+
+
Shares

सरकारी रुख काटेर हिनामिना गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख रामपुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्री, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, दुई वडाध्यक्ष र अन्य व्यक्तिविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १८:०८

१५ भदौ, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक क्षेत्रमा रहेका सरकारी स्वामित्वमा रहेका रुख कटान गरेर हिनामिना गरेको अराोपमा नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पूर्व–पश्चिम राजमार्गको भालुवाङ–लमही सडकखण्डमा सरकारी स्वामित्वका दुई हजार ७२४ वटा रुख कटान गरी ४० हजार ५५५ घनफिट काठ हिनामिना गरेको आरोपमा सडक र वन कार्यालयका अधिकारी, गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

आयोगले सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख रामपुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्री, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, दुई वडाध्यक्ष र अन्य व्यक्तिविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारका अनुसार कटान गरिएका काठको मूल्य ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बराबर रहेको छ ।

आयोगका अनुसार राप्ती गाउँपालिका–१ पाखापानीदेखि लमही नगरपालिका–४ अर्नहवासम्म पूर्व–पश्चिम राजमार्गको दायाँ–बायाँ सडक क्षेत्राधिकारभित्र रहेका सिमल, सिसौलगायत विभिन्न जातका २ हजार ७२४ वटा रुख कटान गरिएको अनुसन्धानबाट खुलेको छ ।

सडक क्षेत्रभित्रका जोखिमयुक्त रुख हटाउने विभागीय प्रक्रिया अघि बढिरहेको अवस्थामा सम्बन्धित पदाधिकारीको मिलेमतोमा कानुनी प्रक्रिया पूरा नगरी रुख कटान तथा काठ ओसारपसार गरिएको अख्तियारको आरोप छ ।

अख्तियारले सडक डिभिजनले सार्वजनिक सडक ऐन, २०३१ बमोजिम छानबिन समिति वा अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अघि नबढाएको तथा वन कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र अनधिकृत रूपमा रुख कटान हुँदा नियन्त्रणको प्रयास नगरेको जनाएको छ ।

पालिका तथा वडा कार्यालयले समेत सरकारी सम्पत्ति संरक्षणका लागि आवश्यक संयन्त्र परिचालन नगरी बदनियतपूर्वक कार्यमा सहयोग गरेको आयोगको ठहर छ ।

कसलाई कति बिगो ?

अख्तियारले सडक डिभिजन कार्यालय दाङका प्रमुख राम पुकार जयसवाल र तत्कालीन वन अधिकृत राजु क्षेत्रीविरुद्ध जनही ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरेको छ ।

यस्तै, राप्ती गाउँपालिकाका अध्यक्ष बिष्टविरुद्ध ५८ लाख ४५ हजार ८२५ रुपैयाँ, वडा नम्बर १ का वडाध्यक्ष गेमे खड्काविरुद्ध ३ लाख ७१ हजार रुपैयाँ र वडा नम्बर ४ का वडाध्यक्ष वीरबहादुर चौधरीविरुद्ध १ लाख ४१ हजार २२६ रुपैयाँ बिगो कायम गरिएको छ ।

त्यस्तै, अभिमान चौधरीविरुद्ध ७३ हजार ६४६ रुपैयाँ, नन्दु गिरीविरुद्ध ३० हजार ९७० रुपैयाँ, राप्ती गाउँपालिका–२ का झविन्द्रप्रसाद भण्डारीविरुद्ध १ लाख ४१ हजार २२६ रुपैयाँ र लमही नगरपालिका–२ का केशरबहादुर चौधरीविरुद्ध ३६ हजार ६१० रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी लिइएको आयोगले जनाएको छ ।

अख्तियारले २०७९ मंसिरको अन्तिम सातादेखि पुसको पहिलो सातासम्म रुख कटान गरी काठ गायब पारिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा सडक क्षेत्राधिकारभित्रका रुख कानुनी प्रक्रिया पूरा नगरी कटान तथा ओसारपसार गरिएको र त्यसबाट सरकारी सम्पत्तिमा क्षति पुगेको पुष्टि भएको आयोगको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?