+
+
Shares

माथिल्लो त्रिशूली-१ मा फसेकाका आफन्तको आक्रोश : ‘कि लाश देऊ, कि सास’

कम्पनीको दाबी– ‘उद्धारका लागि हेलिकोप्टर उडाउन सरकारले अनुमति दिएन’

बाढीका कारण नुवाकोटमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तको अवस्था पाँच दिन बितिसक्दा पनि यकिन हुन नसकेपछि परिवारका सदस्यहरू आक्रोशित बनेका छन् । 

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ भदौ १४ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीपछि नुवाकोटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तको अवस्था पाँच दिनसम्म नखुलेपछि परिवारजनले तत्काल उद्धार र जानकारी मागेका छन्।
  • कम्पनीका अनुसार आयोजनाको सुरुङभित्र ५७६ कामदार र मैलुङ साइट कार्यालयमा रहेका ७५ जनामध्ये केही सम्पर्कविहीन छन्।
  • कम्पनीले उद्धारका लागि ५ वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको तर सरकारले अनुमति नदिएको दाबी गरेको छ।

१४ भदौ, काठमाडौं । बाढीका कारण नुवाकोटमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तको अवस्था पाँच दिन बितिसक्दा पनि यकिन हुन नसकेपछि परिवारका सदस्यहरू आक्रोशित बनेका छन् ।

फसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै उनीहरूले काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा पुगेर तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।

‘हाम्रा मान्छे जीवित छन् भने उद्धार गर, छैनन् भने लाश देऊ,’ आफन्तहरूले कम्पनीका प्रतिनिधिसँग आक्रोश पोखेका छन् ।

माथिल्लो त्रिशूली–१ को प्रवद्र्धक एनडब्लुईडीसी हो । एनडब्लुईडीसीले दक्षिण कोरियाको कोरिया साउथ–इस्ट पावर कर्पोरेसन, केआईएनडी, आईएफसी लगायतका साझेदार कम्पनीसँग मिलेर आयोजना निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको सुरुङभित्र मात्रै ५७६ जना कामदार फसेका छन् ।

त्यस्तै मैलुङमा रहेको साइट कार्यालयमा रहेका केही व्यक्ति पनि सम्पर्कविहीन छन् । साइट कार्यालयमा रहेका व्यक्तिहरूको अवस्था अज्ञात रहँदा उनीहरूका आफन्त आक्रोशित बनेका हुन् । उक्त साइट कार्यालयमा ७५ जना रहेका थिए । उनीहरूमध्ये कतिपयको अवस्था अज्ञात रहेको छ ।

‘पाँच दिनदेखि आश्वासन मात्रै’

आफ्ना जेठान दीपक खरेल आयोजनाको साइट कार्यालयमा फसेको भन्दै विराटनगरबाट काठमाडौं आएका एक आफन्तले पाँच दिनसम्म अवस्था पत्ता लगाउन नसक्नु कम्पनी र सरकारको लाचारीपन भएको बताए ।

उनले कम्पनीले पाँच दिनदेखि आश्वासन मात्रै दिइरहेको आरोप लगाए । ‘अहिलेसम्म कम्पनीको तर्फबाट हामीलाई केही भएको छैन भन्दै झुक्याउने काम भइरहेको छ । पाँच दिन भयो, आश्वासन मात्र छ,’ उनले भने, ‘हामीलाई कि सास चाहियो, कि लाश चाहियो । हाम्रो मान्छेको अवस्था के हो, यकिन जानकारी चाहियो ।’

आयोजना निर्माण गरिरहेको कोरियन कम्पनी अहिले उद्धारको कामबाट पन्छिन खोजेको उनको आरोप छ । ‘पेटी ठेक्का दिएको हो भनेर पन्छिन खोजेको छ, तर यहाँ साउथ कोरियनहरू नै ओहोरदोहोर गरिरहेका छन् । आखिर यसको वास्तविक जिम्मेवारी कसको हो ?’ उनले प्रश्न गरे ।

‘कम्पनीसँग कर्मचारीको विस्तृत विवरण छैन ?’

आयोजनाको साइट कार्यालयमा कार्यरत आफ्नो फुपुको छोरोका अवस्थाबारे बुझ्न कार्यालय पुगेकी एक महिलाले कम्पनीसँग आयोजनामा कार्यरत कर्मचारीको यकिन विवरणसमेत सुरक्षित नरहेको भन्दै आक्रोश पोखिन् ।

उनका अनुसार परिवारका सदस्यहरू कम्पनीमा पुगेर सुरुङ, क्याम्प, मुख्य कार्यालयलगायतका क्षेत्रमा को को थिए भनेर जानकारी मागेका थिए ।

तर कम्पनीले ढिला गरी विभिन्न विभागमा रहेका कर्मचारीको सूची मात्रै उपलब्ध गराएको थियो । त्यसमा ड्राइभर, प्रशासन, इन्जिनियर, निर्माण मिस्त्री तथा कार्यालय कर्मचारी गरी करिब ५१ जनाको विवरण रहेको उनले बताइन् ।

