शक्तिसहित पहाड खस्दा कम्पन मात्र होइन, ठूलो मात्रामा ताप पनि उत्पन्न भयो। त्यसक्रममा चट्टान र हिउँका ठूला-साना ढिक्काहरू टुक्रिए भने तल्लो क्षेत्रमा पुग्दा माटो र पहिरो पनि त्यसमा मिसियो।
त्यहाँ उत्पन्न भएको तापले हिउँलाई तीव्र रूपमा पगालिदियो । पग्लिएको पानीले लुब्रिकेन्ट (चिप्लो बनाउने माध्यम) को काम गर्यो, जसले गर्दा त्यो लेदो र गेग्रान झनै तीव्र गतिमा बग्न थाल्यो। यसैलाई नै हामी गेग्रान बाढी अथवा हिम-बाढी भन्छौँ।
यो साधारण बाढी नभएर गेग्रान बाढी भएकाले यसको विनाशकारी क्षमता कैयौँ गुणा बढी देखियो।
यस्ता विपत्तिको पूर्वसूचना दिने प्रणालीहरू चीन लगायत अन्य ठाउँमा सुदृढ होलान्। तर, हाम्रा हिमालहरूमा यस्तै जोखिम छ र बाढी आउँदै छ भन्ने कुरा पहिल्यै थाहा पाउने प्रणालीमा समस्या थियो कि त्यो बनेकै थिएन ? यस विषयमा अहिले निकै बहस भइरहेको छ नि?
जहाँसम्म मलाई लाग्छ, सिंगो हिमाली क्षेत्रमै यस्ता ठूला प्रकृतिका आकस्मिक घटना का लागि उपयुक्त पूर्वसूचना प्रणाली स्थापना भइसकेकै छैन।
हामीकहाँ हिमताल विस्फोटनबाट आउने बाढीका लागि भने केही स्थानमा पूर्वसूचना प्रणालीहरू जडान गरिएका छन्। तर, अध्ययन र रिपोर्टहरूका आधारमा भन्नुपर्दा यस क्षेत्र (रसुवा/लाङटाङ) मा यस्तो प्रकारको पूर्वसूचना दिने प्रणाली जडान गरिएको थिएन। यद्यपि, तातोपानी नाकातिरको भोटेकोशी बेसिनमा पर्ने चिनियाँ भूभागमा भने पूर्वसूचना प्रणाली जडान गरिएको छ।
नेपालतर्फ भने यस्तो प्रविधिको स्थिति कस्तो छ त?
यतातर्फ त्यस्तो पूर्वसूचना प्रणाली छैन। हामीकहाँ भारी वर्षा हुँदा नदीमा पानीको सतह बढेको मापन गरेर दिइने सामान्य पूर्वसूचना प्रणाली मात्र उपलब्ध छ। तर, यो बाढी यति तीव्र र अप्रत्यासित रूपमा आयो कि त्यसले भइरहेको प्रणालीलाई पनि पूर्ण रूपमा ‘वाइप आउट‘ (नष्ट) गरिदियो र त्यसले कुनै काम नै गर्न पाएन।
अबका दिनमा यस्ता विशिष्ट प्रकारका जोखिमलाई समेट्ने गरी पूर्वसूचना प्रणालीको विकास गर्न अति आवश्यक भइसकेको छ। यसले भौतिक सम्पत्तिको रक्षा गर्न नसके पनि कम्तीमा मानिसको ज्यान भने जोगाउन सक्छ।
चीनले प्रविधिको क्षेत्रमा उच्च सफलता हासिल गरिसकेकाले उसले पनि यो घटनाबाट पाठ सिकेर आफ्नो प्रणालीलाई अझ परिष्कृत र सुदृढ बनाउनेछ भन्ने अपेक्षा गर्न सकिन्छ।
उत्तरी सीमापारि चिनियाँ भूभागमा हुने कुनै पनि भौगर्भिक हलचल वा विपत्तिको प्रत्यक्ष असर नेपालतर्फ पर्ने भएकाले, चीनमा विकसित यस्ता पूर्वसूचना प्रणालीलाई नेपालसम्म विस्तार गरिनुपर्छ भन्ने मेरो धारणा छ।
बाढीले तल्लो तटीय क्षेत्रमा अकल्पनीय क्षति पुर्याएपछि अहिले त्यस हिमाली क्षेत्रमा के-कस्तो हलचल भइरहेको छ ? तपाईं आफैँ पनि यसको अध्ययनमा हुनुहुन्छ र चिनियाँ विज्ञ साथीहरूको सन्दर्भ दिँदै फोटोहरू पनि सेयर गरिरहनुभएको छ। भूउपग्रह र ड्रोन तस्बिरहरू विश्लेषण गर्दा त्यहाँको पछिल्लो अवस्था कस्तो देखिन्छ ?
