१४ भदौ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन पार्टीका सबै संयन्त्रलाई परिचालन गर्न निर्देशन दिएका छन् ।
आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी बुझाएको प्रतिवेदन ग्रहण गर्दै अध्यक्ष ओलीले उक्त निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीले पार्टीले खाद्यान्न, कपडा र अन्य राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा पठाउने कार्य जारी राखेको जानकारी पनि दिए । पार्टीले गरिरहेको मानवीय कार्य र राहत अभियानलाई ओझेलमा पारेर बदनाम गर्ने नियतले कतिपय तत्वहरू सक्रिय रहेको उनको आरोप थियो ।
प्राकृतिक विपत्तिको अवस्थाबारे चर्चा गर्दै अध्यक्ष ओलीले रसुवा र सिन्धुपाल्चोकको बाढी वर्षाका कारण मात्र नभई ‘ग्लेसियर’ वा हिमताल विष्फोट भएका कारण आएको हुनसक्ने प्रारम्भिक अनुमान उनले गरे ।
अध्यक्ष ओलीले उद्धार र राहत कार्यमा समन्वयको अभाव देखिएको भन्दै सरकारको कार्यशैलीप्रति पनि आलोचना पनि गरे । केही मन्त्रीहरूले पूर्वतयारी र व्यवस्थापनविना नै सुरक्षित स्थानमा रहेका मानिसहरूलाई अन्यत्र सार्दा उनीहरू थप अलपत्र परेको र पीडितहरूमा आक्रोश बढेको उनको आरोप थियो ।
नुवाकोट र रसुवाका पार्टी पदाधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूका परिवारका सदस्य अझै बेपत्ता रहेको पीडादायी अवस्था सुनाउँदै उहाँले सबैलाई धैर्यताका साथ उद्धारमा लाग्न आग्रह गरे ।
‘छोटो दूरीको खोलामा वर्षाले मात्रै यति ठूलो सतह बढ्न सक्दैन । यो हिमपहिरो वा हिमताल फुटेर आएको विनाशकारी बाढी देखिन्छ, जसले पहिले नै क्षतिग्रस्त क्षेत्रमा थप जोखिम निम्त्याएको छ । सुरक्षित स्थानमा रहेकाहरूलाई खाना र बासको प्रवन्ध नगरी अन्यत्र सार्दा समस्या झन् जटिल बनेको छ,’ ओलीले भनेका छन् ।
प्रतिक्रिया 4