सुरुङभित्र रहेका तथा मैलुङ क्याम्पमा रहेका व्यक्तिहरूको अवस्थाबारे अझै स्पष्ट जानकारी नदिइएको उनको गुनासो छ ।

आफ्नो दिदीको छोरा सौभाग्य विष्ट आयोजनामा फसेको भन्दै रिता कटवाल पाँच दिनदेखि कम्पनी धाइरहेकी छन् । उनका अनुसार बाढी आउनुअघि सौभाग्यले नै आफूहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै फोन गरेका थिए ।

‘सौभाग्यले सबैलाई तपाईंहरू भाग्नुहोस्, बाँच्नुहोस् भनेर बिहान ९ बजेर ५ मिनेटसम्म फोन गरेको थियो’ उनले भनिन् । मैलुङमा रहेको क्याम्प र त्यस आसपासको क्षेत्रमा खोज तथा उद्धार किन तत्काल हुन सकेन भन्दै उनले प्रश्न गरिन् ।

‘सरकारले अरू ठाउँमा उद्धार गरिरहेको छ । तर मैलुङ डाँडाको वरिपरिका क्षेत्रमा किन चाँडै उद्धार भएन ?’ उनले प्रश्न गरिन्, ‘यदि क्याम्प बगेको हो भने त्यहाँ खोजी किन भएन ?’

उनका अनुसार कम्पनी एनडब्लुईडीसीले आफ्नो जिम्मेवारी नभएको र कोरियन कम्पनी जिम्मेवार रहेको बताउने गरेको छ । तर कोरियन कम्पनीको नेपालमा छुट्टै कार्यालयसमेत नभएको जवाफ आफूहरूले पाएको उनले बताइन् ।

‘हिजो हामीलाई स्टाफको लिस्ट छैन, भोलि दिन्छौँ भनियो । आज बल्ल केही लिस्ट दिनुभयो,’ उनले भनिन्, ‘हाम्रा मान्छे कहाँ छन् भन्ने यकिन जानकारी अझै छैन ।’

हेलिकोप्टरमा जान खोज्दा कम्पनी प्रतिनिधिलाई आर्मीले रोक्यो

कटवालका अनुसार आफन्तहरूलाई कम्पनीका प्रतिनिधिले हेलिकप्टरमार्फत आयोजनास्थल जाने प्रयास भइरहेको बताएका थिए । ‘हेलिकप्टरमा जाऔँ, एयरपोर्ट जाऔँ भनेर उहाँहरू जानुभयो, तर आर्मीले सबैलाई बोलाएर रोक्यो रे’ उनले भनिन् ।

आफूहरू पछि एयरपोर्ट पुग्दा कम्पनीका प्रतिनिधि त्यहाँ नभेटिएको उनको भनाइ छ । त्यहाँ भेटिएका ड्रोन सञ्चालकसँग आफूहरूले मैलुङ क्षेत्र वरिपरि खोजी गरिदिन आग्रह गरेको उनले बताइन् । सरकारले अनुमति नदिएको भन्दै कम्पनीका प्रतिनिधि आयोजना क्षेत्रमा नगएको उनको भनाइ छ । यसै विषयलाई लिएर आफन्तहरूले सरकारसँग पनि प्रश्न गरेका छन् ।

उद्धारका लागि सरकारले नै हेलिकप्टरलाई अनुमति दिएन : कम्पनी

आफन्तहरू आक्रोशित भइरहेका बेला आयोजनाको निर्माणमा संलग्न कम्पनीले भने उद्धारका लागि आफूहरूले प्रयास गरिरहेको दाबी गरेको छ । कम्पनी पक्षले उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न खोजिए पनि नेपाल सरकारले अनुमति नदिएको कम्पनीका एक अधिकारीले बताए ।

उनका अनुसार उद्धारका लागि ५ वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको थियो तर, सरकारले अनुमति नदिँदा उडाउन नसकिएको बताए । ‘हामीले ५ वटा हेलिकोप्टर तयारी अवस्थामा राखेका छौं । तर, सरकारले अनुमति दिएको छैन्,’ कम्पनीको एक कोरियन प्रतिनिधिले भने ।

आफन्तहरू भने यस्तो अवस्थामा सरकार, आयोजना प्रवद्र्धक र निर्माण कम्पनीले एकअर्कालाई जिम्मेवारी पन्छाएर बस्न नमिल्ने बताउँछन् ।

पाँच दिनदेखि आफन्तको खबर पर्खिरहेका उनीहरू भन्छन्, ‘हामीलाई आश्वासन होइन, हाम्रो मान्छेको अवस्था चाहिएको छ । जीवित छन् भने स्वास चाहियो, छैनन् भने लाश चाहियो ।’

तस्बिर : शंकर गिरी

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?