बाढी आएलगत्तै माथिल्लो हिमाली क्षेत्रमा के भइरहेको छ भनेर हामीले भूउपग्रहका तस्बिरहरू र त्यहाँ पुगेका चिनियाँ सहकर्मीहरूले खिचेका ड्रोन भिडियो तथा इमेजरीहरू अध्ययन गर्यौँ।
ती तस्बिरहरूले के देखाउँछन् भने, हिमपहिरो भएको सबैभन्दा माथिल्लो भागमा तत्कालै दुईवटा साना हिमताल बनेका छन्।
ती नयाँ बनेका हिमताल र तल्लो तटीय क्षेत्रको पछिल्लो अवस्था कस्तो छ त? के अझै पनि जोखिम बाँकी नै छ?
ती दुई हिमतालबाहेक तल लेन्दे खोलालाई पहिरोले छेकेर एउटा अस्थायी ताल (ल्याण्डसाइड बेरियर लेक) पनि बनेको थियो।
तर, आज बिहानसम्मका तस्बिरहरू हेर्दा ती तालहरू विस्फोट भइसकेका वा बगिसकेका छन्। माथिल्लो ताल फुटेर आएको पानीले गर्दा तल्लो ताल पनि भरिएर विस्फोट भयो । माथिको तालको पानी पनि आधाभन्दा धेरै बगेर गइसकेको छ। जल तथा मौसम विज्ञान विभागले पनि यसबारे अलर्ट जारी गरिसकेको छ । त्यसैले ती ताल फुटेर हुने तत्कालको जोखिम भने अब निकै घटेको छ।
तर, अर्को चिन्ताजनक कुरा के छ भने-मैले सामाजिक सञ्जालमा सेयर गरेको चिनियाँ साथीहरूले पठाएको भिडियोमा देखिए अनुसार माथि निरन्तर पहिरो गइरहेको छ। पहिरो जाने, खस्ने र बग्ने क्रम रोकिएको छैन।

यसबाहेक अर्को ध्यान दिनुपर्ने पक्ष के छ भने, यो बाढीले नदी तटीय क्षेत्रमा ठूलो मात्रामा लेदो र गेग्रान थुपारेको छ। यदि अब भारी वर्षा भएर पुन: बाढी आयो भने, ती थुप्रिएका गेग्रानका कारण तल्लो क्षेत्र अझै पनि उत्तिकै जोखिमपूर्ण नै रहनेछ।
हिउँमा अडिएको चट्टान नै यसरी फुटेर पहिरो जाने र खस्ने अवस्था खासमा के कारणले सिर्जना हुन्छ? त्यस्ता चट्टानहरू पुनः फुटेर आउने जोखिम कत्तिको रहन्छ ?
चट्टान फुट्नुका विभिन्न कारणहरू हुन सक्छन्। ठ्याक्कै यही कारणले हो भनेर अहिल्यै ठोकुवा गर्न वैज्ञानिक अनुसन्धान नै गर्नुपर्ने हुन्छ, तर सम्भावित प्रमुख कारणहरू भने पक्कै छन्।
पहिलो कारण, हाम्रा हिमाली क्षेत्रमा पाइने हिमनदीहरूलाई वैज्ञानिक भाषामा ‘टेम्परेट पोलिथर्मल‘ प्रकृतिको मानिन्छ। यसलाई सरल भाषामा बुझ्दा, लामो हिमनदीको माथिल्लो भाग-जहाँ निरन्तर हिउँ जमेर बरफ बन्छ-त्यो एकदमै चिसो हुन्छ।
तर तल्लो भाग भने माथिको तुलनामा अलिकति न्यानो हुन्छ। त्यसैले वायुमण्डलीय तापक्रममा थोरै मात्र वृद्धि वा हलचल भयो भने पनि तलको हिउँ पग्लेर चट्टानहरू खुकुलो हुने र फुट्ने सम्भावना उच्च हुन्छ।
दोस्रो कारण, हिमनदीहरू आफैँमा निरन्तर बगिरहने (गतिशील) हुन्छन्, जसका कारण पनि त्यस आसपासका चट्टानी पहाडहरूमा दबाब पर्छ र ती फुट्ने गर्छन्।
त्यसबाहेक, अत्यधिक हिमपातका कारण हिउँको भार र चाप बढेर चट्टान फुटेको पनि हुन सक्छ। माथिल्लो क्षेत्र एकदमै भिरालो भएकाले त्यो चट्टानलाई अड्याएर राख्ने बलियो आधार केही थिएन। अर्को सम्भावना भनेको, हिमनदीहरूमा ठूला-ठूला प्वाल वा दरारहरू (क्रिभासेस्) हुन्छन्।
त्यहाँ पानी पसेर भरिएपछि त्यसले भित्रबाट ठूलो दबाब र हलचल ल्याएको हुन सक्छ। यसबारे यकिन गर्न अझै विस्तृत खोज र अनुसन्धान आवश्यक छ।
यो घटनालाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मिडिया र जलवायु विज्ञहरूले पनि निकै चासोका साथ हेरिरहेका छन्। तपाईंहरूजस्तै विज्ञहरूले पनि निरन्तर सतर्क गराइराख्नुभएको छ। तपाईंको अध्ययन र अनुभवका आधारमा, रसुवामा जस्तै प्रकृतिका घटनाहरू नेपालका अन्य जोखिमयुक्त हिमाली क्षेत्रमा पनि दोहोरिन सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
