News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी नदीको भदौ १० गतेको बाढीपछि पाँच दिनदेखि अवरुद्ध विद्युत् सेवाका कारण रसुवावासी सम्पर्कविहीन भएका छन् ।
- नेपाल रेडक्रस सोसाइटीले आईएफआरसीको सहयोगमा धुन्चेमा जेनेरेटर ल्याएर निःशुल्क मोबाइल चार्ज सुविधा सुरु गरेको छ ।
- नेपाल रेडक्रसका अनुसार अहिले १०० भन्दा बढीले एकसाथ मोबाइल चार्ज गरिरहेका छन् र प्राविधिक टोली विद्युत् सेवा सुचारु गर्न खटिएको छ ।
१५ भदौ, रसुवा (धुन्चे) । रसुवाको सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’ का लागि ‘जेनेरेटर’ ल्याइएको छ । भोटेकोशी नदीमा गत भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण विगत पाँच दिनदेखि रसुवा जिल्लाभर विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध छ ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले ‘जेनेरेटर’ यहाँ ल्याएको हो ।
विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयवासी सहित धुन्चे रहेका बाढी पीडित र तीर्थालुहरु आफन्त तथा बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद हुनुपरेको थियो ।
यसका लागि नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगङ्गा आँखा केन्द्रले संयुक्त पहल गरेका थिए । सदरमुकाम धुन्चेमा ‘जेनेरेटर’ ल्याइएसंगै नि:शुल्क मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइएको छ ।
अहिले १०० भन्दा बढीले एकसाथ मोबाइल चार्ज गरिरहनुभएको नेपाल रेडक्रसले जनाएको छ । यसबाट टाढा रहेका आफन्तलाई ‘म सुरक्षित छु’ भन्ने सन्देश पठाउन सहज बनेको छ ।
सदरमुकाममा जेनेरेटरमार्फत मोबाइल चार्ज गर्न पाउँदा स्थानीयवासी तथा टाढा–टाढाबाट आएका सेवाग्राहीलाई राहत मिलेको छ । चार्ज गर्ने सुविधा पाएपछि जिल्लावासीले आफ्ना आफन्तहरूसँग पुन: सम्पर्क स्थापित गर्न सफल भएका छन् ।
‘फोनकलले टुटेको आशालाई जोडेको छ, चिन्ताले भरिएका मनलाई सान्त्वना दिएको छ,’ एक स्थानीयले भने ।
बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुन: सञ्चालनका लागि प्राविधिक टोली खटिरहेको र चाँडै सेवा सुचारु गराउन पहल भइरहेको जनाइएको छ । रासस
प्रतिक्रिया 4