हाम्रा सरसर्ती अध्ययन र अनुसन्धानको ढाँचालाई हेर्ने हो भने, अहिलेसम्म धेरैजसो ध्यान हिमनदीको क्षेत्रफल वा आयतन कति घट्यो, हिउँ कति पग्लियो र हिमताल फुट्ने जोखिम कत्तिको छ भन्नेतर्फ मात्रै केन्द्रित रह्यो।
त्यसले तलका बस्तीहरूमा कस्तो असर पार्छ भन्ने कुरामा त अध्ययन भयो, तर यसरी एकदमै भिरालो जमिनमा रहेका हिमनदी र सिंगो पहाड नै फुटेर यत्रो भीषण बाढी आउन सक्छ भन्ने विषयमा भने अध्ययन निकै कम भएको छ।
अझ नेपालको सन्दर्भमा त यस्ता भिरालो हिमनदी र ग्लेसियर चट्टान कोल्याप्स हुने प्रकृतिका जोखिमबारे अध्ययन एकदमै न्यून छ।
जबकि अफगानिस्तानदेखि म्यान्मार र भुटानसम्म फैलिएको यो सिङ्गो २४ सय किलोमिटरको हिमाली क्षेत्रभरि नै यस्ता जोखिमहरूबारे गम्भीर अध्ययन हुन बाँकी नै छ।
त्यस २४ सय किलोमिटर हिमाली श्रृंखलामध्ये सबैभन्दा ठूलो र मुख्य भाग (करिब ८-९ सय किलोमिटर) त हाम्रै नेपालमा पर्छ। त्यसैले यस्ता घटनाहरू हाम्रा हिमालमा जहाँ पनि हुन सक्छन्। यस्ता प्राकृतिक विपत्ति कहिले र कतिबेला हुन्छन् भनेर ठ्याक्कै भविष्यवाणी गर्न सकिँदैन।
यसका लागि थप व्यापक अध्ययन नै आवश्यक छ। वैज्ञानिकहरूले अब यस्ता किसिमका भीषण बाढी कहाँ-कहाँ आउन सक्छन् र तिनले कस्तो असर पार्छन् भन्ने विषयमा अनुसन्धान बढाउनुपर्छ।
यस्तो सम्भावित जोखिमबाट बच्न पूर्वसावधानी कसरी अपनाउन सकिएला? यसका केही उपायहरू छन् ?
हेर्नुस्, यस्ता प्रकृतिका घटनाहरूलाई माथि उद्गमस्थलमै गएर रोक्न सम्भव हुँदैन। उदाहरणका लागि, यदि हिमताल मात्रै भएको भए तालमा सेन्सरहरू जडान गर्न सकिन्थ्यो, साइफन गरेर पानीको सतह घटाई जोखिम न्यूनीकरण गर्न सकिन्थ्यो।

तर, यस्ता सिंगो पहाड र हिमनदी नै खस्ने घटनामा तुरुन्तै माथि गएर नियन्त्रण गर्ने उपायहरू हुँदैनन्। त्यसैले अहिले नै ठ्याक्कै यही उपायबाट रोक्न सकिन्छ भनेर भन्न सकिने अवस्था छैन।
त्यसो भए यस्ता विपत्तिबाट हुने क्षति घटाउने सबैभन्दा प्रभावकारी उपाय के हुन सक्छ त?
यसका लागि सबैभन्दा उत्तम उपाय भनेको तल्लो तटीय क्षेत्रमा व्यवस्थापन गर्नु नै हो। जहाँ-जहाँ यस्ता जोखिमयुक्त क्षेत्रहरू पहिचान हुन्छन्, त्यहाँ बस्ती वा अन्य पूर्वाधार निर्माण गर्न नदिने गरी कडा भू-उपयोग नीति लागू गरिनुपर्छ।
दोस्रो, जहाँ पहिले नै बस्ती बसिसकेको छ, त्यहाँका समुदायमा सघन सचेतना फैलाउनु आवश्यक छ। अहिलेकै घटनामा पनि के देखियो भने-राज्यका निकाय, सुरक्षाकर्मी र जनप्रतिनिधिहरूले ‘ठूलो बाढी आउँदैछ, सुरक्षित ठाउँमा जानूस्‘ भनेर माइकिङ गर्दा पनि मानिसहरू भाग्नुको सट्टा भिडियो र फोटो खिच्नतिर लागे, जसले गर्दा धेरै मानवीय क्षति हुन पुग्यो।
त्यसैले, पूर्वसूचना प्रणाली जडान गर्नाका साथै बाढीको आवाज वा कम्पन महसुस हुनासाथ कहाँ र कसरी भाग्ने भन्ने स्पष्ट ‘सुरक्षित निकास योजना‘ (इभ्याक्वेसन प्लान) बनाएर समुदायलाई प्रशिक्षित गराउनुपर्छ। यस्ता पूर्वतयारी र सचेतना अपनाउन सके भौतिक क्षति भए पनि मानवीय क्षति निकै हदसम्म न्यूनीकरण गर्न सकिन्छ।
प्रतिक्रिया 4